चिट्ठा । The Lottery

चिट्ठा । The Lottery
View on original source
分类: Entertainment
分享
归档
点赞
Original -The Lottery(1948)by Shirley Jackson जुन २७ को बिहानीको खुला आकाशमा गर्मी महिनाको न्यानो घाम लागेको थियो। फूलहरू फक्रिएर छरपस्ट थिए। घाँस पनि हरियोपनमा लिप्त थियो। गाउँका मानिसहरू १० बजे नै हुलाक र बैंकको बीचको चउरमा जम्मा हुन थालिसकेका थिए। कुनै-कुनै सहरमा त यति धेरै मान्छे हुन्थे कि चिट्ठा खेल्न पूरै दुई दिन लाग्थ्यो। त्यसैले ती ठाउँहरूमा जुन २ मै खेल सुरु भइसकेको थियो। तर यस गाउँमा भने तीन सय जना मात्र थिए। चिट्ठा खेल्न दुई घण्टाभन्दा कम समय लाग्ने अनुमान थियो। बिहान १० बजे चिट्ठा सुरु गरेपछि समयमै खेल सक्काएर दिउँसोको खाना खान घर पुग्न मिल्थ्यो। सबैभन्दा पहिले त बालबालिकाहरू जम्मा भए। गर्मी बिदा भर्खरै सुरु भएको थियो। छुट्टी लगत्तैको स्वतन्त्रताले धेरै केटाकेटीलाई सकसक भइरहेको थियो। त्यसैले हल्लाखल्ला सुरु हुनु अगाडि उनीहरू एकछिन चुप बस्थे। उनीहरूको गफ भने अझै कक्षाकोठा र शिक्षक, किताब र गालीको थियो। बबी मार्टिनले आफ्नो पाकेटभरि ढुंगा भरिसकेको थियो। अरू केटाहरूले पनि उसको सिको गर्दै गोलो र चिल्लो ढुंगा छान्न थाले। बबी, ह्यारी जोन्स र डिकी डेलाक्रोले (गाउँलेहरूले उसलाई डेलाक्रोइ भनेर बोलाउँथे) चउरको एक कुनामा ढुंगाको थुप्रो बनाए र अरू केटाहरूको हमलाबाट त्यसलाई जोगाए। केटीहरू भने कि त धुलोमा लुटपुटिँदै दाइदिदीहरूको हात समाएका बच्चाहरूलाई वा छेउका केटाहरूलाई हेर्दै गफिँदै थिए। केही छिनमा पुरुषहरू भेला हुन थाले र आफ्ना छोराछोरीको गतिविधि अनुगमन गर्दै रोपाइँ र वर्षा, ट्रयाक्टर र करको कुरा गरे। उनीहरू ढुंगाको थुप्रो भएको कुनाबाट अलि टाढा थिए। उनीहरूको ठट्टा भने शान्त किसिमको ओठमा मन्द मुस्कानसहितको थियो। महिलाहरू केही क्षणमा आ-आफ्ना श्रीमानलाई पछ्याउँदै खुइलिएको म्याक्सी र स्वेटर लगाएर आए। उनीहरूले एकअर्काको सन्चोबिसन्चो सोधे र एकछिन गफ साटेर श्रीमानतिर लागे। श्रीमानको छेउमा उभिँदै उनीहरूले आफ्ना छोराछोरीलाई बोलाए। पाँच–छ चोटि बोलाइसकेपछि मात्र मन नलागी–नलागी केटाकेटीहरू आए। आफ्नी आमाको हातबाट फुत्किएर बबी मार्टिन हाँस्दै ढुंगाको थुप्रोतिर भाग्यो। उसको बुवाले ठूलो स्वरमा उसलाई कराउनुभयो। ऊ हतारिँदै आयो र आफ्नो बुवा र ठूल्दाईबीच आफ्नो ठाउँ बनायो। सामूहिक नाच, बाल क्लब र ह्यालोवीन पार्टी सञ्चालन गर्ने मिस्टर समरले नै