एमालेमा ओलीको विकल्प बन्न सक्छिन् विद्या भण्डारी ?

एमालेमा ओलीको विकल्प बन्न सक्छिन् विद्या भण्डारी ?
View on original source
Категория: Politics
Поделиться
Архив
Нравится
काठमाडौँ । तीव्र क्षयीकरणको बाटोमा हिँडेको नेकपा एमालेले तत्काललाई त्यसको रोकथामका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा औपचारिक रूपमा भित्र्याएको छ । असोज ५–८ गते काठमाडौँमा सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले विद्यालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयता कायम हुनेगरी 'वरिष्ठ सम्मानित नेता'का रूपमा भित्र्याउने निर्णय गरेको हो । यद्यपि एमालेको मौजुदा विधानमा विद्यालाई अहिले दिइएको भनेको पदको व्यवस्था छैन । स्मरण रहोस्, झन्डै दुई वर्ष पहिला एमालेले विद्याको पार्टी सदस्यता नै स्वीकार्न चाहेको थिएन । ११ वर्षअघि एमाले उपाध्यक्षसमेत रहेकी भण्डारी राष्ट्रपति बनेसँगै सक्रिय राजनीतिबाट अलग भएकी थिइन् । तर, राष्ट्रपतिको कार्यकाल पूरा गरेर २०७९ फागुन अन्तिममा घर फर्किएसँगै विद्याभित्र एमालेको सक्रिय राजनीति गर्ने मोह भने उत्कट थियो । उनको उक्त चाहना पूरा हुँदा अध्यक्ष ओली आफू पार्टीभित्र कर्नरमा पर्ने त्रासले अनेक बहानामा बाधक बन्दै आएका थिए ।गत वर्षको जेनजी आन्दोलन होस् वा त्यसपछि भएको संसदीय निर्वाचनमै किन नहोस्, एमाले र अध्यक्ष ओलीले खाएको गम्भीर धक्कापछि पुनः एमालेभित्रको एउटा पक्षले ओलीको विकल्पमा विद्यालाई देख्न थालिसकेको थियो । पार्टीभित्रै बढ्दो असन्तुष्टि र शक्ति सन्तुलनबारे ओली जानकार हुने नै भए पनि उनी पार्टी सत्ता छाडिहाल्ने मनस्थितिबाट टाढै थिए । पछिल्लो समय पार्टी पुनर्गठनका नाममा भएका गतिविधि र ओलीविरोधी कित्ताको बाहुल्यता बढ्दै गयो, जुन उनको नियन्त्रणभन्दा बाहिर पुग्ने अवस्था आइसकेको थियो । यस्तो अवस्थामा ओलीले तत्काललाई 'सर्प पनि मर्ने, लट्ठी पनि नभाँचिने' जुक्ति निकाल्दै विद्यालाई पार्टीमा आफूपछिको स्थान दिन तयार भए । एकातिर ओलीप्रति बढ्दो वितृष्णा र अर्कोतिर विद्याको सक्रिय राजनीतिमा होमिने आकाङ्क्षाको सङ्गम बन्यो– असोज ५ देखि ८ सम्म बसेको एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक । सो बैठकमा ओली आफैँले विद्यालाई आफूपछिको वरीयता कायम गरेर पार्टीमा रातो कार्पेट ओछ्याउने प्रस्ताव लगे । पार्टीको आन्तरिक जीवन कठिन मोडमा पुगेका बेला विकल्प खोजिरहेकाहरूले विद्यालाई पार्टीको सक्रिय राजनीतिमा ल्याउन गरेको प्रस्ताव अस्वीकार गर्ने कुरै थिएन । यद्यपि एमालेले वरिष्ठ नेता बनाउने निर्णयप्रति विद्याले अहिलेसम्म आफ्नो कुनै प्रतिक्रिया