गे

गेजा शर्मा वाग्ले

कांग्रेस महाधिवेशनको कार्यसूची

Image
क्यालेन्डर र संज्ञाको दृष्टिले नियमित भए पनि यो केवल नियमित, औपचारिक र कर्मकाण्डी महाधिवेशन मात्रै होइन । आवश्यकता, एजेन्डा र भूमिकाका दृष्टिले यो अर्को विशेष महाधिवेशन हो । लामो समयदेखि नीति र नेतृत्व दुवै दृष्टिले संक्रमणकालबाट गुज्रिरहेको कांग्रेसको १५औं महाधिवेशनको कार्यसूचीबारे बहस सुरु भएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा नीति र नेतृत्वबारे छलफल हुनु स्वाभाविक हो । केवल महाधिवेशनको कारणले नीति र नेतृत्वका बारेमा मात्रै बहस होइन, कांग्रेसको भविष्य र सान्दर्भिकताका बारेमा समेत आशंकापूर्ण प्रश्नहरू उठेका छन् । इतिहासमा नै सबैभन्दा कमजोर र अलोकप्रिय भएको घडीमा हुन लागेको महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिने अपेक्षा कांग्रेसजनहरूले गरेका छन् । करिब ५० प्रतिशत मध्यम तथा निम्नमध्यम वर्ग तथा लोकतन्त्र पक्षधर बौद्धिक वर्गको बाहुल्य भएकाले लोकतन्त्रवादी कांग्रेसको सैद्धान्तिक र वर्गीय धरातल कमजोर छैन । तर धरातल कमजोर नभए पनि पार्टी किन कमजोर र अलोकप्रिय हुँदै आएको छ ? कांग्रेसको नीति असान्दर्भिक भएको हो कि विगतको नेतृत्वको असफलता ? के शेरबहादुर देउवा युगको अन्त्य र गगन थापाको उदयले कांग्रेसले पुनर्जीवन पाउने सम्भावना छ ? कांग्रेसले नयाँ इतिहास बनाउला कि इतिहासमा सीमित होला ? कांग्रेसले अब कस्तो नीति अंगीकार गरी कस्तो नेतृत्व निर्वाचित गर्ला ? भन्ने जस्ता अनन्त जटिल र अनुत्तरित प्रश्नहरू उठेका छन् । त्यसैले यस्ता प्रश्न र एजेन्डाबारे समीचिन मीमांसा गरी आसन्न महाधिवेशनले ठोस मार्गचित्र तय गर्नु अपरिहार्य छ । सिद्धान्तको पुनर्व्याख्या गरी समयसापेक्ष नीति २० औं शताब्दीको अन्त्यसम्म कुनै निश्चित दर्शन, सिद्धान्त र वर्गीय आधारमा पार्टी स्थापित हुने अभ्यास थियो । नेपालका कांग्रेस, कम्युनिस्ट पार्टीहरू यही अभ्यासबाट बनेका हुन् । भारतका बीजेपी र कंग्रेस, अमेरिकाका डेमोक्रेटिक र रिपब्लिकन, बेलायतका कन्जरभेटिभ र लेबरलगायतका विश्वभरिका पार्टीहरू पनि सोही प्रक्रियाबाट बनेका हुन् । तर २१ औं शताब्दीको पाँचौं औद्योगिक क्रान्तिको युगमा परम्परागत दर्शन, विचारधारा वा सिद्धान्तका आधारमा पार्टी निर्माण हुने शास्त्रीय पद्धति परिवर्तन भएको छ । किनभने १९ औं र २० औं भन्दा २१ औं शताब्दीको समाज मौलिक रूपमा पृथक छ । अहिलेका एजेन्डा र चुनौती पनि फरक छन् र जनताका समस्या र आकांक्षा पनि । आर्थिक विकास, जलवायु परिवर्तन, तापक्रम वृद्धि, दिगो विकास, पर्यावरणीय ह्रास, बेरोजगारी, आर्टिफिसियल इन्टेलिजेन्स, गिग अर्थतन्त्र, डिजिटलाइजेसन, आप्रवासन जस्ता नयाँ समस्या र चुनौती सिर्जना भएका छन् । त्यसैले शास्त्रीय सिद्धान्त र नीतिले यस्ता नयाँ र जटिल समस्या समाधान हुने सम्भावना छैन । जनताका लागि परम्परागत दर्शन, वाद र सिद्धान्तभन्दा विचार, नीति र एजेन्डा प्रमुख प्राथमिकता हुन् । बहुप्रचलित जार्गन समाजवाद, उदारवाद, पुँजीवाद, मार्क्सवाद, साम्यवाद, जनवादजस्ता ठूला, कोरा