वीरगन्ज : सामाजिक सञ्जालको दुरुपयोगले पनि पछिल्लो समय मानव बेचबिखनका घटना बढ्दै गएको एक अध्ययनले देखाएको छ।
वीरगन्जमा शुक्रबार आयोजित 'नेपालमा बालबालिका बेचबिखन सम्बन्धी प्रारम्भिक अध्ययन : सुरक्षाकर्मीसँग अध्ययनको निष्कर्ष तथा सुझाव साझा र छलफल' कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकले उक्त कुरा पुष्टि गरेको हो।
कार्यक्रममा न्यू एराका तर्फबाट डा. जीवन बानियाँ र सचिन श्रेष्ठले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा अभिलेखीकरण गरिएका ६५४ जना पीडित तथा प्रभावितको तथ्यांकबारे विश्लेषण गरिएको थियो। अध्ययनअनुसार प्रभावितमध्ये ८१.७ प्रतिशत बालिका र महिला तथा १८ प्रतिशत बालक र पुरुष रहेका छन्।
उक्त अध्ययनले नेपालका प्रमुख सीमा नाकाबाट उद्धार तथा पहिचान गरिएका व्यक्तिको संख्यामा वीरगन्जलाई पनि संवेदनशील नाकाका रूपमा देखाएको छ।अध्ययनमा मनोरञ्जनतर्फबाट २६५, सिमापारबाट १६२,इटा भट्टातर्फ १२१ र घरेलु तर्फबाट १०६ जनाको उद्धार तथा पहिचान गरिएको उल्लेख छ।
उक्त कार्यक्रममा सहभागी सुरक्षा निकायका अधिकारीहरुले मानव बेचबिखनका घटना रोकथाम तथा नियन्त्रणका लागि सीमा नाकाबाट हुने आवतजावतमा निगरानी बढाउनु मात्रै पर्याप्त नभएको बताए ।पछिल्लो समय मानव बेचबिखनको स्वरूप बदलिँदै गएकाले जोखिममा रहेका बालबालिकाको पहिचानदेखि उद्धार, अनुसन्धान र पुनर्मिलनसम्मको प्रणाली बलियो बनाउनुपर्ने उनीहरूको सुझाव थियो ।
विशेषगरी मधेस प्रदेशका दलित, मुस्लिम तथा सीमान्तकृत समुदायका बालबालिका र रसुवामा भएको केही दिन पहिलेको भयानक बिपद्पछि विभिन्न किसिमका प्रलोभन र छलकपटमा पर्ने जोखिममा रहेको पनि उक्त अध्ययनले देखाएको छ। आर्थिक अभावलाई बेचबिखनका लागि प्रयोग गर्ने प्रवृत्तिसँगै सामाजिक सञ्जालमार्फत सुरु हुने सम्बन्ध पनि नयाँ चुनौतीका रूपमा देखिएको छ। बेचबिखनमा संलग्न हुने माध्यम परम्परागत सीमामा मात्र सीमित नरहेको कार्यक्रममा सहभागीहरूले बताए। गाँउघरकै दलाल र बिचौलियाले परिवार वा बालबालिकासँग सम्बन्ध स्थापित गर्ने र त्यसपछि विभिन्न प्रलोभन देखाएर सीमापार लैजाने जोखिम रहेको उनीहरूको भनाइ थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजू कार्कीले अन्तर्राष्ट्रिय स्तरमै बालबालिका बेचबिखनका सञ्जालले नयाँ स्वरूप लिन थालेको बताए। विस्थापित तथा जोखिममा रहेका बालबालिकामाथि विशेष ध्यान दिनुका साथै उद्धारपछि पारिवारिक पुनर्मिलनको प्रक्रियामा स्थानीय एजेन्ट तथा बिचौलियाको प्रभावलाई समेत चिर्नुपर्ने आवश्यकता रहेको उनले बताए। सशस्त्र प्रहरी निरीक्षक दिलीप बस्नेतले सीमा अनुगमनमा खटिने सुरक्षाकर्मीलाई बालबालिकाको पहिचान गर्न आवश्यक प्रविधि र तालिमको अभाव रहेको बताए।उनले सीमावर्ती क्षेत्रका मदिरा पसल, घुम्ती होटल लगायत संवेदनशील स्थानमा निगरानी बढाउनुपर्ने बताए। शङ्कास्पद गतिविधि पहिचान गर्न आवश्यकता अनुसार डग स्क्वाड परिचालन गर्नुपर्ने उनको सुझाव थियो।
कार्यक्रमका सहभागीहरूले जोखिमयुक्त सीमा नाका, अनौपचारिक आवतजावत हुने बाटो तथा बेचबिखनका दृष्टिले संवेदनशील स्थानको व्यवस्थित म्यापिङ गर्नुपर्ने सुझनव दिए।त्यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियमित सूचनाको आदानप्रदानसँगै स्थानीय समुदाय, स्थानीय तह र गैरसरकारी संस्थालाई समेत जोड्नुपर्ने उनीहरूको सुझाव थियो। एट्विनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङले बेचबिखनविरुद्धको अभियानमा सम्बन्धित सबै निकायले आफ्नो भूमिका र जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताइन्।कानुनी तथा नीतिगत सुधारसँगै पालिका तहमा कार्यरत प्रहरीको भूमिकालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
बालबालिकालाई सीमापारबाट उद्धार गरेर नेपाल ल्याउनु मात्रै समस्याको समाधान नभएको भन्दै उनले उद्धारपछि पहिचान, परामर्श, परिवारको खोजी, सुरक्षित पुनर्मिलन र पुनःस्थापनासम्मको प्रक्रिया प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताइन्। माइती नेपाल, पर्साकी प्रमुख गोमा पौडेलले सीमा क्षेत्रमा बालबालिकाको उमेर र पहिचान यकिन गर्ने कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन्। सीमा नाका क्षेत्रमा कम उमेरका बालबालिकाको आवतजावत तथा जोखिम पहिचानमा विशेष ध्यान दिनुपर्ने भन्दै उनले सीमा पार गराउने गतिविधि रोक्न स्थानीय तह र सुरक्षा निकायबीच थप समन्वय आवश्यक रहेको बताइन्।
आफन्त नेपालकी मनु रानाले बेचबिखनको जोखिममा परेका बालबालिकाको पहिचानदेखि उद्धारसम्मका काममा सम्बन्धित निकायबीच समन्वय अझ बलियो बनाउनुपर्ने बताइन्। विशेषगरी सीमा क्षेत्रमा हुने आवतजावत र जोखिमपूर्ण अवस्थाको निगरानी गर्दै उद्धारपछि बालबालिकालाई सुरक्षित परिवार तथा समुदायमा पुनःस्थापना गर्ने प्रक्रियालाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। संरक्षण नेपाल बाराका अध्यक्ष बृजमोहन कुशवाहले भारततर्फ पु¥याइएका बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फर्काउन भारतीय प्रशासनसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
शक्ति समूहकी संस्थापक सदस्य चरीमाया तामाङ र द एशिया फाउण्डेशनकी रीता नेपालीले पनि बेचबिखन नियन्त्रणमा सुरक्षा निकायको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।एट्विनकी उपाध्यक्ष अनुराधा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा जिल्लामा कार्यरत सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि,नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो।
(0)കമന്റുകൾ