रा

रामकुमारी झाँक्री

बदलिएको चेहरा कि चिन्तन ?

Image
पछिल्ला दुई दशकको कांग्रेसको कथा देउवा वा अरू पुराना नेताको मात्र कथा होइन । त्यस अवधिमा गगनजी पनि पार्टीको केन्द्रीय नेतृत्व, महामन्त्री र प्रभावशाली नेताका रूपमा सक्रिय हुनुहुन्थ्यो । त्यसैले अब 'उनीहरूले के गरे ?' मात्र होइन, 'त्यस बेला हामीले के गर्‍यौं र कहाँ चुक्यौं ?' भन्ने प्रश्नको उत्तर पनि उनीबाट आउनुपर्छ । यही स्वीकारोक्तिले नयाँ नेतृत्वलाई पुरानोभन्दा फरक बनाउँछ । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनबाट अबको केही दिनमा गगन थापा निर्वाचित भएर नेतृत्वमा आउने बलियो सम्भावना छ । पार्टीमा नेतृत्व परिवर्तन जति स्वाभाविक हो, राजनीतिमा पुस्तान्तरण पनि त्यति नै स्वाभाविक हो । पुराना जान्छन्, नयाँ आउँछन् । तर पुरानालाई पन्छाएर नयाँले ठाउँ लिनु मात्र परिवर्तन होइन । परिवर्तनको असली अर्थ त सोच, संस्कार र काम गर्ने शैलीमा देखिनुपर्छ । पुरानो नेतृत्वलाई हटाउनु एउटा राजनीतिक घटना हो, पुरानो प्रवृत्ति हटाउनु अर्कै कुरा । नेतृत्वमा व्यक्ति बदल्न बहुमतले पुग्छ, संस्कार बदल्न चरित्र चाहिन्छ । गुटका आधारमा अवसर बाँड्ने, आफ्नालाई संरक्षण गर्ने, असहमतिलाई किनारा लगाउने र सत्ता प्राप्तिलाई सफलताको अन्तिम मापदण्ड ठान्ने अभ्यास उस्तै रह्यो भने नेतृत्वमा जुनसुकै पुस्ता आए पनि राजनीतिमा खासै फरक पर्दैन । नेपाली कांग्रेसमा गगन थापा नेतृत्वमा आउनुलाई नयाँ पुस्ताको आगमनका रूपमा प्रस्तुत गरिएको छ । तर ५० वर्ष पुगेको व्यक्तिको आगमनलाई नै साँचो अर्थमा नयाँ पुस्ताको आगमन मान्न सकिन्छ त ? त्यो मान्न म तयार छैन । किनकि २०४६ सालपछि देशको बागडोर सम्हाल्न आएका अधिकांश नेता त्यतिबेला ५० वर्ष पनि पुगेका थिएनन् । कांग्रेसको नेतृत्व ८० वर्षबाट ५० वर्षमा ल्यायौं भनेर पुग्दैन । युवावयमै बीपी कोइराला कांग्रेसका सभापति बनेको इतिहास पनि बिर्सनु हुँदैन । गगन थापा र मेरो पार्टी, राजनीतिक दर्शन, सिद्धान्त, राजनीतिक पृष्ठभूमि फरक छन् । तर हामी एउटै पुस्ताका राजनीतिकर्मी हौं । त्यसैले गगनजी पार्टी नेतृत्वमा आएको घटनालाई नेपालको राजनीतिक उपलब्धिका रूपमा लिनुपर्छ भन्ने लाग्छ । हामीबीच धेरै राजनीतिक मतभिन्नता भए पनि यसलाई म पार्टीगत प्रतिस्पर्धाको आँखाबाट मात्र होइन, लोकतान्त्रिक आन्दोलन, राजनीतिक पुस्तान्तरण र हामीले निर्माण गर्न खोजेको राजनीतिक संस्कारको आँखाबाट हेर्न चाहन्छु । गगनजीले लामो समयदेखि कांग्रेसको पुरानो नेतृत्वमाथि प्रश्न उठाउँदै