भो

भोजराज पौडेल

कर्णालीको ‘विकास ब्लुज'

Image
आज कर्णालीको विकासबारे बहस गर्दा विगतको शोषण र बहिष्करणलाई बुझ्नुपर्छ । इतिहास नबुझी बनाइने विकास योजना फेरि पुरानै असमानताको नयाँ रूप बन्छ । कर्णाली प्रदेशको सम्भावना र यहाँको गहिराइलाई बुझ्न नसकेर विगतका सरकारले गल्ती गरेको आरोप लगाउँदै सत्ताको यात्रा गरेका प्रधानमन्त्री वालेन्द्र शाह यसै साता संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गरेका छन् । महासभामा प्रधानमन्त्रीको सम्बोधनको एउटा प्रमुख पाटो नेपालमा रहेको प्रकृतिको वैभव र त्यो वैभव अब कसरी विपत्ति बनेर आउँदै छ भन्ने हुनेछ । प्राकृतिक रूपमा सम्पन्न कर्णालीको मार्सी चामल र स्याउ नेपाली बजारमै पुग्न नसकेका कारण स्थानीय वस्तुले मूल्य पाउन नसकेको जिकिर गरेर आर्थिक विकासको बाटो अबको सरकारले कोर्ने सपना बाँडेका वालेन्द्र शाह र उनलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेको रास्वपाले संसद्मा झन्डै दुईतिहाइ बहुमतका साथ सरकार हाँकिरहेको छ । मुलुकको आर्थिक कायापलट गर्ने सपनालाई योजनामा ढाल्ने र त्यो कार्यान्वयन गर्ने वाचा कति पूरा होला, भविष्यले बताउनेछ । इतिहासले प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपाको समीक्षा गर्नेछ । सुर्खेतस्थित एक होटलको एउटा कुनामा बसेर यी पंक्ति लेख्दै गर्दा मलाई भने नेपालको आर्थिक विकासको बाटो अझै पनि अँध्यारो नै रहेको र त्यहाँ प्रकाश पुर्‍याउने काममा सरकार र यसको नेतृत्व विस्तारै चुक्दै गइरहेको छ भन्ने लागेको छ । सरकारको ध्यान प्रमुख विषयबाट अन्तैतिर मोडिएको छ । यो आलेखमा मैले कर्णालीको पृष्ठभूमिमा मुलुकको 'विकास ब्लुज' बारे चर्चा गर्नेछु । कर्णालीलाई नेपालभित्रकै सबैभन्दा दुर्गम, गरिब र राज्यको पहुँचभन्दा टाढा रहेको भूगोलका रूपमा बुझ्ने परम्परा छ । राजधानीका नीति निर्माता, सञ्चारमाध्यम र राजनीतिक दलहरूले कर्णालीको चर्चा गर्दा प्रायः भोक, अभाव, भौगोलिक विकटता, खाद्यान्न संकट र बसाइँसराइको चित्र प्रस्तुत गर्छन् । ती यथार्थ हुन् । कर्णालीका धेरै ठाउँमा आज पनि गुणस्तरीय स्वास्थ्य सेवा, भरपर्दो सडक, सुरक्षित खानेपानी, नियमित विद्युत् र रोजगारीको पहुँच छैन । तर कर्णालीलाई अभावको पर्याय बनाएर मात्र हेर्नु पनि राज्यको अर्को बौद्धिक र व्यावहारिक कमजोरी हो । कर्णालीसँग समस्या मात्रै छैनन् । यससँग नेपालको आर्थिक भविष्य बदल्न सक्ने स्रोत, संस्कृति, श्रम र सम्भावना पनि छन् । प्रधानमन्त्री शाहले कर्णाली भ्रमणका क्रममा पूर्वराजा महेन्द्रले रारा ताललाई दिएको 'स्वर्गकी अप्सरा' को उपमा स्मरण गरेको प्रसंगलाई केवल राजनीतिक भाषणको अलंकार मान्न हुँदैन । रारा तालको सौन्दर्य वास्तवमै अद्वितीय छ । तर राराको किनारमा बस्ने नागरिकको