पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता
View on original source
Категория: Blend
Поделиться
Архив
Нравится
पाल्पा – अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर भत्काउनुका साथै सडक अवरुद्ध छन् भने एक जना बेपत्ता छन् । यहाँको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङस्थित गोलफानमा आज दिउँसो गएको पहिराले दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। उनका अनुसार पहिरोका कारण रामबहादुरको चार जनाको परिवार सकुशल रहेका छन् भने केसुरामको चार जनाको परिवारमध्ये उनकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारू पहिरोमा परी बेपत्ता भएकी छन् । परिवारका अन्य सदस्य भने सकुशल रहेको प्रनाउ भट्टराईले बताए। पहिरोबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि अन्य चौपायामा क्षति नभएको उनको भनाइ छ । पानी निरन्तर परिरहेको र घरभन्दा माथिको मोटरबाटोबाट ढुङ्गा–माटोसहितको लेदो निरन्तर बगिरहेकाले तत्काल उद्धारकार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता सारुको खोजीकार्य जारी छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा मन्दिर नजिकै र तिनाउ–५ को चरचरे र जोरधाराबीचमा पर्ने सडकमा माथिबाट ढुङ्गा खसेपछि केही समय सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पछि पहिरो पन्छाएर सडक सञ्चालन गरिए पनि पहिरो झर्न नरोकिएको प्रहरी उपरीक्षक भट्टराईले बताए। यस्तै, यो समाचार तयार पार्दासम्म रिब्दीकोट गाउँपालिका–५ माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकखण्डमा पनि वर्षाका कारण सडकमाथिबाट पहिरो खसेर यातायात अवरुद्ध भएको छ । यस्तै सदरमुकाम तानसेनबाट पश्चिम भेग जोड्ने प्रमुख सडकका रूपमा रहेको तानसेन–हार्थोक–छहरा सडकखण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ । हार्थोक–बतासे सडकअन्तर्गत कसुमखोला क्षेत्रमा निर्माणाधीन सडकमाथिबाट पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको स्थानीय भुवन रायमाझीले बताए। सडक अवरुद्ध हुँदा सर्वसाधारणले आवतजावतमा ठूलो सास्ती खेप्नुपरेको उनको भनाइ छ । सडक अवरुद्ध हुँदा अत्यावश्यक सेवाका सवारीसाधनसमेत सडकमा रोकिएका छन् । विशेषगरी बिरामी बोकेका एम्बुलेन्स तथा ग्रामीण क्षेत्रबाट सदरमुकाम र अन्य सहरमा दूध पुर्याउने दुग्ध ढुवानीका सवारीसाधन बाटोमै रोकिँदा समस्या थपिएको रायमाझीको भनाइ छ । पहिरोका कारण दूधलगायत छिट्टै बिग्रिने अत्यावश्यक वस्तु ढुवानीमा अवरोध हुँदा कृषक तथा व्यवसायीसमेत प्रभावित भएका छन् । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । तर, लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काममा कठिनाइ भइरहेको जनाइएको छ । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले विहीबारदेखि सोमबारसम्म बेलुकी ७ः०० देखि बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरेको हो ।

(0)Комментарии

 

Примечание о файлах cookie

Newshunt использует необходимые файлы cookie, чтобы вы оставались авторизованными и чтобы запоминать ваш язык и страну, благодаря чему сайт работает так, как вы ожидаете. С вашего разрешения мы также хотели бы использовать аналитические файлы cookie, чтобы понимать, как люди используют Newshunt, и со временем улучшать его.

Принятие влияет только на аналитику. Подробнее см. в нашей Политике конфиденциальности or Условиях использования.