जनाएकी छैनन् । तर, के अब ओलीले आफ्नो विकल्पमा विद्यालाई पार्टी अध्यक्ष बनाएर नेतृत्व छाड्लान् ? वा आगामी दिनमा विद्या भण्डारीले एमालेमा आफूलाई ओलीको विकल्पका रूपमा उभ्याउन सक्छिन् ? अनि एमालेको गुमेको साख पूर्ववत् अवस्थामा फर्काउन विद्या शिवबुटी बन्न सक्लिन् ? एमालेभित्र र बाहिर समेत यी र यस्तै प्रश्न चासोका साथ उठ्ने गरेको छ । राजनीतिक विश्लेषक र एमाले बुझेकाहरू भने यसमा फरक–फरक धारणा राख्छन् । विश्लेषक डा. भीम भुर्तेल एमालेमा विद्याको पुनरागमनलाई गएको एक वर्षको नेपालको राजनीतिक घटनाक्रमसँग जोडेर हेर्नुपर्ने बताउँछन् ।'जहाँसम्म लाग्छ– एमालेमा विद्याको पुनरागमनलाई बोर्डर पिक्चरमा रहेर हेर्नुपर्छ', डा. भुर्तेलले भने, 'देउवालाई विदेशबाट जसले फर्कायो, अहिले विद्यालाई एमालेमा फर्काउन उसैले भूमिका खेलेको हुनसक्छ ।' यसमा बाह्य भन्दा पनि आन्तरिक र परम्परागत शक्तिको चाहनाले काम गरेको भुर्तेलको बुझाइ छ । 'मुख्य त यहाँको आन्तरिक शक्ति नै हो', भुर्तेलले भने । ओलीको विकल्पमा विद्या भण्डारीलाई अगाडी सार्दा अनुभव र जनमतसमेत बन्न सक्छ भन्ने बुझाइ रहेको उनले बताए । उनले रातोपाटीसँग भने, 'गत वर्ष भदौ २३ अघि एमालेको शक्ति सङ्घर्ष चुचुरोमा पुगेको थियो, जतिबेला ओलीको विकल्पका रूपमा विद्यालाई अगाडि सारेको पनि थियो ।' विगतमा विद्याले अहिलेका प्रधानमन्त्री बालेनलाई भेट्नु, चीन जानु र अमेरिकीहरूले समेत विद्यालाई भेटेका घटना स्मरण गर्दै भुर्तेलले भने, 'त्यसबेलाको शक्ति सङ्घर्षमा कुनै न कुनै रूपले विद्या एक पात्र थिइन् । त्यो पात्रलाई स्टार्ट गर्न त्यसबेला ओलीले चाहेनन् ।' तर समयक्रमसँगै ओलीको बुझाई र फेरिएको परिस्थितिमा विद्याको अलाइनमेन्ट यतै हो भनेर ओलीले बुझेको भुर्तेलको भनाइ छ । 'राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा तात्विक भिन्नता आएर अहिलेको परिस्थिति जन्मिएको हो', भुर्तेलले भने । यद्यपि ओलीको विकल्पका रूपमा विद्या आइहाल्छिन् भनेर भन्न नसकिने भुर्तेलको विश्लेषण छ । 'च्यालेन्ज धेरै छन् । किनभने उनको जिम्मेवारी र क्षमतामा भर पर्ने कुरा पनि हो', उनले भने, 'अहिले नै विकल्प भइहाल्छिन् भन्न कठिन छ ।'अर्का विश्लेषक सुवोध प्याकुरेल ३ वटा कारणले एमालेमा ओलीको विकल्प विद्या हुन नसक्ने बताउँछन् । 'विद्याको विगत र वर्तमान, एमालेप्रति नागरिकको अपेक्षा र आलोचना तथा कार्यकर्ताको नेतृत्वप्रतिको अपेक्षा र विरोधलाई हेर्दा अहिले विद्या भण्डारीले एमालेको नेतृत्व लिनसक्ने र ओलीको विकल्प बन्नुहुन्छ भन्ने लाग्दैन', उनले भने । प्याकुरेलले विद्यालाई एमालेले दिएको पद वैधानिक नभएको र त्यसको सुनिश्चितता नहुनु दोस्रो कारण रहेको बताए । 