जीवनमा त्यो सौन्दर्यले कति आर्थिक अवसर सिर्जना गरेको छ भन्ने प्रश्नको जवाफ खोज्ने हो भने राज्यको निरन्तरको कमजोरी त्यहीं देखिन्छ । कर्णालीको भूगोल नेपालका अरू प्रदेशभन्दा भिन्न छ । यहाँ हिमाल, नदी, उपत्यका, जंगल, उच्च हिमाली चरन, जडीबुटी र विविध संस्कृति एकै ठाउँमा भेटिन्छन् । नेपालको सबैभन्दा ठूलो ताल रारा, गहिरो ताल शे–फोक्सुन्डो, सबैभन्दा लामो नदी कर्णाली, विशाल भूभाग भएको डोल्पा र ऐतिहासिक सिँजा सभ्यताले यस प्रदेशको विशिष्टता देखाउँछन् । यी सम्पदालाई कृषि, पर्यटन, ऊर्जा, व्यापार र स्थानीय उद्यमसँग जोड्न सकियो भने कर्णाली राज्यको अनुदान पर्खने प्रदेश होइन, राष्ट्रिय अर्थतन्त्रलाई गति दिने प्रदेश बन्न सक्छ । कर्णालीको वास्तविक गहिराइ राज्यले कहिल्यै नाप्न सकेन । सरकारले कहिले यसलाई राहत आवश्यक पर्ने क्षेत्रका रूपमा हेर्‍यो, कहिले चुनावी भाषणको भावनात्मक विषय बनायो र कहिले बजेटमा केही रकम छुट्याएर आफ्नो जिम्मेवारी पूरा भएको ठान्यो ।प्रधानमन्त्री वालेन्द्र शाहले चुनावी भाषणमा भनेको विषय सत्य हो । कर्णालीको वास्तविक गहिराइ राज्यले कहिल्यै नाप्न सकेन । सरकारले कहिले यसलाई राहत आवश्यक पर्ने क्षेत्रका रूपमा हेर्‍यो, कहिले चुनावी भाषणको भावनात्मक विषय बनायो र कहिले बजेटमा केही रकम छुट्याएर आफ्नो जिम्मेवारी पूरा भएको ठान्यो । तर कर्णालीको विकासका लागि चाहिने नीति भने फरक छ । यहाँ सडक बनाउनु मात्र पर्याप्त छैन । त्यो सडक वर्षायाममा चल्छ कि चल्दैन भन्ने सुनिश्चित हुनुपर्छ । विद्यालय खोल्नु मात्र पर्याप्त छैन । त्यहाँ शिक्षक, इन्टरनेट र सिकाइको वातावरण छ कि छैन हेर्नुपर्छ । स्वास्थ्य चौकीको भवन बनाउनु मात्र पर्याप्त छैन, औषधि, स्वास्थ्यकर्मी र आपत्कालीन यातायात उपलब्ध छ कि छैन भन्ने प्रश्न मुख्य हो । कर्णाली प्रदेश अस्पतालमा अहिले पनि दक्ष चिकित्सकको अभाव छ । कर्णालीको अर्थतन्त्रमा समस्या उत्पादनको अभाव होइन, उत्पादनले बजार नपाउनु हो । जुम्लाको स्याउ, मार्सी धानको चामल, सिमी, ओखर, मह, आलु, जडीबुटी, भेडाच्यांग्राका उत्पादन र स्थानीय अन्नको चर्चा देशभर हुन्छ । तर किसानले उत्पादन गरेपछि उसको वस्तु कहाँ पुग्छ, कसरी पुग्छ र कति मूल्यमा बिक्री हुन्छ भन्ने प्रश्नको जवाफ छैन । जुम्लाको स्याउ उतै कुहिने, स्थानीय चामलले नियमित बजार नपाउने र ओखर वा सिमी बिचौलियाको हातबाट सस्तोमा बाहिरिने अवस्था अन्त्य नभएसम्म कृषिबाट कर्णालीको समृद्धिको नारा खोक्रो हुन्छ । किसानलाई उत्पादन बढाउन आग्रह गर्नु सजिलो छ । तर उसले उत्पादन गरेको वस्तु सुरक्षित रूपमा बजारसम्म पुर्‍याउने प्रणाली नबनाउनु नीति निर्माताको असफलता हो । कृषि विकासको अर्थ बीउ, मल र अनुदानमा मात्र सीमित हुँदैन । उत्पादनपछि