काठमाडौं : कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा चलिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने पार्टीको आफ्नै महाधिवेशन सम्पन्न गर्ने तयारीमा केन्द्रित भएको छ। गगन थापा नेतृत्वको पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नभई देउवा पक्षले वडा तहदेखि नै समानान्तर संगठनात्मक प्रक्रिया अघि बढाएको हो।
देउवा भने आफू निकट बाँकी रहेका केही नेतासँग अदालतको फैसला आफ्नै पक्षमा आउने भन्दै उत्साह भरिरहेका छन्। उनी निकट एक नेता भन्छन्, 'अदालतको फैसला आफ्नै पक्षमा आउँछ भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ।'
देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। त्यसका लागि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरिएको हो। निर्वाचन समितिका अनुसार पहिलो दिनमात्रै ३ हजार १ सय ९१ वडामा अधिवेशन सम्पन्न भएको छ। बाँकी वडामा पनि अधिवेशन प्रक्रिया अघि बढाइएको छ।
देउवा पक्षको महाधिवेशन तयारीको समन्वय चुनदेवीस्थित सम्पर्क कार्यालयबाट भइरहेको छ। पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा महाधिवेशन तयारी अघि बढाइएको छ। देउवा पक्षले ५६ जिल्लामा निर्वाचन संयोजकसमेत खटाएको थियो।
देउवा पक्षका नेताहरूले आफूहरू विभाजनका लागि नभई पार्टीको वैधानिक निरन्तरताका लागि समानान्तर महाधिवेशनमा जानुपरेको दाबी गर्दै आएका छन्। नेता प्रकाशशरण महतले एकताको महाधिवेशनका लागि अन्तिमसम्म प्रयास गरे पनि सम्भव नभएपछि आपत्कालीन रूपमा महाधिवेशनको तयारी गर्नुपरेको बताएका छन्। अर्का नेता एनपी साउदले पनि अर्को पक्ष महाधिवेशनमा अघि बढेपछि आफूहरू समानान्तर प्रक्रियामा जानुपर्ने बाध्यता आएको बताएका छन्।
देउवा पक्षले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई चुनौती दिँदै १४औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वकै कार्यसमिति पार्टीको वैधानिक निरन्तरता भएको दाबी गरिरहेको छ। कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतको अन्तिम फैसलालाई निर्णायक मान्नुपर्ने देउवा पक्षको तर्क छ।
सर्वोच्च अदालतले यसअघि गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने फैसलाको पुनरावलोकनका लागि निस्सा दिएपछि देउवा पक्षले आफ्नो संगठनात्मक प्रक्रिया अघि बढाएको हो। पार्टी सभापतिकै हैसियतमा समानान्तर क्रियाकलाप चलाइरहेका देउवा गाउँदेखि केन्द्रसम्मका इमानदार, त्यागी, अवसर नपाएका, पुराना र नयाँ कार्यकर्ताको साथ लिएर अगाडि बढ्ने लक्ष्य साथ सक्रिय रहेको उनी निकट कांग्रेसका युवा नेता बद्री सिग्देलले बताए।
कांग्रेसको शुभेच्छुक पत्रकार संस्था नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष समेत रहेका सिग्देलले देउवा अहिले दिनरात देशभरका कार्यकर्ताकै सम्पर्कमा बस्दै न्यायालयले गर्ने निर्णय कुरिरहेको जानकारी दिए। 'अदालतले आफ्नो पक्षमा निर्णय गरेपछि सबै फर्कने र साथ पाउनेमा उहाँ (देउवा ढुक्क हुनुहुन्छ। प्रचलित नियम, कानुन र तथ्यलाई सबैले स्वकार्नुपर्ने बताउँदै देउवा पुनरावलोकनको बाटोमार्फत कांग्रेसको नेतृत्व पुनर्जीवित हुनेमा आशावादी हुनुहुन्छ, सिग्देलले भने।
देउवा विदेशबाट फर्किए लगत्तै काठमाडौंको चुनदेवीस्थित पार्टी कार्यालयमात्रै चलाइरहेका छैनन् उनले वडादेखि केन्द्रसम्मको महाधिवेशन तयारीमा जुटेका छन्। लामो समयसम्म सँगसँगै काम गरेका पार्टीका नेता एकपछि अर्को गर्दै छोडेर गएका प्रति त्यति ध्यान छैन। आजकल भेटघाट भइरहेका नेता कार्यकर्तासँग देउवा भन्छन्, उनीहरू आए, लिए अनि गए।' संस्थापन गगन थापाले पार्टी मिलाउन कुनै प्रयास नगरेको बरु हुँदै नभएका प्रचारमा लागेको भेटघाटमा देउवाले बताउँदै आएका छन्।
अदालतमा विचाराधीन मुद्दाको छिनोफानो नभई महाधिवेशनको हतारोले कार्यकर्तामा संशय पैदा गरेको देउवाको जिकिर छ। आधा कांग्रेस र खासगरी युवाले देशको राजनीतिक घटना सबै बुझेका छन् भन्दै देउवाले अहिले उनीहरू दुखित बनेको बताउँदै आएका छन्। 'अदालतले पञ्चायती व्यवस्थामा त न्याय दिएको छ। अहिले त लोकतन्त्र छ। अदालत पूर्ण स्वतन्त्र र जिम्मेवार छ। अदालतको निर्णयपछि पार्टी एक हुन्छ र सबैलाई मिलाएर लैजान्छौं, देउवाले निकटस्थहरूसँग भन्दै आएका छन्– 'मलाई पद होइन न्याय चाहिएको छ। त्यसैले बलियो र एकतापूर्ण कांग्रेस हस्तान्तरण गर्न चाहन्छु।'
(0)टिप्पणीहरू