लोकतान्त्रिक यात्राको उपलब्धि र अधुरो जिम्मेवारी

लोकतान्त्रिक यात्राको उपलब्धि र अधुरो जिम्मेवारी
View on original source
श्रेणी: Politics
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
कुनै समय नेपालमा नागरिकले बोल्न पाउनु नै राजनीतिक परिवर्तनको ठूलो आकांक्षा थियो। शासनमाथि प्रश्न उठाउँदा दण्डित हुनुपर्ने व्यवस्थामा स्वतन्त्रताको अर्थ अत्यन्त ठोस थियो। त्यो केभन्दा निर्भय भएर आफ्नो कुरा भन्न पाउनु, संगठित हुन पाउनु र आफूलाई शासन गर्ने व्यक्ति रोज्न पाउनु। त्यस अधिकारका लागि मानिसले जागिर गुमाए, परिवारबाट छुट्टिए, जेलको ढोका पार गरे र जीवनसमेत अर्पण गरे। आज सार्वजनिक जीवनमा हामीले सहज ठानेका धेरै अधिकारको जगमा त्यस्तै असहज समयको त्याग छ। तर लोकतन्त्रको यात्रा त्यहीँ पूरा हुँदैन, जहाँ नागरिकले सरकारको आलोचना गर्न पाउँछ। उसले आलोचना गरेको समस्या समाधान हुने बाटो पनि भेट्नुपर्छ। अस्पतालको ढोकामा उपचारको पालो कुर्दै गरेको मानिस, उत्पादनको मूल्य नपाएर अर्को वर्ष खेती गर्ने कि नगर्ने भन्ने दोधारमा परेको किसान र पढाइ सकेर आफ्नो श्रमको ठाउँ खोजिरहेको युवाका लागि लोकतन्त्रको अर्थ दैनिक जीवनसँग गाँसिएको हुन्छ। अधिकारले उसलाई बोल्ने साहस दिन्छ। जवाफदेही शासनले आफ्नो आवाजको अर्थ छ भन्ने भरोसा दिन्छ। नेपाली कांग्रेसको १५औं महाधिवेशन यही दुई अनुभवको संगममा उभिनुपर्छ। कठिन संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको सम्मान र ती उपलब्धिलाई नागरिकको जीवनसम्म पुर्‍याउन बाँकी जिम्मेवारीको स्वीकार। महाधिवेशनको राजनीतिक गहिराइ त्यसले कति ठूलो उत्सव मनाउँछ भन्नेमा निर्भर हुँदैन। आफ्नो इतिहासलाई कति इमानदारीपूर्वक पढ्छ, वर्तमानलाई कति निर्भयतापूर्वक प्रश्न गर्छ र भविष्यका लागि कति विश्वसनीय बाटो खोल्छ भन्नेबाट त्यसको महŒव स्थापित हुन्छ। आजको कठिन प्रश्न उपलब्धि भए कि भएनन् भन्ने मात्र छैन। उपलब्धि हुँदाहुँदै नागरिकको ठूलो हिस्साले आफ्नो जीवन किन असुरक्षित ठानिरहेको छ भन्ने पनि छ। घरमा बिरामी पर्दा वर्षौंको बचत सकिने डर, सन्तानको शिक्षा धान्न बढ्दै जाने ऋण, रोजगारीका लागि परिवार छुट्टिनुपर्ने बाध्यता र सामान्य सरकारी काममा समेत पहुँच खोज्नुपर्ने अनुभवले राजनीतिक परिवर्तनको अर्थमाथि प्रश्न उठाउँछन्। यी प्रश्नलाई व्यवस्था विरोधी भनेर पन्छाउँदा लोकतन्त्रको पक्ष कमजोर हुन्छ। व्यवस्थालाई जीवनसँग जोड्ने सुधारको मागका रूपमा सुन्दा यसको