राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा ‘कछुवा गति', कुन अड्कियो कहाँ ?

राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा ‘कछुवा गति', कुन अड्कियो कहाँ ?
View on original source
Catégorie: Mélange
Partager
Archive
J’aime
९ असोज, काठमाडौं । नेपाल सरकारले २७ आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत गरेको छ । जसमध्ये ३ आयोजना सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् भने २४ निर्माणाधीन छन् । निर्माणाधीन सबैजसो आयोजनाको गति दयनीय रहेको राष्ट्रिय योजना आयोगको पछिल्लो प्रगति विवरणले देखाएको छ । आयोगका अनुसार निर्माणाधीन सबैजसो आयोजनाको आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०८२/८३ को प्रगति उल्लेख्य छैन । जसले गर्दा कुनै पनि आयोजना तत्काल सम्पन्न भई सञ्चालनमा आउन सक्ने अवस्था समेत देखिँदैन । आयोगका अनुसार नेपालमा आव २०४५/४६ देखि सुरु भएका आयोजना राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत छन् । दुई दर्जन आयोजनामध्ये कतिपय आयोजना सम्पन्न हुने मिति स्वयं सरकारलाई समेत थाहा छैन । यसरी आयोजना कार्यान्वयनमा समस्या आउने गरी दुष्चक्रमा फस्नुमा पूर्वतयारी नभई आयोजनाको काम थाल्नु, वातावरणसँग सम्बन्धित कानुनी अड्चन, निर्माण सामग्री अभाव, स्थानीयसँगको तनाव तथा स्रोत र निर्माण मोडाटिली नै तय गर्न नसक्नुजस्ता कारण छन् । महाकाली सिँचाइ : १९ वर्षमा ३१ प्रतिशत भौतिक प्रगति महाकाली सिँचाइ आयोजना २०६३/६४ देखि सुरु भएको हो । आयोगका अनुसार २०८२/८३ सम्म यो आयोजनाको भौतिक प्रगति ३१ प्रतिशतमात्र छ । अघिल्लो आव २०८१/८२ सम्म २६.६५ प्रतिशत भौतिक प्रगति थियो । यो आयोजना २०८७/८८ मा सक्ने लक्ष्य सरकारको छ । सुरु लागत ३५ अर्ब २ करोड रुपैयाँ रहेको यो आयोजनामा लागत संशोधन भएको देखिँदैन । अहिलेसम्म आयोजनाले १० अर्ब ७१ करोड खर्च गरिसकेको छ । जस अनुसार वित्तीय प्रगति ३०.६ प्रतिशत हुन आउँछ । रानी जमरा कुलरिया सिँचाइ आयोजना : दोब्बरभन्दा धेरै बढ्यो लागत रानी जमरा कुलरिया सिँचाइ आयोजना २०६६/६७ देखि कार्यान्वयन सुरु भएको हो । यो आयोजनाको गत आवसम्मको भौतिक प्रगति ७४.८ प्रतिशत छ । यो आयोजना सम्पन्न गर्ने लक्ष्य २०८७/८८ सम्म तोकिएको छ । यो आयोजनाको लागत सुरु अनुमानभन्दा दोब्बर धेरैले बढेको छ । आयोगका अनुसार यो आयोजनाको सुरु लागत १२ अर्ब ३७ करोड हो । अहिले संशोधित लागत अनुमान २८ अर्ब ७८ करोड बराबर पुगेको छ । २०८१/८२ सम्म भौतिक प्रगति ७१.९२ प्रतिशत रहेकोमा अघिल्लो आवमा सामान्य वृद्धि भएको छ । यो आयोजनाले अहिलेसम्म २१ अर्ब ३२ करोड खर्च गरिसकेको छ । बबई सिँचाइ आयोजना : ३८ वर्षमा पनि सकिएन निर्माण बबई सिँचाइ आयोजना कार्यान्वयन २०४५/४६ देखि सुरु भएको हो । कार्यान्वयन सुरु भएको ३८ वर्षमा यसको भौतिक प्रगति ८१.