चिट्ठा चलाउनुहुन्थ्यो। उनीसँग नागरिक गतिविधिका निम्ति समर्पण गर्नका लागि समय र स्फूर्ति थियो। उनी गोलो मुहार भएका मिजासिलो व्यक्ति थिए। उनी कोइला कम्पनी चलाउँथे। उनका बालबच्चा नभएको र श्रीमती झगडालु भएकीले अरूहरू उनीप्रति सहानुभूति देखाउँथे। उनी काठको कालो बाकस लिएर चउरमा आइपुग्दा मानिसहरूबीच गाइँगुइँ चल्न थाल्यो। उनले हात हल्लाउँदै भने, 'आज हल्का ढिलो भयो है साथीहरु।' तीनखुट्टे स्टुल बोक्दै पोस्टमास्टर मिस्टर ग्रेभ्स उनको पछि लागे। स्टुल चउरको बीचमा राखियो र मिस्टर समरले कालो बाकस त्यसको माथि राखे। सबैजना अलि टाढै थिए – उनीहरू र बाकसको बीचमा खाली ठाउँ थियो। मिस्टर समरले 'कसैले हात बटाउन सक्छ?' भनेर सोध्दा सबैजना एकछिन अलमलिए। मिस्टर मार्टिन र उसको जेठो छोरा ब्याक्सटर अघि आए र बाकस समाए। मिस्टर समरले भित्रका चिट्ठाहरू चलाउन थाले। चिट्ठाको वास्तविक सरसामान धेरै अगाडि हराइसकेको थियो। स्टुलमाथिको कालो बाकस गाउँको सबैभन्दा बुढो व्यक्ति वार्नर बुढा जन्मनुभन्दा अगाडिदेखि नै प्रयोगमा आएको थियो। मिस्टर समरले निकैचोटि नयाँ बाकस बनाउने विषयमा गाउँलेहरूसँग कुरा उठाएका थिए तर कसैलाई पनि त्यो कालो बाकसले प्रतिनिधित्व गरेको परम्परालाई बिथोल्न मन थिएन। अहिलेको बाकस भने त्योभन्दा अगाडिको बाकसका केही टुक्रा काठबाट बनेको भन्ने भनाइ थियो। त्यस गाउँमा बस्ती बसाएको बेला नैपुरानो बाकसबनाइएको भनेर कथित थियो। हरेक वर्ष चिट्ठापछि मिस्टर समरले नयाँ बाकस बनाउनेबारे फेरि कुरा उठाउँथे तर हरेक वर्ष केही नभईकन त्यस विषयलाई बिलाउन दिइन्थ्यो। कालो बाकस हरेक वर्ष झन् जर्जर हुँदै थियो। अहिले त पूरै कालो पनि थिएन। एक साइडको पाता उक्किएर भित्रको पुरानो काठको रङ देखिन सकिन्थ्यो। अरू ठाउँमा रङ धमिलिएको थियो र टाटेपाटे दाग पनि लागेको थियो। हातले मज्जाले कागजहरू नचलाइन्जेल मिस्टर समरले मिस्टर मार्टिन र उनको जेठो छोरो ब्याक्सटरलाई दह्रोगरी कालो बाकस समाउन लगाए। परम्पराको धेरै भाग कि त बिर्सिएको कि त छाडिएको हुनाले मिस्टर समरले पुस्तौँदेखि प्रयोग गरिएको काठको गोटीको साटो कागज प्रयोग गर्न थालेका थिए। उनको अनुसार गाउँ सानो नै हुँदासम्म काठको गोटीले चल्थ्यो तर जनसंख्या तीन सय पुगेपछि पनि बढेको–बढ्यै गरेकाले कालो बाकसभित्र अटाउन मिल्ने कुनै अरू सामग्री प्रयोग गर्नु नै उचित थियो। चिट्ठाको अघिल्लो रात मिस्टर समर र मिस्टर ग्रेभ्सले कागजका टुक्राहरू बनाएर बाकसभित्र