र अमूर्त वादप्रति जनताको खासै चासो छैन । तत्काल अनुभूत गर्ने आर्थिक विकास, विधिको शासन, सुशासन, भ्रष्टाचार नियन्त्रण, सर्वसुलभ सेवा प्रवाह, गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, पारदर्शिता, उत्तरदायित्व जनताका प्राथमिकता हुन् । अहिले जनताले शास्त्र र सिद्धान्तभन्दा पनि जनमुखी नीति र डेलिभरी खोजिरहेका छन् । यदि जनताका समस्या समाधान गर्ने नीति र कार्यक्रममा रूपान्तरित नभए कोरा सिद्धान्त र अमूर्त विचारधाराको औचित्य छैन । यसको निष्कर्ष सिद्धान्त र विचारधाराको राजनीति समाप्त भएको होइन, डेलिभरीको युग प्रारम्भ भएको हो । त्यसैले परिवर्तित सन्दर्भमा कांग्रेसले नयाँ 'मेटान्यारेटिभ' (बृहत् भाष्य) निर्माण गर्नुपर्ने देखिएको छ । धरातल कमजोर नभए पनि पार्टी किन कमजोर र अलोकप्रिय हुँदै आएको छ ? कांग्रेसको नीति असान्दर्भिक भएको हो कि विगतको नेतृत्वको असफलता ? के शेरबहादुर देउवा युगको अन्त्य र गगन थापाको उदयले कांग्रेसले पुनर्जीवन पाउने सम्भावना छ ?राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसका मार्गनिर्देशक सिद्धान्त हुन् । तर परिवर्तित राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक यथार्थतालाई आत्मसात् गरी हालसम्म अनुसरण गर्दै आएका सिद्धान्त र वैचारिकीका बारेमा वस्तुनिष्ठ समीक्षा गर्नु अपरिहार्य देखिएको छ । कांग्रेसले परिकल्पना गरेको समुन्नत र समन्यायिक समाज निर्माण गर्न आफ्ना विचार, सिद्धान्त र नीतिहरू समयानुकूल परिमार्जन, व्याख्या, पुनःव्याख्या, अद्यावधिक गर्नुपर्ने देखिएको छ । किनभने अतीत र इतिहासमुखी होइन, भविष्य र जनतामुखी कांग्रेस आजको आवश्यकता हो । परिवर्तित नयाँ युगका लागि नयाँ भिजन, नयाँ नीति र नयाँ एजेन्डा आवश्यक छ । सैद्धान्तिक–वैचारिक दृष्टिले आसन्न महाधिवेशनले कांग्रेसलाई मार्गनिर्देश गर्नु आवश्यक छ । त्यसैले जनताले बुझ्ने शब्द, भाषा र शैलीमा समुन्नत र समन्यायिक नेपालको स्पष्ट मार्गचित्र पारित गर्नुपर्छ । कांग्रेसजनहरूले आत्मसात् गर्नुपर्ने वास्तविकता के हो भने यदि कुनै विचारधारा वा सिद्धान्त 'अपडेटेड' (अद्यावधिक) भएन भने 'आउटडेटेड' (असान्दर्भिक) हुन्छ । उदारवादी, लोकतन्त्रवादी र प्रगतिशील सिद्धान्त, विचार र पार्टीको त यो स्वाभाविक वैचारिक उद्विकास प्रक्रिया नै हो । किनभने सैद्धान्तिक–वैचारिक गतिशीलता र उदारतामा नै कुनै पनि विचारधारा, सिद्धान्त वा पार्टीको भविष्य अन्तर्निहित हुन्छ । कांग्रेसमा स्थापनाकालदेखि नै उदारवादी र कन्जरभेटिभ पक्षधरबीच विवाद र संघर्ष हुँदै आएको देखिन्छ । अहिलेको विवादको प्रमुख कारण पनि यही नै हो । पुरानो पुस्ता कन्जरभेटिभ छ । त्यसैले कन्जरभेटिभ एजेन्डाको वकालत गरिरहेको छ । तर नयाँ पुस्ता उदार, गतिशील र प्रगतिशील छ । त्यसैले उदारवादी र प्रगतिशील एजेन्डाको वकालत गरिरहेको छ । पार्टी प्रणाली पुनर्गठन अर्को महत्त्वपूर्ण एजेन्डा हो । कांग्रेस संगठनप्रधानभन्दा पनि नेतृत्वप्रधान हुँदै आएकाले विधान र पार्टी प्रणाली नै नेतृत्वमुखी छ । पार्टी संरचना अत्यन्त भद्दा र अनावश्यक