पोखरा । गोल्डेन बचत तथा ऋण सहकारी संस्था, पोखरा–८ को १७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । साधारणसभा उद्घाटन गर्दै कास्की क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद बिनाकुमारी गुरुङले गोल्डेन सहकारीले आफ्नो छवि बचाउन सफल भएको बताइन् ।
सांसद गुरुङले सरकारले समस्याग्रस्त सहकारीका सदस्यहरुलाई बचत रकम फिर्ता गर्ने कार्य अगाडि बढाइसकेको हालसम्म १० करोडभन्दा बढी फिर्ता भइसकेको पनि जानकारी दिइन् ।
उनी गोल्डेन सहकारीकी पूर्व उपाध्यक्ष पनि हुन् ।
संस्थाका संस्थापक अध्यक्ष गुणाखर सापकोटाले देशमा आर्थिक संकट रहेको र सहकारी सञ्चालनमा सचेत भइरहनुपर्ने बताए । आर्थिक परिस्थितिकै कारण ऋणीहरुलाई असल ऋणी बन्न चाहेर पनि बन्न नसकेको उल्लेख गरे ।
सभाले रिक्त उपाध्यक्ष पदमा कमला भुजेल र सदस्यमा नारायणप्रसाद अधिकारीलाई चयन गरेको निर्वाचन समिति सदस्य महेन्द्रप्रसाद रिमालले जानकारी दिए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष कृष्णप्रसाद सुवेदीले स्वागत र सचिव ऋषिराम पौडेलले सञ्चालन गरे । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका सदस्य गीतामणि पाण्डेले प्रस्तुत गरे ।
कुल १ हजार २६२ शेयर सदस्य रहेको गोल्डेन सहकारीको शेयर पुँजी ६ करोड ८८ लाख २२ हजार रुपैयाँ रहेको छ । यसैगरी, बचत संकलन २५ करोड ५२ लाख, कर्जा लगानी २४ करोड १५ लाख र कुल सम्पत्ति ४६ करोड रुपैयाँ रहेको जनाइएको छ । सहकारीका व्यवस्थापक दीपक पन्तका अनुसार जगेडा कोष ४ करोड, जोखिम कोष ६ करोड २५ लाख र घाटापूर्ति २८ लाख रुपैयाँ छ ।
(0)കമന്റുകൾ