संकलन, वर्गीकरण, प्याकेजिङ, चिस्यान भण्डारण, प्रशोधन, ब्रान्डिङ र बिक्रीको सम्पूर्ण शृंखला निर्माण हुनुपर्छ । जुम्लाको स्याउलाई ताजा फलका रूपमा मात्र होइन, जुस, जाम, सुकुटी तथा अन्य मूल्यवर्द्धित उत्पादनका रूपमा बजारमा लैजान सकिन्छ । मार्सी चामललाई विशिष्ट पहिचान भएको जैविक उत्पादनका रूपमा स्थापित गर्न सकिन्छ । त्यसका लागि गुणस्तर परीक्षण, प्रमाणीकरण, आकर्षक प्याकेजिङ र बजारसँग प्रत्यक्ष सम्बन्ध चाहिन्छ । डोल्पाको यार्चागुम्बा कर्णालीको सम्भावना र संरचनागत कमजोरीको स्पष्ट उदाहरण हो । अन्तर्राष्ट्रिय बजारमा अत्यन्त महँगो मूल्यमा बिक्री हुने यार्चागुम्बा संकलन गर्न स्थानीय नागरिकले कठोर हिमाली जीवन र जोखिमपूर्ण वातावरण सामना गर्छन् । तर त्यसको व्यापारबाट प्राप्त हुने ठूलो लाभ स्थानीय समुदायसम्म पुग्दैन । संकलकले जोखिम लिने, व्यापारीले मूल्य नियन्त्रण गर्ने र राज्यले राजस्वको हिसाब मात्र गर्ने अवस्था रहिरह्यो भने प्राकृतिक स्रोतले स्थानीयलाई समृद्ध बनाउँदैन । यार्चागुम्बाको संकलन, संरक्षण, गुणस्तर परीक्षण, मूल्य निर्धारण र निर्यात व्यवस्थापनमा स्थानीय समुदायलाई अर्थपूर्ण हिस्सेदारी दिनुपर्छ । यही सवाल अन्य जडीबुटीमा पनि लागू हुन्छ । कर्णालीका जंगल र उच्च हिमाली क्षेत्र अनेकौं औषधि तथा सुगन्धित वनस्पतिका भण्डार हुन् । तर जडीबुटी कच्चा पदार्थका रूपमा बाहिर पठाउने र त्यसबाट बनेका औषधि वा सौन्दर्य सामग्री महँगोमा आयात गर्ने अर्थतन्त्र रणनीतिक रूपमा बलियो हुन सक्दैन । स्थानीयस्तरमै प्रशोधन केन्द्र, अनुसन्धान प्रयोगशाला, गुणस्तर मापन र उद्यम विकास गर्न सकिए जडीबुटीले किसान, संकलक र युवालाई रोजगारी दिन सक्छ । प्रकृतिको संरक्षण र आम्दानीबीच सन्तुलन गर्ने नीति नहुँदा भने अनियन्त्रित दोहन हुन्छ । जसले स्रोत नै समाप्त पार्ने जोखिम रहन्छ । कर्णालीलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने सबैभन्दा महत्त्वपूर्ण आधार भनेको पूर्वाधार हो । गुणस्तरीय सडकको अभावले किसानलाई बजारबाट, विद्यार्थीलाई शिक्षाबाट, बिरामीलाई उपचारबाट र उद्यमीलाई लगानीबाट टाढा राखेको सत्य हो । कर्णाली राजमार्ग र कर्णाली करिडोरजस्ता परियोजनाको महत्त्व त्यसकारण बढी छ । तर निर्माणसँगै सडकको गुणस्तर, मर्मत र दिगोपनमा राज्यले ध्यान दिनुपर्छ । पहाडी भूगोलमा हतारमा बनाइएका सडक पहिरोमा बग्ने, वर्षायाममा अवरुद्ध हुने र मर्मतको अभावमा उपयोगहीन हुने समस्या दोहोरिइरहन्छन् । सडकसँगै विद्युत् प्रसारण लाइन, दूरसञ्चार, इन्टरनेट, बजार केन्द्र, भण्डारण गृह र सार्वजनिक सेवा जोडिन सके मात्र करिडोरले आर्थिक रूपान्तरण गर्न सक्छ । दुर्गम जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नु आफैंमा ठूलो उपलब्धि हो । तर त्यसको पूर्ण