छन् । केन्द्रदेखि गाउँसम्मका संरचनाहरू गतिशील र कार्यमूलक छैनन् । नेता–कार्यकर्ताले पनि सिद्धान्तलाई भन्दा सत्तालाई र संस्थालाई भन्दा गुटलाई विशेष प्राथमिकता दिँदै आएको देखिन्छ । कार्यकर्ता जनतामुखी होइन, नेतामुखी छन् । उनीहरू जनताको होइन, नेताहरूको घरदैलो गर्छन् । अपवादबाहेक नेतादेखि कार्यकर्तासम्म जनताबाट विमुख भएका छन् । कांग्रेसले जनताको भावनाको प्रतिनिधित्व गर्ने कि नेता–कार्यकर्ताको व्यवस्थापन मात्रै गर्ने ? त्यसैले विद्यमान पार्टी प्रणालीका आधारमा कांग्रेसले पुनर्जीवन पाउने सम्भावना छैन । यदि पुनर्गठन गर्ने हो भने पार्टी संरचना र सदस्यता प्रणालीमा मौलिक र व्यापक सुधार गर्नुपर्छ । लोकतन्त्रवादी पार्टीको आधारभूत सिद्धान्त र चरित्रअनुसार जवाफदेही र उत्तरदायी नेतृत्व प्रणाली विकसित गर्नुपर्छ । अब नेतृत्वप्रधान होइन, नीतिप्रधान पार्टीको रूपमा रूपान्तरण गर्नुपर्छ । कार्यकर्ता नेताप्रति बफादार होइन, नेतादेखि कार्यकर्तासम्म सबै जनताप्रति उत्तरदायी हुने प्रणाली विकसित गर्नुपर्छ । लोकतन्त्रवादी पार्टीले संगठन र सदस्यता प्रणाली पनि लोकतान्त्रिक र उदार बनाउनुपर्छ । क्रियाशील र साधारण गरी दुई सदस्यता प्रणाली अन्त्य गरी एकल सदस्यता प्रणाली लागू गर्नुपर्छ । यसैगरी सबैभन्दा बढी विवादित हुँदै आएको टिकट वितरण प्रणाली आमूल परिवर्तन गरी विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार प्राइमरी निर्वाचनबाटै निर्णय गरिनुपर्छ । विशेष महाधिवेशनपछि स्थायी गुट विघटन भई नयाँ ध्रुवीकरण र समीकरण विकसित भएको देखिन्छ, जुन पार्टी पुनर्गठनका दृष्टिले सकारात्मक हो । अब कार्यकर्तामा आधारित पार्टी, पूर्णकालीन कार्यकर्ता तथा आजीवन नेतृत्वपंक्तिमा रहने अध्याय अन्त्य भइसकेको छ । पार्टी र सरकारको नेतृत्वका लागि दुई कार्यकाल र ६५ देखि ७० वर्षमा अनिवार्य अवकाश वा कार्यकारी भूमिकाका लागि स्वतः अयोग्य हुने प्रावधान विधानमा उल्लेख गर्नु उपयुक्त हुनेछ । यसैगरी युवा, विद्यार्थी, महिला, मजदुर, आदिवासी–जनजाति, दलितबाहेकका भ्रातृ संस्थाहरूका बारेमा समेत पुनर्विचार गर्नुपर्छ । यसैगरी कर्मचारी, प्राध्यापक, शिक्षक, चिकित्सक, वकिल, इन्जिनियरिङ, पत्रकारिता जस्ता गैरराजनीतिक र व्यावसायिक क्षेत्रका शुभेच्छुक संस्था खारेज गर्नुपर्छ । यसरी संगठन प्रणाली पुनर्गठन नगरी रूपान्तरण सम्भव छैन । विशेष महाधिवेशनबाट थापा सभापति भएपछि पुनर्गठनको प्रक्रिया प्रारम्भ भएको छ । विशेष महाधिवेशनले विधान संशोधन गरी समावेशीकरण, महिला तथा युवा प्रतिनिधित्व तथा 'ल्याटरल इन्ट्री' (विशेष प्रकियामार्फत उचित भूमिका दिने पद्धति) सुनिश्चित गरेपछि मौलिक संरचनागत परिवर्तन भएको छ । न्यूनतम एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गरेको कारणले ५४ हजारभन्दा बढी महिला पार्टीका सबै तह र संरचनाको नेतृत्वमा पुग्ने तथा नेतृत्व विकास हुने संघार खुलेको छ । यसैगरी ३५ वर्षमुनिका २१ जना युवाको केन्द्रीय समितिमा प्रतिनिधित्वका साथै सबै तहमा गर्दा १३ हजारभन्दा बढी युवाको प्रतिनिधित्वको प्रावधान