आएका हुन् । विधिसम्मत पार्टी चल्नुपर्छ, समयमै महाधिवेशन हुनुपर्छ, नेतृत्व हस्तान्तरण हुनुपर्छ र पार्टीभित्र प्रश्न गर्ने ठाउँ रहनुपर्छ भन्ने उनका सार्वजनिक अडान नयाँ होइनन् । हिजो उनी प्रश्न गर्ने ठाउँमा थिए, आज जवाफ दिने ठाउँमा पुगेका छन् । त्यसैले अब प्रश्न अरूलाई होइन, उनलाई नै फर्किन्छ— हिजो जुन उदारता उनले पुरानो नेतृत्वसँग मागेका थिए, आफूलाई चुनौती दिने आवाजलाई त्यही उदारताका साथ सुन्छन् ? दल गम्भीर संकटबाट गुज्रिरहेको बेला, उनका पुराना नेताहरू अप्ठ्यारो परिस्थितिमा रहेका बेला र पार्टीको ठूलो हिस्सा विभाजित रहेको अवस्थामा उनी नेतृत्वमा आउँदै छन् । नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धमा सहकार्य र विश्वसनीय वातावरण निर्माण हुन सकेको छैन । लोकतान्त्रिक संस्थाहरू जनविश्वासको संकटमा छन् । यस्तो अवस्थामा नेतृत्व परिवर्तन हुनु गलत होइन । तर त्यस्तो परिवर्तनको समय, शैली र राजनीतिक व्यवहारबारे केही प्रश्न रहने नै छन् । गगन थापाले अहिले कांग्रेसको विगतप्रति कठोर आत्मसमीक्षा गरेका छन् । पार्टी सत्ता, पद, गठबन्धन, गुट र भागबन्डामा अल्झिएको स्वीकार गर्नॅ सामान्य कुरा होइन । तर आत्मसमीक्षा त्यतिबेला विश्वसनीय हुन्छ, जब त्यसमा आफ्नो हिस्साको जिम्मेवारी पनि स्वीकार गरिन्छ ।गगनजीको राजनीतिक यात्रा पुरानो कांग्रेसभन्दा बाहिरबाट सुरु भएको होइन । उनी यही पार्टीका विभिन्न शक्ति केन्द्र, समूह र नेतृत्वसँग जोडिँदै, कहिले सहकार्य गर्दै र कहिले असहमति राख्दै यहाँसम्म आइपुगेका छन् । कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको समूहदेखि शेखर कोइरालासँगको सहकार्यसम्मको उनको यात्रा खुला इतिहास हो । त्यसमा अस्वाभाविक केही छैन । राजनीति सहकार्य, संघर्ष र बदलिँदो समीकरणबाटै अघि बढ्छ । तर आज पुरानो राजनीतिक संस्कार बदल्ने जिम्मेवारी उनकै काँधमा आइपुगेपछि स्वाभाविक प्रश्न उठ्छ— जुन राजनीतिक संस्कृतिभित्र हुर्केर उनी यहाँसम्म आइपुगे, त्यसैका कमजोरीबाट आफूलाई कति अलग गर्न सक्लान् ? अझ महत्त्वपूर्ण कुरा, गगन थापाले अहिले कांग्रेसको विगतप्रति कठोर आत्मसमीक्षा गरेका छन् । पार्टी सत्ता, पद, गठबन्धन, गुट र भागबन्डामा अल्झिएको स्वीकार गर्नॅ सामान्य कुरा होइन । तर आत्मसमीक्षा त्यतिबेला विश्वसनीय हुन्छ, जब त्यसमा आफ्नो हिस्साको जिम्मेवारी पनि स्वीकार गरिन्छ । पछिल्ला दुई दशकको कांग्रेसको कथा देउवा वा अरू पुराना नेताको मात्र कथा होइन । त्यस अवधिमा गगनजी पनि पार्टीको केन्द्रीय