'ओलीसँग मानिसहरूको असन्तुष्टि र विश्लेषकहरुको विरोध के हो भने उनले विधिको शासन कहिल्यै मानेनन् भन्ने हो', प्याकुरेलले भने, 'अहिले विद्याको नियुक्ति पनि विधि अन्तर्गत छैन । ओली आफैँले वरिष्ठ उपाध्यक्ष हटाए, अनि एकैचोटी वरिष्ठ नेता भनिदिए । यो विधिको शासनको उल्लङ्घन हो ।'तेस्रो कारणका रूपमा प्याकुरेलले ओलीले विगतका कमी कमजोरी स्वीकार्नेे भने पनि आलोचना र आत्मालोचनाको पाटो नदेखिएको बताए । 'एउटा कम्युनिस्ट पार्टीमा आलोचना र आत्मालोचनालाई आत्मा मानिन्छ, त्यही आत्मालाई विस्तार गर्दै मदन भण्डारीले पार्टी कमिटी र संगठन सानो हुन्छ, तर हाम्रो पहुँच जनतासँग पूरै विस्तारित हुन्छ भन्नुभएको हो', प्याकुरेलले भने, 'त्यही कारण एमाले जनआधारित पार्टीका रूपमा चिनिएको हो ।' यति हुँदाहुँदै पनि विद्यामा कार्यकारी दर्जामा पुगेपछि केही गर्छु भन्ने लागेको हुनसक्ने प्याकुरेलले बताए । त्यसैले विधि विपरीत पद दिँदासमेत विद्याले केही नबोलेको हुनसक्ने उनको भनाइ छ । घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का नेता दामोदर अर्याल अब ओलीको विकल्पका रूपमा विद्या नै हुने दाबी गर्छन् । त्यसको आधारका रूपमा एमालेका १० भाइ भनिएका नेताहरूको साथ र विगतमा ओलीलाई नै साथ दिएका उपाध्यक्ष विष्णु पौडेल र शंकर पोखरेलले समेत ओलीलाई भित्रैदेखि नेता मान्न छाडेको अवस्थालाई उनले औँल्याए । 'एमालेमा पार्टी विभाजनताका १० भाइ भनिएका नेताहरूको पकड कमजोर छैन', अर्यालले भने, 'त्यसबाहेक अहिले विष्णु र शंकर पनि ओलीसँग सन्तुष्ट देखिँदैनन् । यस्तो अवस्थामा विष्णु र शंकरले पनि विद्यालाई नेता मान्नुपर्ने बाध्यता छ ।' अर्यालका अनुसार विद्याले अब दुईवटा काम गर्नसक्छिन् । 'पहिलो, केपी ओलीसँग असन्तुष्ट जमातलाई पनि समेट्छिन् । दोस्रो, वाम एकताको पहलकदमी लिन्छिन्', उनले भने । एमालेमा विद्याको पुनरागमनसँगै एमालेभित्रको क्षयीकरण रोकिनुका साथै वाम एकताको पक्षमा माहोल समेत बढ्नसक्ने उनको भनाइ छ ।

(0)Комментарии

 

Примечание о файлах cookie

Newshunt использует необходимые файлы cookie, чтобы вы оставались авторизованными и чтобы запоминать ваш язык и страну, благодаря чему сайт работает так, как вы ожидаете. С вашего разрешения мы также хотели бы использовать аналитические файлы cookie, чтобы понимать, как люди используют Newshunt, и со временем улучшать его.

Принятие влияет только на аналитику. Подробнее см. в нашей Политике конфиденциальности or Условиях использования.