नेपालमा हिमपहिरो, हिमताल विस्फोट अनियमित मनसुन र बढ्दो खडेरीले ग्रामीण समुदायको जीविकोपार्जनलाई प्रत्यक्ष असर पारिरहेको छ । तर यसको प्रभाव लैंगिक रूपमा समान छैन । विपद्को समयमा महिला, बालिका र सीमान्तकृत समूहको मृत्युदर र जोखिम अनुपातिक रूपमा उच्च रहने गरेको प्रमाणहरू पाइन्छन् ।
हिमपहिरो, भूक्षय र पानीका मुहान सुक्ने वा सर्ने समस्याले रसुवाका ग्रामीण महिलाको दैनिक जीवन र श्रमलाई प्रत्यक्ष प्रभावित गरेको छ । उनीहरूमा बिहान सबेरैदेखि टाढाका मुहानबाट खानेपानी र सिँचाइको जोहो गर्न भौंतारिनुपर्ने तथा विपद्को जोखिम र क्षतिले थपिएको बोझका कारण रातिको समयमा समेत व्यवस्थापनमा खटिनुपर्ने बाध्यता बढेको छ ।
अर्कोतर्फ, पुँजीवादी पितृसत्ताको एक मात्र उद्देश्य प्रकृतिमाथिको दोहन गरेरै भए पनि नाफा कमाउने राजनीतिक व्यवस्था स्थापित गर्ने र सीमान्तकृतहरूलाई पाखा लगाउने दाउपेचका कारण महिला र प्रकृतिमाथि अन्याय भएको छ । प्रकृतिमाथिको चरम दोहन र महिलामाथि थपिएको श्रम तथा सामाजिक उत्पीडन एउटै संरचनागत समस्याका दुई पाटा हुन् भन्ने यथार्थलाई यस्ता विपद्हरूले प्रस्ट्याएको छ । वातावरणीय विनाशले निम्त्याउने विपद् र त्यसले महिलाको जीवनमा पार्ने असमान असरलाई राजनीतिक र विश्लेषणात्मक रूपमा जोडेर सम्बोधन गर्ने दृष्टिकोणलाई 'इकोफेमिनिज्म' वा 'पर्यावरणीय महिलावाद' भनिन्छ ।
नेपालमा पटक–पटक भएको विध्वंसकारी विपद्का घटनालाई अब कुनै न कुनै सैद्धान्तिक आधारबाट छलफल गर्नु आवश्यक देखिन्छ । इकोफेमिनिज्म शब्द फ्रान्सेली लेखिका फ्राँस्वा द'इउबोनले सन् १९७४ मा आफ्नो पुस्तकमा प्रयोग गरेकी थिइन् । उनको तर्क थियो– पितृसत्तात्मक समाजले जसरी महिलाको शरीर, श्रम र स्वायत्ततामाथि नियन्त्रण गर्छ, त्यसैगरी प्रकृतिलाई पनि एउटा उपयोग गर्नुपर्ने स्रोतका रूपमा हेर्छ । दुवैलाई वस्तुकरण गरिन्छ, दुवैको उर्वरताको शोषण गरिन्छ र दुवैलाई निर्णय प्रक्रियाबाट बाहिर राखिन्छ ।
नेपाली सन्दर्भमा महिलाको प्रकृतिसँगको नाता जैविकभन्दा बढी सामाजिक–आर्थिक बाध्यताको उपज हो । नेपाली समाजमा महिला र प्रकृतिको अन्तरसम्बन्ध नेपालको ग्रामीण अर्थतन्त्र प्रत्यक्ष रूपमा प्राकृतिक स्रोतमा आधारित छ र यस अर्थतन्त्रको मेरुदण्ड महिला नै हुन् ।पछि भारतीय भौतिकशास्त्री तथा वातावरणविद् बन्दना शिवा र जर्मन समाजशास्त्री मारिया मिज जस्ता विचारकहरूले यो अवधारणालाई थप व्यावहारिक रूप दिए । शिवाको भनाइमा महिला प्रकृतिसँग जैविक रूपमा जोडिएका होइनन् तर उनीहरूको दैनिक श्रम, पानी ल्याउने, दाउरा बटुल्ने, बीउ जोगाउने, माटो हेरचाह गर्ने कार्यले उनीहरूलाई पारिस्थितिक ज्ञानको भण्डार बनाएको छ । यसैले इकोफेमिनिज्मले दुई प्रमुख विचारधारा बोकेको पाइन्छ ।
