न्युयोर्कका मेयर ममदानीद्वारा तिहारको शुभकामना

न्युयोर्कका मेयर ममदानीद्वारा तिहारको शुभकामना
View on original source
श्रेणी: Entertainment
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो
सिटी हलमा मेयर ममदानी। नोभेम्बर ४, २०२६। फोटो: एड रिड/मेयरल फोटोग्राफी अफिस न्युयोर्क — न्युयोर्कका मेयर जोहरान क्वामे ममदानीले नेपाली समुदायलाई तिहारको शुभकामना दिँदै यस पर्वले समृद्धि, शान्ति र अपनत्वको अनुभूति ल्याओस् भन्ने कामना गरेका छन्। सामाजिक सञ्जाल एक्समा प्रकाशित सन्देशमा ममदानीले रोमन लिपिमा नेपाली भाषामा 'तिहारको हार्दिक शुभकामना!' लेखेका छन्। त्यसपछि अंग्रेजीमा लेखिएको सन्देशमा उनले लक्ष्मीपूजामा दियो बाल्ने र भाइटीकामा आपसी सम्बन्धको उत्सव मनाउने हजारौं नेपाली न्युयोर्कवासीलाई सम्बोधन गरेका छन्। 'हजारौं नेपाली न्युयोर्कवासीले लक्ष्मीपूजाका लागि दियो बाल्दै र भाइटीकाको सम्बन्धलाई उत्सवका रूपमा मनाउँदै गर्दा, यस तिहारले तपाईंहरूलाई समृद्धि, शान्ति र तपाईंहरूले पाउनुपर्ने अपनत्वको अनुभूति ल्याओस्,' उनले सन्देशमा भनेका छन्। ममदानीले शुभकामना सन्देशमा तिहारका धार्मिक तथा पारिवारिक पक्षसँगै नेपाली समुदायको अपनत्वको भावनालाई पनि जोड दिएका छन्। तिहार नेपालका प्रमुख चाडमध्ये एक हो। उज्यालोको पर्वका रूपमा चिनिने यो चाड पाँच दिनसम्म मनाइन्छ। यस अवधिमा काग, कुकुर, गाई र गोरुको पूजा गर्नुका साथै धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ। नेवार समुदायले यही अवसरमा आफ्नो शरीर तथा आत्माको पूजा गर्ने म्हःपूजा पनि मनाउँछ। लक्ष्मीपूजामा घरआँगनमा दियो बालेर देवी लक्ष्मीको स्वागत गर्ने परम्परा छ। तिहारको अन्तिम दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिई दीर्घायु र समृद्धिको कामना गर्छन्। कतिपय समुदायमा दाजुभाइ र दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिने चलन पनि छ। न्युयोर्कमा नेपाली समुदायको बसोबास विशेषगरी क्वीन्सका रिजउड, ज्याक्सन हाइट्स, उडसाइड, सन्नीसाइड र एल्महर्स्टलगायत क्षेत्रमा रहेको छ, र उनीहरू अहिले हर्षोल्लासका साथ तिहार मनाइरहेका छन्। यो समाचारबारे तपाईंको प्रतिक्रिया प्रतिक्रिया लेख्न वा पढ्न क्लिक गर्नुहोस् ▾

(0)टिप्पणीहरू

 

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.