हालेका थिए। अर्को बिहान मिस्टर समरले बाकसलाई चउरमा लैजान तयार नहुँदासम्म त्यसलाई मिस्टर समरको कोइला कम्पनीको सेफमा लगेर ताल्चा लगाइएको थियो। वर्षको अरू समय त्यो बाकस कुनै एक ठाउँमा राखिन्थ्यो। कुनै एक वर्ष मिस्टर ग्रेभ्सको भकारीमा राखिएको थियो भने कुनै अर्को वर्ष हुलाकको एक कुनामा। कहिले त मार्टिन किराना पसलको सेल्फमा एत्तिकै पनि छाडिन्थ्यो। — निकै होहल्लापछि मिस्टर समरले चिट्ठा सुरु गरे। हरेक कुलको मूली, हरेक कुलको परिवारको मूली र हरेक कुलको हरेक परिवारका सदस्यहरूको सूची तयार गर्नुपर्ने थियो। चिट्ठाको आधिकारिक व्यक्तिका रूपमा पोस्टमास्टरद्वारा मिस्टर समरको शपथ ग्रहण गरियो। केहीलाई ती दिनहरू अझै याद थिए जब सुर र ताल नभएको औपचारिक वाचन पनि गरिन्थ्यो। समयसँगै त्यो पनि हराएको थियो। केही व्यक्तिका विश्वासअनुसार चिट्ठाका अधिकारी वाचन गर्दा उठ्ने गर्थे रे। केही अरूका अनुसार उनी मानिसहरूको बीच हिँड्ने गर्थे रे। तर वर्षौँ–वर्ष अगाडि नै यी कुराहरू बिलिन हुन दिइएको थियो। बाकसबाट चिट्ठा निकाल्न आउने हरेक व्यक्तिलाई चिट्ठाको अधिकारीले सलुट दिने चलन पनि थियो तर समयसँगै यो पनि परिवर्तन भइसकेको थियो। अहिले भने हरेक व्यक्तिसँग एक–दुई शब्द साटे मात्र पुग्थ्यो। मिस्टर समर यी सबै गर्न माहिर थिए। बेमत्लबी रूपमा एक हात कालो बाकसमाथि राख्दै सेतो सर्ट र निलो जिन्समा सजिएका मिस्टर ग्रेभ्स मार्टिन परिवारसँग कुरा गर्दा निकै भद्र र महत्त्वपूर्ण देखिन्थे। मिस्टर समरले उनीहरुसँग कुरा टुंग्याए र भेला भएका गाउँलेतिर मोडिए। स्वेटर आफ्नो कुममा भिरेकी मिसेस हटचिन्सन घरबाट छिट्छिटो हिँड्दै भिडको पछाडितिर लाग्दै थिइन्। 'क्लिनले कुन दिन हो बिर्स्या'रैच!' उनले आफ्नो छेउमा उभिएकी मिसेस डेलाक्रोलाई भनिन् र दुवैजना फिस्स हाँसे। 'मेरा बुडा पछाडी दाउरा मिलाउदैछन् होला भन्ठानेको,' मिसेस हटचिन्सनले आफ्नो हात एप्रनमा पुछ्दै भनिन्, 'अनि झ्याल बाहिर हेरेको त केटकेटिहरु गैसकेछन्। बल्ल आज सत्ताइस तारिख हो भनेर सम्झे अनि दौडेर आए।' मिसेस डेलाक्रोले भनिन्, 'समय मै त आइपुग्यौ। ऊ… अगाडी अझै गफ्फिदै छन्।' मिसेस हटचिन्सनले घाँटी तन्काइन् र आफ्नो श्रीमान् र बच्चाहरू अगाडिपट्टि फेला पारिन्। बिदा लिन मिसेस डेलाक्रोको हातमा थपथपाइन् र भिडको बीचबाट आफ्नो बाटो खोज्न थालिन्। उनलाई मानिसहरूले सजिलोगरी बाटो छोडिदिए। दुई–तीन जनाले ठीक अगाडिसम्म सुन्ने गरी कराए, 'तपाई तिर तपाईकी मायालु