नेपाली सन्दर्भमा महिलाको प्रकृतिसँगको नाता जैविकभन्दा बढी सामाजिक–आर्थिक बाध्यताको उपज हो । नेपाली समाजमा महिला र प्रकृतिको अन्तरसम्बन्ध नेपालको ग्रामीण अर्थतन्त्र प्रत्यक्ष रूपमा प्राकृतिक स्रोतमा आधारित छ र यस अर्थतन्त्रको मेरुदण्ड महिला नै हुन् ।
नेपाल सरकारका विभिन्न अध्ययनअनुसार कृषि क्षेत्रमा लाग्ने कुल श्रमको ठूलो हिस्सा महिलाले ओगटेका छन्, विशेषगरी बाली रोप्ने, गोडमेल गर्ने, बीउ छनोट गर्ने र भण्डारण गर्ने काम । दाउरा, घाँस र पानी संकलन जुन घरायसी ऊर्जा र पशुपालनका लागि अपरिहार्य छ, यो कार्य लगभग पूर्ण रूपमा महिला र किशोरीहरूकै जिम्मामा रहेको छ । वन क्षेत्रमा निर्भर समुदायहरूमा, विशेषगरी पहाडी र हिमाली भेगमा, महिलाले धेरै समय वन उपजमा नै खर्च गर्नुपर्ने अवस्था छ । यसको अर्थ स्पष्ट छ, जब वन विनाश हुन्छ, नदी सुक्छ वा हावापानी परिवर्तनका कारण खडेरी बढ्छ, त्यसको प्रत्यक्ष भार पुरुषभन्दा महिलाको काँधमा बढी पर्छ । महिलाले हिँड्नुपर्ने दूरी लम्बिन्छ, समय बढी लाग्छ र शारीरिक तथा स्वास्थ्य जोखिम बढ्छ । यसरी वातावरणीय संकट लैंगिक संकटमा रूपान्तरण हुन्छ ।
सामुदायिक वन कार्यक्रमको सफलताका लागि नेपाल विश्वकै अगुवा मानिन्छ । सुरुका दशकहरूमा वन उपभोक्ता समूहमा नेतृत्व र निर्णय प्रक्रिया लगभग पूर्ण रूपमा पुरुषकेन्द्रित थियो, पछि महिला मात्र वन उपभोक्ता समूहको अवधारणा अघि सारियो, जुन आज नेपालमा हजारौंको संख्यामा सक्रिय छन् । अध्ययनहरूले देखाएका छन्, जहाँ महिलाको नेतृत्व र सहभागिता बलियो छ, त्यहाँ वन संरक्षणको दर उच्च छ, नियमको पालना राम्रो छ र सामुदायिक कोषको उपयोग स्वास्थ्य, शिक्षा र खानेपानीजस्ता आधारभूत आवश्यकतामा बढी लक्षित हुन्छ ।
नेपालमा हिमपहिरो, हिमताल विस्फोट अनियमित मनसुन र बढ्दो खडेरीले ग्रामीण समुदायको जीविकोपार्जनलाई प्रत्यक्ष असर पारिरहेको छ । तर यसको प्रभाव लैंगिक रूपमा समान छैन । विपद्को समयमा महिला, बालिका र सीमान्तकृत समूहको मृत्युदर र जोखिम अनुपातिक रूपमा उच्च रहने गरेको प्रमाणहरू पाइन्छन् । किनभने गतिशीलता, सूचनामा पहुँच र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सीमित छ ।