९७ प्रतिशतमात्र छ । आयोजनाको संशोधित लक्ष्य २०८५/८६ छ । सुरु लागत २ अर्ब ८७ करोड रहेको यस आयोजनाको संशोधित लागत २६ अर्ब ६९ करोड पुगेको छ । आव २०८१/८२ सम्म यो आयोजनाको भौतिक प्रगति ७२.७२ प्रतिशत थियो । यस आयोजनाले अहिलेसम्म १८ अर्ब २१ करोड अर्थात् संशोधित लागत अनुमानको ६८.२३ प्रतिशत खर्च गरिसकेको छ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना : दोब्बर बढ्यो लागत यो आयोजना कार्यान्वयन २०६८/६९ देखि सुरु भएको हो । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत छ । तर, आयोजनाको लागत भने दोब्बर बढेको छ । सुरुवाती लागत १६ अर्ब ४३ करोड रहे पनि संशोधित लागत अनुमान ३३ अर्ब १९ करोड रहेको छ । आव २०८१/८२ सम्म ६२.३२ प्रतिशत रहेको भौतिक प्रगति गत आवमा सामान्य बढेको हो । यो आयोजनाले अहिलेसम्म १९ अर्ब २९ करोड खर्च गरिसकेको छ । जुन संशोधित लक्ष्यको ५८.१३ प्रतिशत हो । सिक्टा सिचाइ : २१ वर्षमा आधामात्र प्रगति सिक्टा सिँचाइ आयोजना कार्यान्वयन २०६१/६२ देखि सुरु भएको हो । कार्यान्वयन थालिएको दुई दशकमा ५१ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । आयोजना सम्पन्न हुने संशोधित लक्ष्य २०८९/९० राखिएको छ । यो आयोजनाको २०८१/८२ सम्मको भौतिक प्रगति ४४.२३ प्रतिशतमात्र थियो । आयोजनाको सुरुवाती लागत ४६ अर्ब १९ करोड थियो । अहिले लागत बढेर ५२ अर्ब ८९ करोड पुगेको छ । आयोजनाले अहिलेसम्म २४ अर्ब ३३ करोड खर्च गरेको छ । जुन संशोधित अनुमानको ४६ प्रतिशत वित्तीय प्रगति हो । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना : ३७ प्रतिशतमात्र भौतिक प्रगति सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयन २०७६/७७ देखि सुरु भएको हो । २०८२/८३ सम्म आयोजनाको भौतिक प्रगति ३७.८१ प्रतिशतमात्र छ । यो आयोजना निर्माण सक्ने लक्ष्य २०८९/९० पुर्‍याइएको छ । सुरुवाती लागत ४९ अर्ब ४२ करोड रहेको आयोजनाको लागत बढेर ६१ अर्ब ६५ करोड पुगिसकेको छ । आव २०८१/८२ सम्म ३६.८३ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा गत आवदेखि काम हुन नसकेको विवरणबाट देखिन्छ । सरकारले पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियामा गएपछि आयोजनाको काम प्रभावित बनेको छ । अहिलेसम्म यो आयोजनाले १६ अर्ब ८१ करोड बजेट खर्च गरिसकेको छ । बुढीगण्डकी जलविद्युत् आयोजना : भौतिक निर्माण चरणमै पुगेन सरकारले लामो समयदेखि निर्माण योजना बनाएको यो आयोजना अझै पनि भौतिक निर्माणको चरणमा पुगेको छैन । मुआब्जा वितरण सहित कामले प्रगति १६.५५ प्रतिशत हाराहारी पुगेको देखाएको छ । यो आयोजना कार्यान्वयन गरिसक्ने मिति २०९२/९३ तोकिएको छ । यो आयोजना निर्माणमा ४ खर्ब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । अहिलेसम्म ४२ अर्ब ८० करोड खर्च भइसकेको छ । जुन कुल लागतको १०.