आधार बलियो हुन्छ। एउटा परिवार साँझ बसेर महिनाको खर्च मिलाउँदा राष्ट्रिय अर्थतन्त्रको वास्तविक परीक्षा भइरहेको हुन्छ। त्यहाँ बजेटको आकारभन्दा औषधिको मूल्य महत्वपूर्ण हुन्छ। विकासको घोषणाभन्दा छोराछोरीले पढ्ने विद्यालयको गुणस्तर निर्णायक हुन्छ। देशको भविष्यबारे गरिएको भाषणभन्दा अर्को महिना काम पाइन्छ कि पाइँदैन भन्ने चिन्ता गहिरो हुन्छ। राजनीति यस्ता घरभित्र प्रवेश गर्न नसक्दा नागरिकको भाषाबाट टाढिन्छ। कांग्रेसले आफ्नो चिन्तनको सुरुआत यही सामान्य जीवनबाट गर्नुपर्छ। लोकतन्त्रको अधुरोपन बुझ्दा राजनीतिक नेतृत्वको जिम्मेवारी स्पष्ट हुनुपर्छ। सबै समस्या इतिहासलाई जिम्मा लगाएर वर्तमान नेतृत्व उम्कन सक्दैन। सरकारमा सहभागी भएको, नीति बनाएको र सार्वजनिक नियुक्तिमा प्रभाव राखेको दलले उपलब्धिसँगै कमजोरीको हिस्सा पनि ग्रहण गर्नुपर्छ। कांग्रेसले आफ्नै निर्णयको समीक्षा गर्दा कुन अवसर गुमायो, कहाँ गलत प्राथमिकता रोज्यो र कुन व्यवहारले सार्वजनिक विश्वास घटायो भन्ने खुलाउन सक्नुपर्छ। आत्मसमीक्षाले नेतृत्वको प्रतिष्ठा घटाउँदैन। गल्ती स्वीकार गरेपछि सुधारको मूल्य चुकाउन तयार देखिनु त्यसको वास्तविक परीक्षा हो। नागरिकले लोकतन्त्रसँग धेरै मागेका छैनन्। उनीहरूले लोकतन्त्रले आफैं गरेका वाचा सम्झाइरहेका छन्। यसैले १५औं महाधिवेशनमा नेतृत्व चयन र राजनीतिक उत्तरदायित्व एउटै बहसका विषय बन्नुपर्छ। कसले जित्छ भन्ने प्रश्नसँग उसले के बदल्छ, कुन प्रक्रियाबाट बदल्छ र कामको हिसाब कहिले दिन्छ भन्ने प्रश्न जोडिनुपर्छ। प्रतिनिधिले उम्मेदवारको सम्बन्ध, लोकप्रियता र संगठनात्मक पहुँचसँगै उसको विचारको स्पष्टता, निर्णयको विवेक र प्रतिकूल अवस्थामा पनि नियम मान्ने चरित्र जाँच्न पाउनुपर्छ। महाधिवेशनले प्रतिस्पर्धालाई सम्मानपूर्ण बनाउँदा त्यसपछिको सहकार्यका लागि पनि आधार तयार हुन्छ। यो अवसरमा कांग्रेसले आफ्ना कार्यकर्ताको जीवनतिर फर्केर हेर्न आवश्यक छ। पार्टीको इतिहासमा शीर्ष नेताका नाम लेखिएका छन्। त्यस इतिहासलाई सम्भव बनाउने असंख्य कार्यकर्ताको श्रम भने गाउँका बाटा, पुराना बैठकस्थल र परिवारका सम्झनामा बाँचेको छ। कसैले संगठन चलाउन आफ्नो समय दियो। कसैले अप्ठ्यारोमा साथीको घर सम्हाल्यो। कसैले हारको बेलामा पनि झण्डा थन्क्याएन। उनीहरूको निष्ठाको उचित सम्मान पार्टीभित्र बोल्ने अधिकार, निष्पक्ष अवसर र निर्णयमा वास्तविक सहभागिताबाट हुन्छ। सदस्यता समयमै पाउने कि नपाउने भन्ने कुरा