नेतृत्व, महामन्त्री र प्रभावशाली नेताका रूपमा सक्रिय हुनुहुन्थ्यो । त्यसैले अब 'उनीहरूले के गरे ?' मात्र होइन, 'त्यस बेला हामीले के गर्‍यौं र कहाँ चुक्यौं ?' भन्ने प्रश्नको उत्तर पनि उनीबाट आउनुपर्छ । यही स्वीकारोक्तिले नयाँ नेतृत्वलाई पुरानोभन्दा फरक बनाउँछ । जुनसुकै समाज र समयमा नयाँ नेतृत्वको अर्को परीक्षा आफ्ना समर्थकसँग होइन, आलोचकसँग हुन्छ । आफू कमजोर हुँदा लोकतन्त्रको कुरा गर्न सजिलो हुन्छ, शक्तिमा पुगेपछि त्यही लोकतान्त्रिक ठाउँ अरूलाई दिन कठिन हुन्छ । आज गगनजीसँग असहमत कांग्रेसजन पनि छन् । उनको नेतृत्वलाई चुनौती दिनेहरू पनि छन् । उनीहरूलाई किनारा लगाएर बलियो बन्ने बाटो एउटा हो, उनीहरूलाई समेत समेटेर संस्था बलियो बनाउने बाटो अर्को हो । उनले कुन बाटो रोज्छन् भन्ने कुराले नेतृत्वको चरित्र देखाउनेछ । त्यसैले आजको मुख्य प्रश्न गगनजी कति माथि पुगे वा कहाँ पुगे भन्ने होइन । त्यहाँ पुगेपछि के गर्नुहुन्छ भन्ने प्रश्न महत्त्वपूर्ण हो । हिजो अरूसँग मागेको लोकतन्त्र, जवाफदेही, पुस्तान्तरण र राजनीतिक संस्कारका पाठ आज आफ्नै व्यवहारमा उतार्न सक्नुहुन्छ कि सक्नुहुन्न ? समयले यसको उत्तर खोज्नेछ । तर एउटा कुरा स्पष्ट छ— गगन थापाको उदयलाई नयाँ राजनीतिको उदय मान्न हतार गर्नॅ हुँदैन । उमेरको अंकलाई परिवर्तनको मानक बनाउने हो भने नयाँ नेता देखिइसकेका छन् । तर नयाँ राजनीति देखिन अझै बाँकी छ । यहाँ मेरो चासो कांग्रेसको महाधिवेशनपछि 'को सभापति भयो ?' भन्नेभन्दा धेरै 'अब कस्तो कांग्रेस बन्न खोज्दै छ ?' भन्नेमा हो । केही वर्षदेखि गगनजी सामाजिक लोकतन्त्रको कुरा गर्नुहुन्थ्यो । अहिले बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको कुरा गरेको सुन्छु । कतिपय व्यक्तिहरूले यसलाई नयाँ व्याख्या भनेको पनि पढेको छु । तर यो वास्तवमा के हो ? यो नेपाली मौलिकतामा आधारित समाजवादको कुरा हो भने सबैभन्दा पहिले हामीले कस्तो समाज निर्माण गर्न खोजिएको हो भन्ने प्रश्नको विश्लेषण गर्नॅपर्छ । बीपी पनि चाहिने हो र सामाजिक लोकतन्त्र पनि चाहिने हो भने— कहाँसम्म बीपी, कहाँदेखि गगन ? राज्यको सीमा कहाँसम्म ? बजारको सीमा कहाँसम्म ? सम्पत्ति सिर्जना कसले गर्ने ? पुनर्वितरण कसरी गर्ने ? शिक्षा र स्वास्थ्यमा राज्य र निजी क्षेत्रको सम्बन्ध कस्तो हुने ? सामाजिक सुरक्षाको दायरा कति हुने ? उद्यमशीलता र निजी लगानीलाई कसरी प्रोत्साहन गर्ने ? सार्वजनिक सेवाको जिम्मेवारी राज्यले कसरी वहन गर्ने ? यी प्रश्न मूलतः विचार, सिद्धान्त