बाली जोगाउन जुम्लामा पहिलोपटक उपचार शिविर, १३ प्रकारका बालीमा रोग र कीराको परीक्षण

बाली जोगाउन जुम्लामा पहिलोपटक उपचार शिविर, १३ प्रकारका बालीमा रोग र कीराको परीक्षण
View on original source
Categoría: Health
Compartir
Archivo
Me gusta
भित्र्याउने बेलामा रोग र कीराको संक्रमणले बाली नष्ट हुने समस्या बढेपछि जुम्लामा पहिलोपटक बाली उपचार शिविर सञ्चालन गरिएको छ। वर्षभरि मेहनत गरेर उत्पादन गरेको बाली भित्र्याउने समयमा नोक्सान व्यहोर्न बाध्य किसानलाई खेतबारीमै रोग पहिचान र नियन्त्रणका उपाय सिकाउन शिविर आयोजना गरिएको हो। कृषि विकास कार्यालय जुम्लाको आयोजनामा सञ्चालित शिविरमा चन्दननाथ नगरपालिका–७, ८ र ९ का ३५ भन्दा बढी किसान सहभागी भएका थिए। शिविरमा किसानले उत्पादन गरेका स्याउ, सिमी, खुर्सानी, भान्टा, काउली, बन्दा, कोदो, काँक्रो, धनियाँ, फर्सी, लौका, रायो साग र टमाटरसहित १३ प्रकारका बाली परीक्षण गरिएको थियो। परीक्षणका क्रममा स्याउमा बोक्रा खुइलिने रोग, पाते ढुसी, भुवादार लाही र कत्ले कीराको संक्रमण देखिएको छ। खुर्सानीमा ब्याक्टेरियाजन्य ओइलाउने रोग र कोत्रे ढुसी तथा टमाटरमा पछौटे डढुवाको समस्या भेटिएको कृषि विकास कार्यालयले जनाएको छ। त्यस्तै, बन्दा र काउलीमा लाही, बन्दाको पुतली तथा ब्याक्टेरियाजन्य कुहिने रोगको संक्रमण देखिएको छ। कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार सिमी र भान्टामा कोत्रे रोग, फर्सी र लौकामा क्याल्सियम तथा बोरोनजस्ता सूक्ष्म खाद्यतत्त्वको कमी र काँक्रोमा फल कुहाउने औँसा तथा विषाणुजन्य समस्या देखिएको छ। परीक्षण गरिएका बालीमा रोग र कीराको संक्रमण बढ्दो क्रममा रहेको उनले बताए। जुम्लाका किसानले बाली भित्र्याउने समयमा रोगको समस्या भोग्दै आएको यो पहिलो घटना भने होइन। दुई वर्षअघि तातोपानी गाउँपालिका–५ स्थित लाम्रा ज्युलोमा भित्र्याउनै लागेको मार्सीधानमा ब्लास्ट रोग लाग्दा पाँच हेक्टर क्षेत्रफलको धान नष्ट भएको थियो। किसानले फलफूल र नगदेबालीसँगै आगामी कात्तिकमा धानको समेत रोग परीक्षण गर्न माग गरेका छन्। जथाभावी विषादी प्रयोग नगर्न विज्ञको सुझाव शिविरमा सहभागी बाली रोग विज्ञ सरद पोख्रेलले रोग र कीराको संक्रमण देखिएपछि मात्रै विषादी प्रयोग गर्नुभन्दा नियमित रूपमा बालीको निरीक्षण गरी सुरुमै समस्या पहिचान गर्नुपर्ने बताए। उनका अनुसार रोग र कीराको पहिचान नगरी जथाभावी रासायनिक विषादी प्रयोग गर्दा समस्या समाधान हुनुको सट्टा उत्पादन, माटो र वातावरणमा थप नकारात्मक असर पर्न सक्छ। त्यसैले रोगको प्रकृतिअनुसार जैविक तथा भौतिक नियन्त्रण विधि अपनाउनुपर्ने उनको सुझाव छ। कृषि वैज्ञानिक डा. घनश्याम भण्डारीले पनि रासायनिक विषादीको प्रयोग घटाउँदै निमजन्य तथा जैविक विषादीलाई प्राथमिकता दिन सुझाव दिए। उनले कीरा नियन्त्रणका लागि क्यू लिउर, हेली लिउर, स्पोडो लिउरजस्ता मोहनी पासो तथा पहेँलो चिपचिपे पासो प्रयोग गर्न सकिने बताए। त्यस्तै, रोग व्यवस्थापनका लागि नीलोतुथो र चुनाको एक प्रतिशत मिश्रण प्रयोग गर्न सुझाव दिए। विज्ञहरूले जुम्लाका आठवटै स्थानीय तहमा बालीको उत्पादन र मौसमअनुसार नियमित उपचार शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। रैथाने बालीको उत्पादन बढाउने नीतिसँगै रोग तथा कीरा नियन्त्रणका लागि स्थानीय तहले लगानी र प्राविधिक सेवा विस्तार गर्नुपर्ने उनीहरूको सुझाव छ। कृषि विकास कार्यालय जुम्लाले चन्दननाथ नगरपालिकाको कृषि विकास शाखा र कृषि अनुसन्धान केन्द्र विजयनगरसँगको समन्वय तथा सहकार्यमा शिविर आयोजना गरेको हो। शिविरमा सहभागी चन्दननाथ–९ बयालकाटियाका किसान तुलराज गिरीले समयमै रोग पहिचान र नियन्त्रणका उपाय थाहा पाउँदा बाली जोगाउन सहज हुने बताए। 'भित्र्याउने बेलामै रोग लागेर बाली सखाप हुने समस्या भोग्दै आएका छौँ,' उनले भने, 'समयमै उपचारको उपाय थाहा पाए उत्पादन जोगाउन सकिन्छ।' प्रकाशित: ९ आश्विन २०८३ १९:५५ शुक्रबार

(0)Comentarios

 

Una nota sobre las cookies

Newshunt utiliza cookies esenciales para mantener tu sesión iniciada y recordar tu idioma y país, para que el sitio funcione como esperas. Con tu permiso, también nos gustaría utilizar cookies de análisis para comprender cómo las personas utilizan Newshunt y mejorarlo con el tiempo.

Aceptar solo afecta a las cookies de análisis. Para obtener más información, consulta nuestra Política de privacidad or Términos y condiciones.