५४ प्रतिशत बराबर हो । निर्माण र स्रोतको मोडालिटी नटुङ्गिएका कारण यो आयोजना निर्माणको चरणमा कहिले छिर्छ भन्ने अन्याोल कायमै छ । एमसीए नेपाल (विद्युत प्रसारण आयोजना) : सक्ने मिति नजिकिँदा १८ प्रतिशतमात्र प्रगति मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल–एमसीए (विद्युत प्रसारण आयोजना) कार्यान्वयन २०७४/७५ देखि सुरु भएको हो । यो आयोजना सम्पन्न हुने मिति २०८५/८६ हो । तर, आयोजनाको भौतिक प्रगति १८.२४ प्रतिशतमात्र पुगेको छ । यो आयोजनाको सुरुवाती लागत ६३ करोड अमेरिकी डलर रहेकोमा अहिले बढेर ७४ करोड ७० लाख डलर पुगेको छ । २०८१/८२ सम्म ११.२७ प्रतिशतमात्र भौतिक प्रगति भएको थियो । अहिलेसम्म आयोजनाले १८ करोड २४ लाख डलर बजेट खर्च गरिसकेको छ । पश्चिम सेती जलविद्युत् आयोजना : कागजी प्रक्रियामै सीमित नेपालको महत्त्वाकांक्षी परियोजनामध्ये एक पश्चिम सेती जलविद्युत् आयोजनालाई समेत सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ । यो आयोजना सन् २०३० सम्म सक्ने लक्ष्य छ । यद्यपि, अहिलेसम्म आयोजना कागजी प्रक्रियामै सीमित छ । झन्डै २ खर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाले गति भने लिन सकेको छैन । राष्ट्रपति चुरे संरक्षण आयोजना : एक दशकमा ६.७ प्रतिशत प्रगति राष्ट्रपति चुरे संरक्षण आयोजना आव २०७१/७२ देखि कार्यान्वयन सुरु भएको हो । कार्यान्वयन सुरु भएको एक दशक नाघ्दा यो आयोजनाको भौतिक प्रगति ६.७ प्रतिशतमा सीमित छ । २०८१/८२ मा ६.५५ प्रतिशत प्रगति थियो । अर्थात्, एक वर्षमा यो आयोजनामा खासै प्रगति हुन सकेन । आयोजना २०९३/९४ सम्म सक्ने गरी लक्ष्य तोकिएको छ । आयोगका अनुसार यो २० वर्षे गुरुयोजना अनुसार तोकिएको लक्ष्य हो । यस आयोजनामा कुल २ खर्ब ४९ अर्ब ७० करोड बराबर बजेट खर्च गर्ने योजना छ । अहिलेसम्म १६ अर्ब ४२ करोड खर्च भइसकेको छ । सुरु लागतको तुलनामा दोब्बर खर्चमा बन्यो मेलम्ची खानेपानी आयोजना मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम अब सम्पन्न हुने अवस्थामा छ । यद्यपि, पटक–पटक आउने बाढीले आयोजना पूर्ण भएको घोषणा गर्न सक्ने अवस्था बनेको छैन । पछिल्लो समय १ असोज २०७८ को बाढीले हेडवर्क्समा क्षति गरेपछि आयोजनाको काम प्रभावित बनेको हो । अहिले भौतिक प्रगति ९९ प्रतिशत पुगेको भए पनि वर्षायाममा नियमित खानेपानी काठमाडौं ल्याउने अवस्था बनेको छैन । यो आयोजना सुरु लागतको तुलनामा दोब्बर खर्चमा निर्माण भएको हो । आव २०५५/५६ देखि निर्माण सुरु भएको आयोजनाको सुरु लागत १७ अर्ब रुपैयाँ थियो । तर, संशोधित लागत ३७ अर्ब ६८ करोड पुगेको छ । यस आयोजनाले अहिलेसम्म ३१ अर्ब १४ करोड खर्च गरिसकेको राष्ट्रिय योजना आयोगको तथ्यांक छ । काठमाडौं उपत्यका थोक खानेपानी प्रसारण आयोजना (दोस्रो) : ७ वर्षमा ५ प्रतिशत काम काठमाडौं उपत्यका थोक खानेपानी प्रसारण आयोजना (दोस्रो) कार्यान्वयन सुरु भएको ७ वर्ष पुगेको छ । आव २०७५/७६ देखि यो आयोजना थालिएको हो । आयोगका अनुसार २०८२/८३ सम्म यस आयोजनाको भौतिक प्रगति ५.