र कार्यक्रमसँग सम्बन्धित छन् । यी प्रश्नको स्पष्ट जवाफ नयाँ कांग्रेसले दिनुपर्छ । केवल नयाँ अनुहारले होइन । मलाई गगन थापाको दस्ताबेजबारे चासो यही कारणले छ । उनले कांग्रेसलाई कुन वैचारिक दिशामा लैजान खोजेका छन् ? बीपीको समाजवादलाई आजको सन्दर्भमा कसरी पुनर्व्याख्या गर्नुहुन्छ ? सामाजिक लोकतन्त्र र लोकतान्त्रिक समाजवादबीच उनको वास्तविक राजनीतिक तथा आर्थिक भिन्नता के हो ? राज्य, बजार, निजी क्षेत्र, सामाजिक सुरक्षा र सार्वजनिक सेवाबीचको सम्बन्धबारे उनको स्पष्टता कति छ ? गगनजीका लोकप्रिय अभिव्यक्ति र डा. गोविन्द केसीको आन्दोलनसँग जोडिएका उनका सार्वजनिक अडानहरू पनि म सम्झिरहेकी छु । ती अडान र अहिले उनले अघि सारेको वैचारिक दिशाबीचको सम्बन्ध के हो ? नयाँ कांग्रेसको आर्थिक तथा सामाजिक कार्यक्रमले त्यसलाई कसरी समेट्छ ? यसको जवाफ दस्ताबेज र नीतिबाट आउनुपर्छ ।नयाँ नेतृत्व आयो, राम्रो भयो । तर के नयाँ राजनीतिक संस्कार पनि आयो भन्ने प्रश्नको उत्तर 'हो' भन्यो भने त्यसको प्रमाण उमेरमा मात्र होइन, विचारमा देखिनुपर्छ । नारामा होइन, नीतिमा देखिनुपर्छ । व्यक्तिमा होइन, संस्थामा देखिनुपर्छ । किनकि अन्ततः देशलाई चाहिएको नयाँ उमेर मात्र होइन । बदलिएको चेहरा पर्याप्त छैन । बदलिएको चिन्तन देखिनुपर्छ । नयाँ नेतृत्व पर्याप्त छैन । नयाँ राजनीतिक संस्कार देखिनुपर्छ । र, नयाँ पुस्ता पर्याप्त छैन । नयाँ राजनीतिक दिशा देखिनुपर्छ ।जुन पुस्ताले लोकतन्त्रका लागि संघर्ष गर्‍यो, जेल गयो, निर्वासन भोग्यो, प्रतिबन्ध झेल्यो, आन्दोलन गर्‍यो र एउटा राजनीतिक प्रणाली निर्माण गर्न आफ्नो जीवनको ठूलो हिस्सा खर्च गर्‍यो, त्यो पुस्ता आजका सबै समस्याको एकमात्र कारण हो भन्ने भाष्य निर्माण भएको छ । उमेर र अनुभवलाई घृणाको विषय बनाइएको छ । त्यसो हो भने इतिहासबाट हामीले के सिकेको हुन्छ ? उमेर बढ्नु अपराध होइन । इतिहास हुनु कमजोरी होइन । अनुभव हुनु अयोग्यता होइन । मलाई पुस्ता वा उमेरलाई मात्र राजनीतिक एजेन्डा बनाउने प्रवृत्तिप्रति यही कारणले डर लाग्थ्यो । नयाँ पुस्ता आउनुपर्छ ? अवश्य आउनुपर्छ । तर नयाँ पुस्ताको आगमनको अर्थ पुरानो पुस्ताको अपमान र घृणा हुनु राम्रो लोकतान्त्रिक संस्कार होइन । यहाँ गगन थापाको राजनीतिक क्षमता अस्वीकार गर्नॅपर्ने कुनै कारण छैन । समयको आवाज चाँडो सुन्ने, त्यसलाई प्रभावशाली भाषामा अपिल गर्ने र नयाँ पुस्ताको मनोविज्ञान समात्ने उनको खुबी लोभलाग्दो छ । नेपाली कांग्रेस आफ्नो परम्परागत घेराबाट बाहिर निस्कन