हेटाैँडा । मुलुकको एकमात्र 'ब्याकअप' ऊर्जा स्रोतको रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दो क्रममा रहेको छ । पछिल्लो १२ घण्टाको अवधिमा मात्रै कुलेखानी जलाशयमा जल सतह १.२ मिटरले भरिएको आयोजनाले जनाएको छ ।
जलाधार क्षेत्रमा बिहीबारदेखि लगातार भइरहेको वर्षा र शुक्रबार बिहानदेखि पानीको पर्ने क्रम बाक्लो हुँदा जलाशयको सतह प्रतिघण्टा १० सेन्टिमिटरको दरले बढेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख प्रह्लाद राउतले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान ६ बजे कुलेखानी जलाशयमा १ हजार ५२२.३१ मिटर पानी मापन गरिएको थियो भने साँझ ७ बजेसम्म आइपुग्दा जल सतह बढेर १ हजार ५२३.५१ मिटर पुगेको छ ।
यसरी लगातार पानीको सतह बढ्दै गएपछि अब पूर्ण क्षमतामा जलाशय भरिन जम्मा ६ मिटरमात्र बाँकी रहेको छ । कुलेखानी जलाशयमा अधिकतम १ हजार ५३० मिटर पानी सङ्कलन गर्न सकिने क्षमता रहेको छ । हाल जलाशयको पूर्ण क्षमतामा पुग्न ६ मिटर बाँकी रहे पनि आत्तिनुपर्ने अवस्था नरहेको प्रमुख राउतले बताए ।
जलाधार क्षेत्रमा पानीको सतह बढ्दै गएपछि जलाशयको पानी खपत गर्ने उद्देश्यले कुलेखानी जलविद्युत् आयोजनाका तीन वटै युनिटहरू २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । तीन वटै युनिट २४ घण्टा चलाउँदा दैनिक करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुने गरेको आयोजनाले जनाएको छ । कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी कुल १०८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
जलाधार क्षेत्र १६६ वर्ग किलोमिटर रहेको कुलेखानीमा पानीको सतह उच्च भएर जलाशय भरिनुभन्दा अगाडि बाँध खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सुरक्षाका लागि साइरनको व्यवस्था गरिएको छ । आयोजनाका अनुसार जलाशयमा पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था गरिएको छ भने १ हजार ५३० मिटरभन्दा बढी पानी भएमा बाँधका ढोकाहरू खोल्नुपर्ने हुन्छ । बाँधका ढोकाहरू खोल्नु अघि ३ चरणमा साइरन बज्ने र सोही अनुसार सतर्कताका लागि संयन्त्र परिचालन गरिएको जनाइएको छ ।
(0)댓글
쿠키 안내
Newshunt는 로그인 상태 유지와 언어 및 국가 설정 기억을 위해 필수 쿠키를 사용하여, 사이트가 기대하신 대로 작동하도록 합니다. 동의하시면, 사용자가 Newshunt를 어떻게 이용하는지 파악하고 지속적으로 개선하기 위해 분석용 쿠키도 사용하고자 합니다.
(0)댓글