आउँदै हुनुहुन्छ है, हटचिन्सन,' अनि 'बिल, आउदिनिन् भनेको त आइपुगिछिन्।' मिसेस हटचिन्सन आफ्नो श्रीमान्कहाँ पुगिन् र पर्खिरहेका मिस्टर समरले खुसीसाथ भने, 'तिमी बिना नै सुरु गर्नु पर्ला भन्ने लागेको थियो, टेस्सि।' मिसेस हटचिन्सन दाँत देखाउँदै भनिन्, 'अनि भाडा चाइ तपाईले माझ्दिनुहुन्थ्यो की क्या हो, जो?' हाँसोको लहर भिडको पछाडिसम्म फैलियो। मिसेस हटचिन्सनको आगमनसाथ सबैजना आ–आफ्नो ठाउँमा उभिए। 'ल अब,' मिस्टर समरले भने, 'सुरु गरौँ है त। छिटो सक्काऔँ अनि काममा फर्कौँ। कोहि आउन बाँकी छ?' 'डनबार,' केहिले भने। 'डनबार, डनबार।' मिस्टर समरले आफ्नो सूची हेरे। 'क्लाइड डनबार,' उनले भने। 'हो त नि। उसको खुट्टा भाच्चिएको छ, हैन र? उसकोलागि कसले निकाल्छ?' 'मैले होला सायद,' एकजना महिलाले भनिन्। मिस्टर समर उनलाई हेर्न मोडिए। 'श्रीमतीले श्रीमानकालागि निकाल्छन्।' मिस्टर समरले भने। 'उमेर भएको छोरा छैन निकाल्नलाई, जेनी?' प्रश्नको उत्तर मिस्टर समर लगायत गाउँले सबैलाई थाहा भए तापनि चिट्ठाको आधिकारिक व्यक्तिले त्यस्तो प्रश्न गर्नु उसको कर्तव्य थियो। मिसेस डन्बारले उत्तर दिइरहँदा मिस्टर समरले विनम्रतापूर्वक सुनिरहे। 'होरेस सोह्र पनि पुगेको छैन।' मिसेस डन्बारले अफसोसका साथ भनिन्। 'यो साल बुडाकोलागि मैले नै गर्नु पर्ला।' 'ठिक छ,' मिस्टर समरले भने। आफूले बोकेको सूचीमा टिपोट गरे। अनि सोधे, 'वाटसन ठिटोले निकालिरा'छ यसपाली?' भिडबीचबाट एक अग्लो केटोले हात उठायो। 'म यहाँ छु,' उसले भन्यो। 'मैले आफ्नी आमै र आफ्नैलागि निकाल्छु।' उसले केही आत्तिँदै आफ्नो आँखा झिम्झिमायो र भिडले 'ज्याक केटो ठिक छ,' र 'आमाले केटा मान्छे पाएर राम्रै भएछ,' जस्ता शब्दहरू भन्दा उसले आफ्नो टाउको निहुरायो। 'ल,' मिस्टर समरले भने, 'सायद यति नै होला। वार्नर बुडो छन्?' 'यता,' एउटा आवाजले भन्यो र मिस्टर समरले टाउको हल्लाए। — मिस्टर समरले आफ्नो गला सफा गरेर सूचीमा हेर्दा भिडमा सन्नाटा छायो। 'सबैजना तयार हो?' उनले बोले। 'ल, अब म नाम पढ्छु। परिवारको मुली पहिले – पुरुषहरु। आउनुहोस् र बाकसबाट एउटा कागज तान्नुहोस्। सबैजनाले पालो नपाउँदासम्म कागज पट्ट्याएर नै राख्नु होला। बुझियो कि नाइँ?' गाउँलेहरूले यति धेरै चोटि चिट्ठा तानिसकेका थिए कि उनीहरूले निर्देशन आधा मात्र सुने। धेरैले कतै नहेरिकन आफ्नो ओठ टोक्दै थिए। मिस्टर समरले हात माथि उठाए र भने, 'आडम।' एकजना पुरुष भिडबाट निस्किएर अगाडि आए। 