भएपछि पुस्तान्तरण र नेतृत्व विकासको दृष्टिले संस्थागत आधार बनेको छ । कांग्रेसजस्तो लोकतन्त्रवादी पार्टीलाई हालसम्म बौद्धिक, व्यावसायिक तथा पेसागत दक्षता भएका व्यक्तिको आवश्यकता भए पनि 'ल्याटरल इन्ट्री' को प्रावधान थिएन । कांग्रेसको राजनीतिमा प्रवेश गर्न लामो संगठनात्मक सोपान चढ्नुपर्ने बाध्यता थियो । त्यसैले कांग्रेसको राजनीतिप्रति आकर्षण पनि थिएन । ल्याटरल इन्ट्रीले अब अनुकूल वातावरण सिर्जना भएको छ । यसले पुनर्गठन प्रक्रिया वैधानिक रूपमै सुनिश्चित मात्रै गरेको छैन, पुनर्गठनले गुणात्मक परिवर्तन हुने सम्भावनासमेत देखिएको छ । यो आरक्षणभन्दा पनि प्रतिनिधित्व र नेतृत्व विकासको वैधानिक प्रक्रिया हो । तर बहुप्रतीक्षित पुनर्गठन प्रक्रिया प्रारम्भ भए पनि पर्याप्त छैन । त्यसैले यस्तो समग्र तथा व्यापक पुनर्गठन प्रक्रियालाई सुनिश्चित गर्न विधान पुनः संशोधन गर्नु आवश्यक छ । विशेषबाट पुस्तान्तरण, नियमितबाट रूपान्तरण विगत लामो समयदेखि नेतृत्व विकास र हस्तान्तरणको प्रक्रिया अत्यन्त जटिल, विवादित र पेचिलो हुँदै आएको थियो । यही कारणले विगतमा केवल विवाद मात्रै भएन, पार्टी नै विभाजन हुने अवस्थासमेत सिर्जना भएको थियो । त्यसैले पुस्तान्तरणसहित नेतृत्व हस्तान्तरण तथा रूपान्तरण कांग्रेसको प्रमुख एजेन्डा थियो । विशिष्ट र असाधारण अवस्थामा गत वर्षको पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति भएपछि बहुप्रतीक्षित नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको छ । कांग्रेसजस्तो हाइरार्की, लिगेसी र तीन पुस्ता क्रियाशील भएको परम्परागत पार्टीका लागि थापा सभापति हुनु स्वयंमा एउटा युगान्तकारी घटनाक्रम थियो र पार्टी रूपान्तरण र पुनर्गठनको दृष्टिले कोसेढुंगा थियो । अहिले थापा, विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, भीष्मराज आङ्देम्बे, प्रदीप पौडेल, गुरुराज घिमिरेहरूको पुस्तामा कांग्रेसको नेतृत्व आएको छ । अहिले जनता र जेन–जी पुस्ताको भावनाअनुसार केन्द्रदेखि वडासम्म पुस्तान्तरणसहितको नेतृत्व विकास तथा हस्तान्तरण हुने दुर्लभ घडी आएको छ । लामो समयदेखि पार्टीमा संघर्ष गर्दै आएका तथा रूपान्तरणको एजेन्डाका आधारमा नेतृत्वमा पुगेका थापाले अहिले अभूतपूर्व शक्ति आर्जन गरेका छन् । देउवाका विश्वासपात्रहरूसमेत मूलधारमा फर्किएपछि थापाको राजनीतिक, कानुनी तथा नैतिक सबै दृष्टिले विजय हासिल गरेको देखिन्छ । विशेष महाधिवेशनपछि थापाको मार्गचित्र र एजेन्डाअनुसार चलेको कांग्रेसमा अहिले उनी निर्विकल्प हुन् । सत्ता र शक्ति तथा विरासतका आधारमा नेतृत्वमा पुगेका दुवै प्रवृत्तिलाई थापाले राजनीतिक रूपमा विस्थापित गरिदिएका छन् । जननायक बीपी कोइरालाका कारणले उच्च सम्मान भएको कोइराला परिवारको विरासतसमेत अहिले संकटमा परेको छ । किनभने यो वंशज र विरासतको होइन, विचार र भिजनको युग हो । जुन नेतृत्वप्रति जनताको विश्वास हुँदैन, त्यो नेतृत्वले न पार्टी सञ्चालन गर्न सक्छ, न राज्य । अहिले कांग्रेसका सामु जटिल चुनौती छन् । ती चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्षम