हिचकिचाइरहेका बेला उनले परिवर्तनको भाषा बोले, गणतन्त्रको पक्षमा उभिए र आफ्नै नेतृत्वलाई चुनौती दिँदै प्रश्न गरे । त्यसैले उनी धेरै कांग्रेसजनभन्दा फरक देखिए । उनको एउटा बलियो राजनीतिक गुण छ— समाजको बदलिँदो मनोविज्ञान उनी चाँडै पढ्छन् । समयको भाषा पढ्ने, बुझ्ने र बोल्ने नेता हुन् । र त, आज उनलाई सोध्नुपर्ने मूल प्रश्न यही हो— उनले समयलाई दिशा दिए कि समयले उठाएका एजेन्डा अरूभन्दा चाँडो समाते ? जब देशमा गणतन्त्रको लहर उठ्यो, उनी त्यहाँ देखिए । संघीयता र समावेशिताको बहस बलियो भयो, त्यहाँ पनि अगाडि रहे । पछि सुशासन, डेलिभरी, शिक्षा, स्वास्थ्य, उद्यमशीलता र परिणाममुखी राज्यको माग बढ्यो, उनको राजनीतिक भाषा पनि त्यतैतिर विस्तार भयो । यही क्षमताले उनलाई लोकप्रिय बनायो । तर अब उनको अगाडिको चुनौती फरक छ । समयले उठाएका एजेन्डा चाँडो समात्नु र ती एजेन्डालाई संस्थागत नीति, कार्यक्रम र परिणाममा रूपान्तरण गर्नॅ एउटै कुरा होइन । लोकप्रिय भाषालाई दीर्घकालीन राजनीतिक दर्शनमा बदल्नु, नारालाई नीतिमा बदल्नु र व्यक्तिको लोकप्रियतालाई संस्थाको शक्तिमा बदल्नु नै अब उनको वास्तविक परीक्षा हो । त्यसैले गगन थापाको नेतृत्वलाई म केवल कांग्रेसको नेतृत्व परिवर्तनका रूपमा हेर्न चाहन्नँ । यसलाई नेपाली राजनीतिमा पुस्तान्तरण, राजनीतिक संस्कार र वैचारिक पुनःसंरचनाको एउटा अवसरका रूपमा हेर्न चाहन्छु ।तर त्यो अवसरको मूल्यांकन अनुहार हेरेर होइन, चिन्तन हेरेर हुनुपर्छ । बदलिएको चेहरा पर्याप्त छैन । बदलिएको चिन्तन देखिनुपर्छ । नयाँ नेतृत्व पर्याप्त छैन । नयाँ राजनीतिक संस्कार देखिनुपर्छ । र, नयाँ पुस्ता पर्याप्त छैन । नयाँ राजनीतिक दिशा देखिनुपर्छ । रामकुमारीझाँक्री एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य हुन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
बदलिएको चेहरा कि चिन्तन ?
View on original source
साझा गर्नुहोस्
अभिलेख
मनपर्यो

(0)टिप्पणीहरू

 

सम्बन्धित विचार

कुकीहरू बारे जानकारी

Newshunt ले तपाईंलाई साइन इन राख्न र तपाईंको भाषा र देश सम्झन आवश्यक कुकीहरू प्रयोग गर्दछ, ताकि साइट तपाईंले अपेक्षा गरेअनुसार काम गरोस्। तपाईंको अनुमतिमा, हामी Newshunt लाई मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने बुझ्न र समयसँगै सुधार्न एनालिटिक्स कुकीहरू पनि प्रयोग गर्न चाहन्छौं।

स्वीकार गर्नाले एनालिटिक्समा मात्र असर पार्छ। थप जान्नका लागि, हाम्रो हेर्नुहोस् गोपनीयता नीति or नियम र शर्तहरू.