लाभ त्यतिबेला मात्र प्राप्त हुन्छ, जब स्थानीय उत्पादनले बजार पाउँछ । ऊर्जा कर्णालीको अर्को ठूलो सम्भावना हो । कर्णाली नदी र यसका सहायक नदीहरू जलविद्युत्का दृष्टिले महत्त्वपूर्ण मानिन्छन् । ठूला आयोजना राष्ट्रिय उत्पादन र राजस्वका लागि उपयोगी हुन सक्छन् । ऊर्जा विकासको अर्थ ठूलो आयोजना मात्र होइन । साना जलविद्युत्, सौर्य ऊर्जा, सामुदायिक विद्युतीकरण र भरपर्दो वितरण प्रणाली पनि कर्णालीका लागि उत्तिकै महत्त्वपूर्ण छन् । नियमित बिजुली पुगेपछि फलफूल प्रशोधन, चिस्यान भण्डार, डिजिटल सेवा, सिलाइकटाइ, काठ तथा धातुका साना उद्योगजस्ता उद्यम खुल्न सक्छन् । यसले स्थानीय रोजगारी बढाउँछ र उत्पादनलाई कच्चा पदार्थका रूपमा बाहिर पठाउने बाध्यता घटाउँछ । डिजिटल पहुँच कर्णालीको विकासको आधारभूत पक्ष बनिसकेको छ । कर्णालीको भौगोलिक दूरीलाई सबै अवस्थामा सडकले मात्र छोट्याउन सक्दैन । इन्टरनेट, मोबाइल सेवा र डिजिटल साक्षरताले शिक्षा, स्वास्थ्य, बैंकिङ, सरकारी सेवा र बजार सूचना गाउँसम्म पुर्‍याउन सक्छ । किसानले आफ्नो उत्पादनको मूल्य थाहा पाउन, विद्यार्थीले अनलाइन सामग्रीबाट पढ्न, बिरामीले टेलिमेडिसिनमार्फत विशेषज्ञको सल्लाह लिन र उद्यमीले आफ्नो सामान अनलाइन बेच्न सक्ने अवस्था निर्माण हुनु आवश्यक छ । तर 'डिजिटल कर्णाली' को नारा दिँदैमा डिजिटल विभाजन हट्दैन । धेरै ठाउँमा नेटवर्क कमजोर छ, विद्युत् अनियमित छ, स्मार्टफोन र कम्प्युटर सबैको पहुँचमा छैनन्, अनि डिजिटल सीपको कमी छ । डिजिटल पूर्वाधारलाई सार्वजनिक विद्यालय, स्वास्थ्य चौकी, स्थानीय तह र सहकारीसँग जोड्नुपर्छ । केवल सहर बजारमा फाइबर विस्तार गरेर कर्णाली डिजिटल भएको दाबी गर्न मिल्दैन । दुर्गम गाउँकी महिला, विद्यार्थी, किसान र उद्यमीले डिजिटल सेवा उपयोग गर्न सकेको दिन मात्र यो पहल सार्थक हुनेछ । कर्णालीको इतिहासले पनि वर्तमान विकास बहसलाई दिशा दिन्छ । सिँजा क्षेत्रलाई केन्द्र बनाएर विकसित खस राज्य कुनै समय व्यापार, संस्कृति र राजनीतिक प्रभावको महत्त्वपूर्ण केन्द्र थियो । तिब्बत र भारतबीच हुने व्यापारिक मार्ग, नुन, ऊन, कस्तुरी तथा अन्य वस्तुको आदानप्रदानले यस क्षेत्रलाई समृद्ध बनाएको थियो । तर राज्यहरूको विखण्डन, केन्द्रीकृत शासनको विस्तार र पछिल्ला शासकीय संरचनाले कर्णालीलाई क्रमशः सीमान्तमा धकेल्यो । राणाकालीन कर, जबर्जस्ती श्रम र स्थानीय स्रोतको शोषणले कर्णालीको सामाजिक–आर्थिक जीवनमा गहिरो असर पारेको इतिहास छ । राज्यलाई कर तिर्न, सरकारी अधिकारीको सेवा गर्न र विभिन्न बाध्यताका लागि स्थानीय जनताले आफ्नो सीमित उत्पादन पनि गुमाउनुपर्थ्यो । भोक, कुपोषण र बसाइँसराइ कुनै प्राकृतिक नियति थिएनन् । ती राजनीतिक र आर्थिक उपेक्षाका परिणाम थिए । त्यसैले