कुनै नेतासँगको निकटताले तय गर्न थाल्यो भने आन्तरिक लोकतन्त्रको जग कमजोर हुन्छ। फरक मत राख्दा अवसर गुम्ने डर भयो भने बैठकमा सहमति देखिए पनि संस्थाभित्र विश्वास रहँदैन। विधानको पालना, निष्पक्ष अधिवेशन, स्पष्ट आर्थिक हिसाब र सुनुवाइको भरपर्दो प्रक्रियाले कार्यकर्तालाई पार्टी आफ्नो पनि हो भन्ने अनुभव दिन्छ। कांग्रेसलाई सबल बनाउने संगठनात्मक सुधार यहीँबाट सुरु हुनुपर्छ। तर कार्यकर्ताको सम्मान र राज्यमा विशेष सुविधा पाउने अपेक्षाबीच स्पष्ट सीमा चाहिन्छ। कांग्रेसको सदस्य भएकै कारण कसैले सार्वजनिक अवसरमा अग्राधिकार पाउनु हुँदैन। कांग्रेसलाई मत नदिएको नागरिकले पनि राज्यसँग उही सम्मान र सेवा पाउनुपर्छ। दलले आफ्ना समर्थकलाई नियमभन्दा माथि राख्न थालेपछि उसले समाजसँग समानताको वाचा गर्न सक्दैन। कार्यकर्ताको लोकतान्त्रिक गौरव निष्पक्ष राज्य निर्माणमा आफ्नो योगदान देख्न पाउँदा बढ्छ। मतदातासँगको सम्बन्धमा पनि यही परिपक्वता आवश्यक छ। नागरिकको मत कुनै दलको स्थायी सम्पत्ति हुँदैन। अघिल्लो पटक समर्थन गरेको व्यक्तिले अर्को पटक विकल्प रोज्न सक्छ। त्यस निर्णयमा निराशा, नयाँ अपेक्षा, असहमति वा विवेकपूर्ण मूल्यांकन हुन सक्छ। कांग्रेसले मत परिवर्तन गर्ने नागरिकलाई दोष लगाउनुभन्दा उनको अनुभव बुझ्नुपर्छ। लोकतन्त्रमा फर्केर आउने बाटो सम्मानले खुल्छ। अपमान, आशंका र नैतिक दबाबले त्यो बाटो साँघुरो पार्छ। समाजमा राजनीतिक चेतना निर्माण हुने माध्यम पनि बदलिएका छन्। आजको नागरिकले दलको प्रशिक्षणबाट मात्र आफ्नो धारणा बनाउँदैन। विद्यालय, कामको अनुभव, विदेशमा देखेको सार्वजनिक सेवा, सामाजिक सञ्जाल र आफ्नै घरको संघर्षबाट राजनीति बुझ्छ। उसको प्रश्न पुरानो संगठनात्मक भाषामा नआउन सक्छ। कांग्रेसले सुन्ने क्षमता बढाउनुपर्छ। नयाँ पुस्तालाई निर्णयको जिम्मेवारी दिनु र अनुभवी पुस्ताको ज्ञान संस्थागत रूपमा हस्तान्तरण गर्नु दुवै आवश्यक छन्। उमेरले मात्रै दूरदृष्टि प्रमाणित गर्दैन। बदलिएको समाजलाई बुझ्ने र सिकिरहने तत्परताले गर्छ। जुम्लाको स्याउले बजार पुग्नुअघि गुणस्तर, भण्डारण र ढुवानीको व्यवस्था खोज्छ। झापाको धानले सिँचाइसँगै समयमै मल र उचित मूल्यको भरोसा खोज्छ। सानो उद्योग चलाउने व्यक्तिले कार्यालयपिच्छे फरक व्याख्या हुने नियमबाट मुक्ति खोज्छ। यी विषयमा समाधान दिन सक्ने आर्थिक राजनीतिले रोजगारीको आधार बनाउँछ। कांग्रेसको विकास दृष्टि घोषणाबाट अघि बढेर उत्पादनको वास्तविक अवरोध