कोशी–मधेस आर्थिक सहकार्यका ५ रणनीतिक पिल्लरबारे बहस

कोशी–मधेस आर्थिक सहकार्यका ५ रणनीतिक पिल्लरबारे बहस
View on original source
카테고리: Financial
공유
보관함
좋아요
विराटनगर । भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा बदल्दै कोशी र मधेस प्रदेशले औद्योगिक लाइफलाइन करिडोर निर्माण, कर प्रणालीमा एकरूपता, संयुक्त जलपर्यटन र चुरे–जलाधार संरक्षणलाई साझा आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि सारेका छन् । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा शुक्रबार आयोजना गरिएको दुई प्रदेशका आर्थिक मामिला मन्त्रीहरू सम्मिलित 'अन्तर–प्रादेशिक समृद्धि र सहकार्य ः कोशी–मधेस साझा विकास संवाद' कार्यक्रममा साझा सम्भावनाहरूको पहिचान र सहकार्यको विषयमा छलफल भएको हो । कार्यक्रममा दुई प्रदेशबिच अस्वस्थ प्रतिस्पर्धा अन्त्य गरी संयुक्त लगानी र नीतिगत सहकार्यमार्फत बृहत् आर्थिक सम्भावनाहरू उजागर गर्ने विषयमा छलफल भएको थियो । संवादमा सहभागी दुवै प्रदेशका आर्थिक मामिला मन्त्रीहरूले आपसी सहकार्य र वित्तीय अनुशासनलाई उच्च प्राथमिकता दिँदै स्रोत परिचालनमा साझा धारणा बनाउन सकारात्मक रहेको बताए । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सीमा जोडिएका प्रदेशहरूबिच फरक–फरक करको दर हुँदा राजस्व चुहावट र नागरिकमा अन्योल बढेको औँल्याउँदै सवारीलगायतका करमा तत्काल एकरूपता ल्याउनुपर्ने बताए । कोशी ब्यारेजदेखि चतरा–बराहक्षेत्रसम्म जेटबोट सञ्चालन गरी धार्मिक जलपर्यटनको विकास गर्ने, सुनकोशी–मरिण डाइभर्सनबाट मधेसको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउन संयुक्त पैरवी गर्ने तथा आगामी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनका लागि बलियो आधार बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले संघीयताको औचित्य पुष्टि गर्न प्रदेशहरूले टुक्रे योजना र उपभोक्ता समितिमार्फत हुने कामको बेथिति अन्त्य गर्नुपर्नेमा जोड दिए । मधेस सरकारले १ करोड रुपैयाँमुनिका खुद्रे योजनामा बजेट नदिने र टेन्डर प्रक्रियालाई अनिवार्य गर्ने नीति लिएको जानकारी दिँदै उनले प्रदेशहरूबिच सवारी कर छुट दिने अस्वस्थ होडबाजी रोकिनुपर्ने बताए । सवारी साधन जहाँ नवीकरण भए पनि दर्ता भएकै प्रदेशमा राजस्व जाने स्वचालित प्रणाली बनाउन र प्रदेशका ठुला संरचनामा मात्र बजेट केन्द्रित गर्नुपर्ने भन्दै उनले त्यसका लागि संयुक्त पहल गर्नुपर्ने धारणा राखे । छलफलका क्रममा प्रस्तुत कार्यपत्रहरूमा आर्थिक सहकार्यका '५ रणनीतिक पिल्लर' माथि विस्तृत बहस भएको थियो । जसमा विराटनगर–इटहरी–धरान र जनकपुर–बर्दिबास–वीरगञ्ज औद्योगिक केन्द्रहरू जोड्ने लाइफलाइन करिडोर, सीमावर्ती क्षेत्रमा संयुक्त कोल्ड स्टोरेज तथा लजिस्टिक हब, ढुङ्गा–गिट्टी–बालुवा उत्खननको साझा मापदण्ड, तथा चुरे संरक्षण र कोशी बेसिन बाढी नियन्त्रणका लागि 'अन्तरप्रदेश साझा जलवायु कोष' स्थापना गर्ने प्रस्ताव समेटिएका छन् । यस्तै, जानकी मन्दिर, छिन्नमस्ता, बराहक्षेत्र हुँदै इलाम र कञ्चनजङ्घासम्म जोड्ने 'हिमाल–पहाड–तराई–मिथिला पर्यटन सर्किट' निर्माण गर्ने योजनालाई विशेष प्राथमिकतामा राखेर लैजानु पर्ने प्रस्ताव गरिएको छ । दुवै प्रदेशका योजना आयोगका उपाध्यक्षहरूले सहकार्यलाई कानुनी र संरचनात्मक रूप दिनुपर्नेमा जोड दिए । मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले संघीय सरकारबाट मूल्य अभिवृद्धि करलाई वस्तु तथा सेवा करमा रूपान्तरण गरी ५० प्रतिशत हिस्सा प्रदेशलाई दिलाउन संयुक्त लबिङ गर्नुपर्ने बताए । उनले राजस्व बाँडफाँटमा विप्रेषण र विद्युत् प्रसारण लाइनको हिस्सालाई पनि भार क्षमताको रुपमा गणना गर्नुपर्ने माग राखे । कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले विगतका लगानीको प्रतिफल विश्लेषण गर्दै कोशीले २० वर्षे दीर्घकालीन विकास मार्गचित्र र निर्यात प्रवर्द्धन रणनीति बनाइरहेको जानकारी दिए । उनले असोज २२ र २३ गते आयोजना हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनका लागि तयार गरिएको 'जिरो ड्राफ्ट' मा अधिकार हस्तान्तरण र अन्तरप्रदेश साझेदारीका एजेन्डा समेटिएको उल्लेख गर्दै मधेस प्रदेशबाट ठोस सुझावको अपेक्षा गरे । कार्यक्रममा अर्थ मन्त्रालयका सचिवहरू, लेखा नियन्त्रक तथा विज्ञहरूले दुवै प्रदेशले बजेट ल्याउनु ३ महिनाअगावै 'प्रि–बजेट परामर्श' गर्नुपर्ने, आयोजना बैंकलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने र ५०–५० प्रतिशत लागत साझेदारीमा संयुक्त अध्ययन अनुसन्धान अघि बढाउनुपर्ने सुझाव दिएका थिए । संवादले दुवै प्रदेशका अर्थमन्त्रीहरूको संयोजकत्वमा उच्चस्तरीय मार्गदर्शक समिति र सचिवहरूको नेतृत्वमा प्राविधिक कार्यदल गठन गर्ने सहमतिसमेत जुटाएको छ।

(0)댓글

 

쿠키 안내

Newshunt는 로그인 상태 유지와 언어 및 국가 설정 기억을 위해 필수 쿠키를 사용하여, 사이트가 기대하신 대로 작동하도록 합니다. 동의하시면, 사용자가 Newshunt를 어떻게 이용하는지 파악하고 지속적으로 개선하기 위해 분석용 쿠키도 사용하고자 합니다.

동의는 분석 기능에만 영향을 미칩니다. 자세한 내용은 개인정보처리방침 or 이용약관.