३५ प्रतिशतमा सीमित देखिन्छ । यो आयोजना सम्पन्न गर्ने अनुमानित समय २०८५/८६ हो । कुल लागत ३८ अर्ब ४३ करोड रहेको आयोजनाले अहिलेसम्म १ अर्ब ९० करोड खर्च गरिसकेको तथ्यांक आयोगको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग : १८ वर्षमा ८५ प्रतिशत भौतिक काम पूर्व–पश्चिम मध्यपहाडी राजमार्गको कामसमेत विभिन्न स्थानमा अलपत्र छ । जसले गर्दा कार्यान्वयन सुरु भएको दुई दशकसम्म पनि आयोजनाको भौतिक प्रगति ८४.६८ प्रतिशतमा सीमित छ । यो आयोजना २०६४/६५ देखि सुरु भएको हो । आयोजनाको सुरु लागत ३३ अर्ब ३६ करोड थियो । आव २०८४/८५ सम्म सम्पन्न गर्ने संशोधित लक्ष्य राखिएको यो आयोजनाको लागत समेत बढेर ८४ अर्ब ३३ करोड पुगिसकेको छ । यो आयोजनाले २०८२/८३ सम्म ७३ अर्ब ५८ करोड खर्च गरिसकेको छ । सुस्त गतिमा हुलाकी राजमार्ग हुलाकी राजमार्ग आयोजनाको कार्यान्वयन २०६६/६७ देखि सुरु भएको हो । २०८२/८३ सम्म भौतिक प्रगति ७४.४१ प्रतिशत पुगेको छ । यो आयोजना सम्पन्न गर्ने मिति २०८६/८७ तोकिएको छ । सुरु लागत ४७ अर्ब २४ करोड रहेको आयोजनाको लागत बढेर १ खर्ब १ अर्ब ९३ करोड पुगिसकेको छ । आयोजनाले गत आवसम्म ७३ अर्ब ३८ करोड खर्च गरिसकेको छ । अघिल्लो आवसम्म भौतिक प्रगति ७२.७९ प्रतिशत थियो । उत्तर–दक्षिण (कोशी) सडक आयोजना : १७ वर्षमा आधामात्र काम उत्तर–दक्षिण (कोशी) सडक आयोजना कार्यान्वयन सुरु भएको १७ वर्षमा आधामात्र काम भएको छ । यो आयोजना २०६५/६६ देखि सुरु भएको हो । गत आवसम्म भौतिक प्रगति ४९ प्रतिशतमात्र भएको तथ्यांकले देखाएको छ । सुरु लागत ११ अर्ब ९३ करोड रहेको आयोजनाको लागत बढेर १६ अर्ब २० करोड पुगिसकेको छ । आयोजना सक्ने संशोधित समय २०८५/८६ तोकिएको छ । यस आयोजनाले अहिलेसम्म ७ अर्ब २८ करोड खर्च गरिसकेको छ । कालीगण्डकी करिडोरमा ७१.१२ प्रतिशत प्रगति उत्तर–दक्षिण कालीगण्डकी करिडोर आयोजना २०६७/६८ देखि सुरु भएको हो । २०८२/८३ सम्म यस आयोजनाको भौतिक प्रगति ७१.२३ प्रतिशतमात्र भएको छ । यो आयोजनाको संशोधित लक्ष्य अनुसार २०८८/८९ मा सम्पन्न हुनेछ । सुरुवाती लागत कुल ३० अर्ब ५७ करोड रहेको आयोजनाको संशोधित लागत अनुमान ३५ अर्ब पुगेको छ । आयोगका अनुसार अहिलेसम्म कालीगण्डकी कोरिडोरले २३ अर्ब ४९ करोड खर्च गरिसकेको तथ्यांक छ । उत्तर–दक्षिण कर्णाली करिडोर : १३ वर्षमा १३ प्रतिशतमात्र प्रगति उत्तर–दक्षिण कर्णाली करिडोर कार्यान्वयन १३ वर्षमा १३ प्रतिशतमात्र छ । यो आयोजना कार्यान्वयन २०६९/७० देखि सुरु भएको हो । आव २०८२/८३ सम्म भौतिक प्रगति १३ प्रतिशतमात्र भएको छ । यो आयोजनाको सुरुवाती लागत १८ अर्ब ६६ करोड थियो । अहिले संशोधित लागत २९ अर्ब पुगिसकेको छ । राष्ट्रिय योजना आयोगका अनुसार अघिल्लो आवमा १२ प्रतिशतमात्र रहेको प्रगति एक वर्षमा एक प्रतिशतमात्र बढेको तथ्यांकले देखिएको छ । यो आयोजनाले अहिलेसम्म ३ अर्ब ३६ करोड खर्च गरेको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : १६ वर्षमा ३.