सम

सम्पादकीय

‘फ्लाई दुबई' ले पोखरामा जगाएको आशा

Image
सरकारले त्रिभुवन विमानस्थललाई केन्द्रमा राखेर तयार भएका कानुनहरूमा आवश्यक संशोधन गर्नुपर्छ । 'जीटुजी' प्रक्रियामार्फत हवाई सेवा सम्झौता गर्नुपर्छ । सरकारले तीनवटै (काठमाडौं, पोखरा र भैरहवा) विमानस्थलाई एकसाथ अघि बढाउने रणनीति अख्तियार गर्नुपर्छ । नेपाललाई हस्तान्तरण गरिएको साढे चार वर्षपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान सम्पन्न भएको छ । चिनियाँ ऋणमा निर्माण गरिएको यस विमानस्थलमा लामो समयसम्म चार्टर्ड उडान मात्रै हुने गरेको थियो । ठूलो वैदेशिक ऋण लिएर निर्माण गरिए पनि व्यावसायिक सञ्चालनका लागि दीर्घकालीन योजना बनाउन नसकेकामा राजनीतिक नेतृत्वको आलोचना पनि हुँदै आएको थियो । त्यसले गर्दा वैदेशिक ऋण र ठूला विकास आयोजनामाथि नै प्रश्न उठ्न थालिरहेको थियो । फ्लाई दुबईले बुधबार पोखरा विमानस्थलमा उल्लेख्य यात्रुसहित सफल अवतरण र उडान गरेपछि भने नयाँ आशा जागेको छ । फ्लाई दुबईको सुरुवातसँगै आगामी दिनमा अन्य विमान कम्पनीहरूले पनि पोखरालाई गन्तव्य बनाउने र त्यहाँको अवतरण–उडानलाई चलायमान बनाउने अपेक्षा गर्न सकिन्छ । यद्यपि, यसका लागि सरकारले पर्याप्त गृहकार्य गर्नु अनिवार्य छ । पोखरा र भैरहवाका विमानस्थल नेपालमा पछिल्लो दशकमा निर्माण भएका ठूला विमानस्थल त हुन् नै, निकै महत्त्व दिइएका आयोजना पनि हुन् । वैदेशिक ऋण र ठूलो पुँजी लगानी भएका कारण ती विमानस्थलको सफल सञ्चालनबाट नेपालको अर्थतन्त्रले गति पाउने र बाह्य प्रतिष्ठा बढ्ने आशा गरिएको छ । नेपाल जस्तो आर्थिक रूपमा कमजोर राष्ट्रले प्राथमिकता दिने आयोजनाले अन्ततः अर्थतन्त्रलाई गति दिने, रोजगारी सिर्जना हुने, पुँजी निर्माण हुने उद्देश्य राख्छन् । ती उद्देश्य त्यतिबेला पूरा हुन्छ, जतिबेला त्यसको सञ्चालन प्रभावकारी ढंगबाट हुन सक्छ । एउटा सफल आयोजनाले अन्य आयोजनामा लगानी गर्ने आत्मविश्वास बढाउँछ । यद्यपि, भैरहवा र पोखरा विमानस्थलको अनुभव सुखद हुन सकेको छैन । ती विमानस्थलमा जुन ढंगबाट विमानको चाप बढ्ने र उडानको हब बन्ने ठानिएको थियो, त्यस्तो स्थिति देखिएको छैन । विमान कम्पनीहरूले कुनै पनि विमानस्थलबाट सेवा सुरु गर्न र निरन्तरता दिनका लागि व्यापार हुने सुनिश्चित हुनुपर्छ । विमानका लागि यात्रु चाहिन्छ । यात्रुलाई सोही विमानस्थल प्रयोग गर्न उत्प्रेरित र सहज बनाउनुपर्छ ।भैरहवा विमानस्थलमा यसअघि पटकपटक केही समयका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय कम्पनीका विमानले सेवा दिए पनि निरन्तरता पाउन सकेन । कात्तिक २०८१ मा कतार एयरवेज, जजिरा एयरवेज, फ्लाई दुबई तथा नेपाल एयरलाइन्सका विमानहरूले उडान तथा अवतरण गरेका थिए । त्यतिबेला विमानस्थलको चाप बढ्ने अपेक्षा गरिएको थियो । तर, केही महिनापछि उनीहरूले सेवा विच्छेद गरे । पोखरामा त व्यावसायिक उडान नै सुरु गर्न सकिएको थिएन । त्यसैले पोखरामा फ्लाई दुबईले सुरु गरेको व्यावसायिक उडानलाई निरन्तरता दिनका लागि भैरहवाको अनुभवबाट पाठ सिक्न सकिन्छ । मुख्यतः विश्वभर नै नयाँ विमानस्थलमा विमानको चाप सिर्जना गर्ने काम प्रारम्भमा कठिन नै हुने गरेको छ । त्यसका लागि सरकारदेखि निजी क्षेत्रसम्मको सहकार्य अनिवार्य हुन्छ । सरकारले विमान कम्पनीहरूलाई आकर्षित गर्न छुट/सहुलियतका कार्यक्रम ल्याउनुपर्छ । पूर्वाधारमा लगानी गर्नुपर्छ । निजी क्षेत्रले