काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको उपसभापति पदमा निर्वाचित भएपछि ई. मधु आचार्यले आफूहरूले उठाएको पार्टी परिवर्तन र रूपान्तरणको आवाजलाई कार्यकर्ताहरूले अनुमोदन गरेको बताएका छन् । विजयी भए लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्राप्त मतले आफूहरूलाई पार्टी बदल्न थप जिम्मेवार बनाएको उल्लेख गरे ।
आफूले उठाएका एजेन्डालाई महाधिवेशनले स्वीकार गरेको बताउँदै उनले भने, 'पार्टीभित्र जुन परिवर्तन र रूपान्तरणको आवाज हामीले उठाएर आयौँ, त्यसलाई साथीहरूले अनुमोदन गर्नुभयो । जुन एजेन्डामा काम गर्ने भनेर हामीले कबुल गरेका थियौँ, त्यसका लागि आधार प्रदान गर्नुभएको छ । अब त्यो पूरा गर्न हामीलाई अझ बढी जिम्मेवार बनाइएको छ ।' जनता र पार्टीका साथीहरूको ठुलो भरोसा मतका रूपमा प्राप्त भएको भन्दै उनले त्यो भरोसा पूरा गर्न बढीभन्दा बढी मिहिनेत र ऊर्जाशील भएर पार्टी बदल्न काम गर्ने प्रतिबद्धता जनाए ।
पार्टीबाहिर रहेका असन्तुष्ट समूह तथा अन्य जनमतलाई एकजुट बनाउनेबारे सोधिएको प्रश्नमा उपसभापति आचार्यले विगतदेखि पार्टीबाहिर रहेका साथीहरूलाई पुनः संगठित गर्नुपर्ने बताए । त्यसैगरी, लोकतन्त्रवादी भएर पनि कुनै पार्टीमा आबद्ध नभएको ठुलो जनमतलाई समेत कांग्रेससँग जोड्न आवश्यक रहेको उनको भनाइ थियो ।
विशेष गरी नयाँ पुस्ताको चर्चा गर्दै आचार्यले मुलुक परिवर्तनको एजेन्डासहित सडकमा रहेका 'जेनजी' पुस्तालाई पार्टीसँग जोड्नुपर्नेमा जोड दिए । उनले भने, 'मुलुकको परिवर्तनका लागि एजेन्डासहित आएका जेनजी पुस्ताका अपेक्षाहरू अहिले पूरा नभएर उनीहरू सडकमा छन् । उनीहरूलाई सडकबाट कांग्रेसभित्र ल्याएर एजेन्डामा सँगै सहकार्य गर्ने वातावरण बनाउन क्रियाशील हुनुपर्छ भन्ने जिम्मेवारी मैले महसुस गरेको छु । '
(0)टिप्पणीहरू