हटाउने काममा देखिनुपर्छ। सीमित सार्वजनिक पैसाको उपयोग गर्दा कुन खर्चले नागरिकको क्षमता बढाउँछ भन्ने प्रश्न केन्द्रमा रहनुपर्छ। सत्ताबाहिर रहँदा कांग्रेसले लोकतन्त्रको गुणस्तर सुधार्ने पर्याप्त काम गर्न सक्छ। संसद्मा तथ्यसहित प्रश्न उठाउनु, सार्वजनिक खर्च जाँच्नु, अधिकार उल्लंघनमा उभिनु र सरकारको प्रस्तावभन्दा राम्रो विकल्प प्रस्तुत गर्नु जिम्मेवार प्रतिपक्षको काम हो। नागरिकको हितमा भएको कामलाई समर्थन गर्दा प्रतिपक्ष कमजोर हुँदैन। गलत काममा आफ्नो दलका व्यक्ति संलग्न भए पनि एउटै मापदण्ड लागू गर्न सक्नुले यसको विश्वसनीयता बढाउँछ। सत्ता प्राप्त गर्ने आकांक्षाको औचित्य सत्ता प्रयोग गर्ने प्रस्तावित चरित्रबाट प्रमाणित हुनुपर्छ। अबको जिम्मेवारीमा प्रकृति र प्रविधिका प्रश्न पनि जोडिएका छन्। बाढीले बगाएको खेत, सुक्दै गएको पानीको स्रोत र असुरक्षित बस्तीलाई विकासको मूल बहसमा ठाउँ चाहिन्छ। त्यस्तै, सरकारी सेवा फोनबाट उपलब्ध हुँदा फोन चलाउन नसक्ने नागरिकको बाटो बन्द हुनु हुँदैन। कृत्रिम बौद्धिकताको उपयोगले काम सहज बनाउँदा मानिसको सीप, रोजगारी र व्यक्तिगत विवरणको सुरक्षाबारे सोच्नुपर्छ। भविष्यको तयारी भनेको नयाँ साधन अपनाउँदा त्यसको लाभ कसले पाउँछ र कसलाई पछि छोडिन्छ भन्ने हेर्नु पनि हो। लोकतान्त्रिक यात्राले हामीलाई आफ्नो भविष्यबारे निर्णय गर्ने अधिकार दिएको छ। त्यो अधिकार प्रयोग गरेर कस्तो समाज बनाउने भन्ने जिम्मेवारी अहिलेको पुस्ताको हातमा छ। कांग्रेसले यस जिम्मेवारीलाई ग्रहण गर्दा इतिहासको गौरवसँगै सत्ता, संगठन र आफ्नै अभ्यासमाथि प्रश्न उठाउने साहस बोकेर अघि बढ्नुपर्छ। नागरिकले फेरि भरोसा गर्ने आधार त्यही साहसबाट बन्न सक्छ। भोलि आउने पुस्ताले हाम्रो समयलाई सम्झँदा कति पद बाँडिए भन्ने विवरण खोज्ने छैन। उसले पाएको विद्यालय, न्याय, कामको अवसर र सार्वजनिक जीवनको मर्यादामा हाम्रो निर्णयको परिणाम भेट्नेछ। हामीले लोकतान्त्रिक अधिकारलाई कति सुरक्षित राख्यौं र त्यसको फल कति फराकिलो समाजसम्म पुर्‍यायौं भन्नेबाट हाम्रो मूल्यांकन हुनेछ। त्यस दिन इतिहासको सम्झना वर्तमानको कर्मसँग जोडिनेछ। कार्यकर्ताको निष्ठाले नयाँ अर्थ पाउनेछ। आम नागरिकले राजनीतिक परिवर्तन आफ्नो घरसम्म आइपुगेको अनुभव गर्न थाल्नेछ। लोकतान्त्रिक यात्राको अर्को सार्थक अध्याय त्यहीँबाट खुल्नेछ। महर, नेपाली कांग्रेसका नेता हुन् ।

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.