लगानी बढाउनुपर्छ । विमान कम्पनीहरूले कुनै पनि विमानस्थलबाट सेवा सुरु गर्न र निरन्तरता दिनका लागि व्यापार हुने सुनिश्चित हुनुपर्छ । विमानका लागि यात्रु चाहिन्छ । यात्रुलाई सोही विमानस्थल प्रयोग गर्न उत्प्रेरित र सहज बनाउनुपर्छ । यसका लागि सरकारी सेवाहरू सम्बन्धित विमानस्थल रहेकै सहर/स्थानमा उपलब्ध हुनुपर्छ । भिसासँग जोडिएका संयन्त्र तथा सेवालाई त्यहाँ पनि उपलब्ध गराउनुपर्छ । नेपालीको वैदेशिक यात्रा मूलतः श्रमका लागि हो । त्यसैले श्रमसम्बन्धी कार्यालय, ट्राभल एजेन्सी, म्याननपावर कम्पनी त्यहीँ चाहिन्छ । साथै, स्वास्थ्य जाँच गर्ने आधिकारिक संस्था, कृषि क्वारेन्टाइन तथा पशु क्वारेन्टाइन जस्ता कार्यालय स्थापना हुनुपर्छ । सामान राख्ने गोदामदेखि आयात–निर्यातसँग जोडिएका कार्यालयसम्म स्थापना हुनुपर्छ । विमान बिग्रिँदा मर्मत सेवा उपलब्ध हुनुपर्छ । विमानको सेवा अवरुद्ध हुँदा यात्रुलाई राख्ने स्तरीय होटल चाहिन्छ । यात्रुहरूलाई ल्याउन–लैजान राम्रा गाडी चाहिन्छ । हवाई इन्धन डिपो चाहिन्छ । यसमा सरकार र निजी क्षेत्र दुवैले आ–आफ्ना क्षेत्रमा काम गर्नुपर्छ । नयाँ विमानस्थलबाट सेवा सुरु गर्दा फाइदा लिन सक्ने गरी सरकारले विमान कम्पनीहरूलाई छुट तथा सहुलियत घोषणा गर्न सक्छ । जस्तो कि, ल्यान्डिङ पार्किङ तथा नेभिगेसन शुल्कमा छुट/सहुलियत दिन सकिन्छ । पोखरामा नियमित उडान भर्ने कम्पनीलाई काठमाडौंमा सुविधा थप्न सकिन्छ । सरकारले दिने छुट/सहुलियतका अतिरिक्त निजी क्षेत्र पनि अगाडि बढ्नुपर्छ । पोखरा पर्यटकीय क्षेत्र भएकाले त्यहाँको विमानस्थललाई पर्यटक अवतरण र उडान हुने केन्द्र बनाउन सकिन्छ । त्यसका लागि सरकारले निजी क्षेत्रको पनि साथ लिएर अघि बढ्नुपर्छ । यतिबेला पोखराका पर्यटन व्यवसायी लगायतका निजी क्षेत्रले यात्रुलाई लक्षित गर्दै विभिन्न छुट तथा सुविधा पनि घोषणा गरेका छन् । अझै आकर्षक र ब्रान्डिङ गर्न सकिने प्याकेजहरू घोषणा गर्न सकिन्छ । त्यसले पर्यटकलाई उत्साहित बनाउन सक्छ । विभिन्न देशमा रहेका नेपाली दूतावासहरूले विमानलाई पोखरा पुर्‍याउन कूटनीतिक पहल पनि गर्नुपर्छ । यसअघि भैरहवा विमानस्थलले पर्याप्त व्यापार सिर्जना गर्न नसक्दा प्रतिष्ठित विमान कम्पनीले सेवालाई निरन्तरता दिन सकेनन् । त्यही दुःखान्त पोखरामा नहोस् भनेर सरकार र निजी क्षेत्र सुरुदेखि नै सक्रिय हुनुपर्छ । नेपालको आलोचनायोग्य पक्ष हो– जुन ठाउँको व्यक्ति मन्त्री बन्यो, त्यही ठाउँलाई केन्द्रमा राखेर काम गर्ने । यतिबेला पोखराबाटै निर्वाचित भएका पर्यटनमन्त्री छन् । त्यसैले उनले पोखरा विमानस्थललाई कम्तीमा आफू पदमा रहुञ्जेल जसोतसो चलाउन कसरत गर्न सक्ने सम्भावना छ । तर उनले त्यसलाई निरन्तर चल्न सक्ने स्थिति निर्माण गर्नुपर्छ । साथै, भैरहवा विमानस्थल सञ्चालनका लागि पनि गृहकार्य गर्नुपर्छ । त्यसका लागि आवश्यक कार्यालय, सुविधा र पूर्वाधारमा काम गर्नुपर्छ । साथै, सरकारले त्रिभुवन विमानस्थललाई केन्द्रमा राखेर तयार भएका कानुनहरूमा आवश्यक संशोधन गर्नुपर्छ । 'जीटुजी' प्रक्रियामार्फत हवाई सेवा सम्झौता गर्नुपर्छ । सरकारले तीनवटै (काठमाडौं, पोखरा र भैरहवा) विमानस्थलाई एकसाथ अघि बढाउने रणनीति अख्तियार गर्नुपर्छ । सम्पादकीयकान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
‘फ्लाई दुबई' ले पोखरामा जगाएको आशा
View on original source
പങ്കിടുക
ആർക്കൈവ്
ലൈക്ക്