६ प्रतिशत प्रगति पूर्व–पश्चिम विद्युतीय रेलमार्ग २०६६/६७ देखि कार्यान्वयनमा आएको हो । आयोजनाको २०८२/८३ सम्म ३.६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । यो आयोजना अन्तर्गत ९ सय २५ किलोमिटर रेलमार्ग बनाउने लक्ष्य छ । रोचक पक्ष के छ भने यो आयोजना सम्पन्न हुने मिति नै यकिन छैन । आयोजनाको सुरु लागत ७० अर्ब ६२ करोड अनुमान गरिए पनि अहिले संशोधित अनुमान १० खर्ब १७ अर्ब पुगेको छ । आयोजना अन्तर्गत बर्दीवास–निजगढ खण्डको ७० किलोमिटरमा काम भइरहेको छ । आयोजनाले अहिलेसम्म ३३ अर्ब ७३ करोड खर्च गरिसकेको तथ्यांक छ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग : संशोधित समय नाघ्दा आधामात्र प्रगति काठमाडौं/तराई/मधेस द्रुतमार्ग सम्पन्न हुने संशोधित मिति चालु आव २०८३/८४ को चैत मसान्त थियो । तर, यो समयभित्र आयोजना नसक्ने निश्चित भएसँगै आयोजनाको म्याद सरकारले तीन वर्ष थपेको छ । तर, प्रगति अझै पनि ५० प्रतिशतभन्दा तल छ । राष्ट्रिय योजना आयोगका अनुसार यो आयोजना २०७३/७४ देखि कार्यान्वयनमा आएको हो । काठमाडौंलाई अहिले पुराना राजमार्गले मात्र जोडिरहेको सन्दर्भमा सबैभन्दा राम्रो विकल्प यो आयोजना थियो । तर, समयमै सम्पन्न नहुँदा काठमाडौंले एकातर्फ निरन्तर सास्ती भोगिरहेको छ भने अर्कातर्फ आयोजनाको लागत समेत बढिरहेको छ । यो आयोजनाका लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । अहिलेसम्म ९२ अर्ब ६८ करोड खर्च भइसकेको छ । अनिर्णयको बन्दी बन्यो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा आयोजना कार्यान्वयनको पूर्वतयारीका दौरान सबैभन्दा बढी गिजोलिएको आयोजना हो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । सरकारले ५० को दशकबाटै यो आयोजना कार्यान्वयनको बहस र पूर्वतयारीको काम थालेको हो । २०७३/७४ देखि यस आयोजनामा बजेट छुट्याउन थालियो । तर, वातावरणीय मुद्दा र अदालती प्रक्रियाले यो आयोजना अन्योलमा छ । आयोजना कुन स्तर र मोडेलमा बनाउने समेत निश्चित नभएका कारण आयोजना सम्पन्न हुने मिति नै अनिश्चित छ । यो आयोजनामा १ अर्ब ३६ करोड रुपैयाँ खर्च भइसकेको छ । अन्तिम चरणमा पशुपति क्षेत्र विकास कोष पशुपति क्षेत्र विकास कोष २०७०/७१ देखि कार्यान्वयनमा आएको आयोजना हो । यो आयोजनाको भौतिक प्रगति ९८.३३ प्रतिशत पुगेको छ । यो आयोजना सम्पन्न हुने मिति तोकिएको छैन । यद्यपि, पछिल्लो समय गुरुयोजना अनुसार काम हुने यस्तो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गर्ने वा नगर्ने भन्नेमा बहस सुरु भएको छ । आधा शताब्दी पुराना आयोजना : लुम्बिनी विकास कोष लुम्बिनी विकास कोष आयोजना कार्यान्वयन २०३४/३५ देखि सुरु भएको हो । यो आयोजना सम्पन्न हुने मिति २०८३ तोकिएको छ । १३ अर्ब २६ करोड लागत रहेको यो आयोजनाले अहिलेसम्म ९ अर्ब १३ करोड बजेट खर्च गरिसकेको छ । आयोजनाको भौतिक प्रगति ९०.