नेपालमा इकोफेमिनिज्मको छलफल गर्दा एउटा कुरा बिर्सन मिल्दैन । नेपाली महिला विविधतामा आधारित समूह हो । दलित, जनजाति, मधेशी, मुस्लिम र पहाडी उच्च जातका महिलाको प्राकृतिक स्रोतमाथिको पहुँच र नियन्त्रण फरक–फरक छ । यसैले नेपाली इकोफेमिनिज्मले पश्चिमा सैद्धान्तिक ढाँचालाई जस्ताको तस्तै लागू गर्नेभन्दा जात, वर्ग, जातीयता र भूगोलको जटिलतासँग जोडेर हेर्नुपर्ने आवश्यकता देखिन्छ ।
नेपालको संविधान, २०७२ ले लैंगिक समानता र वातावरणीय अधिकार दुवैलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । वन नीति, जलवायु परिवर्तन नीति राष्ट्रिय अनुकूलन योजना र स्थानीय तहका योजनाहरूमा पनि लैंगिक समावेशीकरणलाई प्राथमिकता दिइएको देखिन्छ । स्थानीय सरकार सञ्चालन ऐनले वडा तहमा महिला सदस्यको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरेको छ, जसले वातावरणीय निर्णय प्रक्रियामा महिलाको औपचारिक उपस्थिति बढाएको छ । तर व्यवहारमा चुनौती अझै धेरै छन् ।
इकोफेमिनिज्मको नेपाली संस्करण निर्माण गर्नका लागि केही ठोस दिशाहरू महत्त्वपूर्ण देखिन्छन् । महिला नेतृत्वलाई संस्थागत गर्ने जस्तै : सामुदायिक वन, खानेपानी उपभोक्ता समिति र कृषि सहकारीमा महिलाको न्यूनतम प्रतिनिधित्व मात्र नभई निर्णायक भूमिका सुनिश्चित गर्नुपर्छ । परम्परागत ज्ञानलाई मान्यता दिने, बीउ संरक्षण, मिश्रित खेती र स्थानीय पारिस्थितिक ज्ञानलाई वैज्ञानिक नीति निर्माणसँग जोड्नुपर्छ । त्यस्तै, इन्टरसेक्सनल दृष्टिकोण अपनाउने, नीति तर्जुमा गर्दा जात, वर्ग, जातीयता र भूगोलको भिन्नतालाई ध्यानमा राख्ने, शिक्षा र सीप विकासमा लगानी, विशेषगरी जलवायु अनुकूलन र प्राविधिक तालिममा किशोरी र महिलाको सहभागिता बढाउने काम गर्नुपर्छ ।
निष्कर्षमा, इकोफेमिनिज्मले हामीलाई सिकाउने मूल विषय हो– प्रकृतिको दोहन र महिलामाथि हुने अन्यायसँग गाँसिएका छन्, यी दुवै समस्याको समाधान पनि सँगसँगै खोज्नुपर्छ । नेपालको सन्दर्भमा यो कुनै अमूर्त सिद्धान्त होइन, बरु दैनिक जीवनको यथार्थ हो, जुन धान खेतमा गोडमेल गर्ने आमाको पसिनामा, जंगलबाट दाउरा बोकेर फर्किने किशोरीको थकानमा र खडेरीले सुकेको मुहानमा पानी खोज्दै हिँड्ने दिदीबहिनीको यात्रामा प्रतिविम्बित हुन्छ ।
यदि नेपालले साँच्चै दिगो विकास र लैंगिक समानता हासिल गर्ने हो भने वन, पानी, जमिन र जलवायुसम्बन्धी हरेक नीति र निर्णयमा महिलाको आवाज र नेतृत्वलाई केन्द्रमा राख्नुको विकल्प छैन ।
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
(0)Comentarios