आज कर्णालीको विकासबारे बहस गर्दा विगतको शोषण र बहिष्करणलाई बुझ्नुपर्छ । इतिहास नबुझी बनाइने विकास योजना फेरि पुरानै असमानताको नयाँ रूप बन्छ । आजको आवश्यकता दान वा राहतमा आधारित कर्णाली होइन । अधिकार, उत्पादन र सम्मानमा आधारित कर्णाली हो । खाद्यान्न सहायता आवश्यक हुन सक्ने आपत्कालीन अवस्था अलग कुरा हो, तर दीर्घकालीन नीति भने आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणमा केन्द्रित हुनुपर्छ । किसानलाई उत्पादनको मूल्य, युवालाई रोजगारी, महिलालाई वित्तीय पहुँच, दलित र सीमान्तकृत समुदायलाई समान अवसर तथा गाउँलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु राज्यको प्राथमिकता हुनुपर्छ । यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अपरिहार्य छ । संघले ठूला पूर्वाधार, नीतिगत स्थिरता र राष्ट्रिय बजारको ढोका खोल्नुपर्छ । प्रदेशले कर्णालीको भूगोलअनुकूल कृषि, पर्यटन, जडीबुटी, सीप र उद्योग नीति बनाउनुपर्छ । स्थानीय तहले नागरिकको वास्तविक आवश्यकता पहिचान गरी योजना कार्यान्वयन गर्नुपर्छ । तीन तहका सरकारबीच जिम्मेवारीको स्पष्ट बाँडफाँट र सहकार्य आवश्यक छ । प्रधानमन्त्रीको कर्णालीप्रतिको चासोले आशा जगाएको छ । मार्सी चामलको बजार, जुम्लाको स्याउको मूल्य, डोल्पाली यार्चागुम्बा संकलकको अधिकार, भरपर्दो सडक, बिजुली र रोजगारीमा हुने सुधारबाट सरकारको परीक्षा हुनेछ । कर्णालीको गहिराइ नाप्ने सही तरिका के हो समयसँगै वालेन्द्र शाह सरकारले बताउँदै जाला । यस प्रदेशलाई राष्ट्रिय अर्थतन्त्रको परिधिबाट केन्द्रतर्फ ल्याउन नीति, लगानी र राजनीतिक इच्छाशक्ति चाहिन्छ । प्रकृतिको सुन्दरता, इतिहासको गौरव र प्रशस्त स्रोत पर्याप्त आधार हुन् । ती आधारलाई स्थानीय जनताको समृद्धि र सम्मानसँग जोड्ने इमानदार प्रयत्न गर्ने नेतृत्वको आवश्यकता छ । वर्तमान सरकारका प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको समस्याको गहिराइ र यो देशको सम्भावनालाई पुँजीवादको केन्द्र न्युयोर्कबाट हेरून् र मनन गरून् कि एक तन्नम गरिब देश र यहाँका जनताले कत्रो भरोसाका साथ उनलाई सत्ताको सयर गराएका छन् । भोजराजपौडल विकास अर्थशास्त्री हुन्। उनले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास-साझेदारसँग विभिन्न मुलुकको आर्थिक विकास र नीतिगत सुधारका क्षेत्रमा काम गरेका छन्। यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
कर्णालीको ‘विकास ब्लुज'
View on original source
공유
보관함
좋아요

(0)댓글

 

관련 오피니언

쿠키 안내

Newshunt는 로그인 상태 유지와 언어 및 국가 설정 기억을 위해 필수 쿠키를 사용하여, 사이트가 기대하신 대로 작동하도록 합니다. 동의하시면, 사용자가 Newshunt를 어떻게 이용하는지 파악하고 지속적으로 개선하기 위해 분석용 쿠키도 사용하고자 합니다.

동의는 분석 기능에만 영향을 미칩니다. 자세한 내용은 개인정보처리방침 or 이용약관.