५ प्रतिशत छ । मुलपानी क्रिकेट एकेडेमी : म्याद सकिन १ वर्ष बाँकी रहँदा ७ प्रतिशतमात्र प्रगति यो आयोजना २०८०/८१ देखि सुरु भएको हो । आयोजना सम्पन्न हुने मिति २०८४/८५ रहेको छ । तर, २०८२/८३ सम्मको विवरण अनुसार आयोजनाको भौतिक प्रगति ७ प्रतिशतमात्र छ । स्रोत सुनिश्चितता सहित बहुवर्षीय ठेक्का आह्वानपछि ३ वर्षभित्र सक्ने भनिएको यो आयोजना पुन: धेरै समय लाग्ने निश्चित भएको छ । कुल ७ अर्ब ४९ करोडको यो आयोजनामा अहिलेसम्म १९ करोड खर्च भइसकेको छ । गिरीजाप्रसाद कोइराला क्रिकेट रंगशाला : निर्माण सक्ने मिति नजिकियो, शून्य प्रगति यो आयोजनालाई सरकारले आव २०८०/८१ देखि कार्यान्वयन थालेको हो । यो आयोजना निर्माण सम्पन्न हुने मिति २०८४/८५ तोकिएको छ । स्रोत सुनिश्चितता सहित बहुवर्षीय ठेक्का आह्वान पश्चात साढे २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, निर्माण सक्ने गरी तोकिएको अवधि नजिकिँदै गर्दा भौतिक प्रगति शून्य अवस्थामा छ । यो आयोजनाको लागत ३ अर्ब ६४ करोड हो । आयोजनाको खर्च अभिलेखमा छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई समेत सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ । यो आयोजना धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण थालेको थियो । फाउन्डेसन यो आयोजना निर्माणमा असफल भएसँगै स्थानीय सरकारले सञ्चालन गर्ने गरी सरकारले निर्माणको जिम्मा लिएको हो । २०८१/८२ देखि कार्यान्वयन सुरु भएको यो आयोजना कार्यान्वयन सक्ने मिति यकिन छैन । तीन आयोजना सम्पन्न सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेकामध्ये तीन आयोजना भने सम्पन्न भएका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना २०७८ सालदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । यो आयोजनामा ४९ अर्ब रुपैयाँ लागत लागेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अर्को सम्पन्न भएको गौरवको आयोजना हो । यो आयोजना १६ पुस २०७९ देखि सञ्चालनमा आएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत २ जेठ २०७९ देखि सञ्चालनमा आएको छ । यी दुवै विमानस्थल तुलनात्मक रूपमा शीघ्र कार्यान्वयनमा आएका आयोजना हुन् । पोखरा विमानस्थल २०७३/७४ र भैरहवा २०७१/७२ मा सुरु भएका थिए ।

(0)Commentaires

 

À propos des cookies

Newshunt utilise des cookies essentiels pour vous garder connecté et mémoriser votre langue et votre pays, afin que le site fonctionne comme prévu. Avec votre permission, nous aimerions également utiliser des cookies analytiques pour comprendre comment les utilisateurs utilisent Newshunt et l'améliorer au fil du temps.

Accepter n'affecte que les analyses. Pour en savoir plus, consultez notre Politique de confidentialité or Conditions générales.