भिजन र आत्मविश्वास भएको केन्द्रदेखि वडासम्मको नेतृत्व आजको आवश्यकता हो । सक्षम नेतृत्वका लागि संकट भनेको अर्को अर्थमा अवसर पनि हो । त्यसैले अहिलेका जटिल चुनौती सामना गरी देश, जनता र पार्टीको नेतृत्व गर्न सक्ने थापाजस्तो भिजनरी, संघर्षशील र ऊर्जाशील नेतृत्व कांग्रेस पुनर्जीवनको पूर्वसर्त हो । किनभने वालेन्द्र शाहप्रति जनताको जति मोहभंग हुँदै गएको छ, त्यति नै थापाप्रति जनताको आशा र विश्वास बढ्दै गएको छ । थापाको लोकप्रियता र उनीप्रति जनताको आशा र विश्वासलाई पुँजीकृत गरी कांग्रेसलाई पुनर्जीवन दिने रणनीति अख्तियार गर्नु सबैभन्दा उपयुक्त हुनेछ ।सन् १९९४ मा बेलायतको लेबर पार्टीको नेतृत्वमा आएपछि जसरी टोनी ब्लेयरले सैद्धान्तिक, वैचारिक तथा सांगठनिक दृष्टिले रूपान्तरण गरी नयाँ लेबर पार्टी बनाएका थिए । त्यसरी नै अब थापाले पनि पुरानो कांग्रेसलाई रूपान्तरण गरी नयाँ कांग्रेस बनाउन निर्णायक कदम चाल्नुपर्ने घडी आएको छ । नयाँ कांग्रेस भनेको सिद्धान्त, विचार, नीति, एजेन्डाका दृष्टिले नयाँ हो, सांगठनिक दृष्टिले नयाँ हो, पुस्ताका दृष्टिले नयाँ हो । यसैगरी पार्टी सञ्चालन प्रणाली, संस्कार र कार्यशैलीको दृष्टिले नयाँ हो । आजको आवश्यकता पनि यही हो र एजेन्डा पनि यिनै हुन् । थापालाई न विलम्ब गर्ने छुट छ, न असफल हुने । त्यसैले यदि, तर, यद्यपि, तथापि नभनी मौलिक रूपान्तरण र पुनर्गठन गरी नयाँ कांग्रेस बनाउन थापा निर्भीकतापूर्वक अगाडि बढ्नुपर्छ । विशेष महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरण प्रक्रिया प्रारम्भ भयो । आसन्न महाधिवेशनले मौलिक रूपमा रूपान्तरण गर्ने दृढसंकल्पसहित ठोस मार्गचित्र पारित गर्नु अपरिहार्य छ । यी समग्र दस्ताबेज, भिजन, नीति र एजेन्डाका बारेमा केवल महाधिवेशनको सत्रमा मात्रै होइन, अहिलेदेखि नै घनीभूत छलफल, बहस र विमर्श गर्नु आवश्यक छ । क्यालेन्डर र संज्ञाको दृष्टिले नियमित भए पनि यो केवल नियमित, औपचारिक र कर्मकाण्डी महाधिवेशन मात्रै होइन । आवश्यकता, एजेन्डा र भूमिकाका दृष्टिले यो अर्को विशेष महाधिवेशन हो । त्यसैले आसन्न महाधिवेशनले पारित गर्ने नीति र नेतृत्वमा नै कांग्रेसको भविष्य र सान्दर्भिकता अन्तर्निहित भएकाले यो अर्को ऐतिहासिक 'टर्निङ प्वाइन्ट' हुनेछ । गेजागेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
कांग्रेस महाधिवेशनको कार्यसूची
View on original source
Partager
Archive
J’aime

(0)Commentaires

 

Opinion liée

À propos des cookies

Newshunt utilise des cookies essentiels pour vous garder connecté et mémoriser votre langue et votre pays, afin que le site fonctionne comme prévu. Avec votre permission, nous aimerions également utiliser des cookies analytiques pour comprendre comment les utilisateurs utilisent Newshunt et l'améliorer au fil du temps.

Accepter n'affecte que les analyses. Pour en savoir plus, consultez notre Politique de confidentialité or Conditions générales.