(0)കമന്റുകൾ

 

ബന്ധപ്പെട്ട അഭിപ്രായം

കുക്കികളെക്കുറിച്ചുള്ള ഒരു കുറിപ്പ്

നിങ്ങളെ സൈൻ ഇൻ ചെയ്ത നിലയിൽ നിലനിർത്താനും നിങ്ങളുടെ ഭാഷയും രാജ്യവും ഓർമ്മിക്കാനും Newshunt ആവശ്യമായ കുക്കികൾ ഉപയോഗിക്കുന്നു. നിങ്ങളുടെ അനുമതിയോടെ, ആളുകൾ Newshunt എങ്ങനെ ഉപയോഗിക്കുന്നുവെന്ന് മനസ്സിലാക്കാനും കാലക്രമേണ സേവനം മെച്ചപ്പെടുത്താനും അനലിറ്റിക്സ് കുക്കികളും ഉപയോഗിക്കാൻ ഞങ്ങൾ ആഗ്രഹിക്കുന്നു.

അംഗീകരിക്കുന്നത് അനലിറ്റിക്സിനെ മാത്രമേ ബാധിക്കൂ. കൂടുതൽ വിവരങ്ങൾക്ക് ഞങ്ങളുടെ സ്വകാര്യതാ നയം or നിബന്ധനകളും വ്യവസ്ഥകളും.