'सन्चै स्टिभ?' मिस्टर समरले भने र मिस्टर आडमले भने, 'सन्चै जो?' उनीहरूले एकअर्कालाई जिस्क्याए सरह केही असजिलो पारामा मुस्कुराए। मिस्टर आडमले कालो बाकसभित्रबाट एउटा पट्ट्याइएको कागज निकाले। कागजको कुना च्याप्दै हतार–हतार भिडमै फर्किएर आफ्नो परिवारभन्दा अलि टाढा उभिए। उनले आफ्नो हाततिर हेरेनन्। 'आलेन,' मिस्टर समरले भने। 'एन्डरसन…. बेन्थाम।' 'आजकाल दुई लटरीबीच समय नै बितेको छैन जस्तो हुन्छ,' पछिल्लो लाइनमा मिसेस डेलाक्रोले मिसेस ग्रेभ्सलाई भनिन्। 'यो भन्दा अगाडिको चिट्ठा अन्तिम हप्ता भएझैँ लाग्छ।' 'समय खोला हैन बाढी नै रहेछ,' मिसेस ग्रेभ्सले भनिन्। 'क्लार्क…. डेलाक्रो।' 'गए मेरा बुढा,' मिसेस डेलाक्रोले भनिन्। श्रीमान् अगाडि नपुग्दासम्म उनले आफ्नो श्वास अड्काइरहिन्। 'डन्बार,' मिस्टर समरले भने। मिसेस डन्बार बिस्तारै बाकसतिर लागिन्। एक महिलाले भनिन्, 'जाउ जाउ जेनी।' अर्कीले भनिन्, 'गईन् जेनी।' 'हामी यसपछि हौँ।' मिसेस ग्रेभ्सले भनिन्। मिस्टर ग्रेभ्सले मिस्टर समरलाई अभिवादन गरेर बाकसबाट एउटा कागज नछानिन्जेल हेरिरहिन्। भिडभरिका पुरुषहरूले पट्टाइएको कागजलाई आफ्ना ठूला हातहरूमा व्याकुलतापूर्वक ओल्टाइपल्टाइराखेका थिए। 'हार्बर्ट…. हटचिन्सन।' 'गै'हाल बिल,' मिसेस हटचिन्सनले भनिन् र वरिपरिका मानिस हाँसे। 'जोन्स।' 'मैले अस्ति सुनेको,' मिस्टर आडमले छेउमा उभिएको वार्नर बुढालाई भने, 'त्यो उत्तरपट्टिको पल्लो गाउँमा त चिट्ठा खेल्न छोड्ने रे।' वार्नर बुढाले आफ्नो नाक बजाए। 'बौलाहाको बथान,' उनले भने, 'यी नवजवान युवाहरुको सुन्यो भने उनीहरुलाई केहिले पनि कहिल्यै पुग्दैन। भोलिपल्ट फेरी गुफामा बस्न जाऔं भन्लान्। कामधाम केहि छैन। त्यस्तरी बाचौं भन्छन्। पहिले बुढापाकाले भन्थे 'जुनमा चिट्ठा, अनि मकैको बिट्टा'। अनि खाइन्थ्यो अभिजालोको सुप र बाँझको फल। चिट्ठा पहिल्यैदेखि सधैँ थियो।' उनले चिढिएर थपे, 'हेर न त्याँ, हाम्रा युवराज जो समर सबैसँग जिस्किदै बसेको।' 'कुनैकुनै ठाउँमा त चिट्ठा छोडिसके,' मिस्टर आडामले भने। 'त्यसले समस्यै समस्या मात्र निम्त्याउछ,' वार्नर बुडाले भने। 'बौलाहाका बथान।' 'मार्टिन।' बबी मार्टिन आफ्नो बुवा अगाडि गएको हेर्यो। 'ओभरडाइक…. पर्सी।' 'अलि छिटछिटो गरेको भए हुन्थ्यो,' मिसेस डन्बारले आफ्नो जेठो छोरोलाई भनिन्। 'अलि छिटछिटो गरेको भए हुन्थ्यो।''सक्किनै लाग्यो त।' छोराले भन्यो। 'बाउलाई बोलाउन तयार बस्।' मिसेस डन्बारले भनिन्। मिस्टर समरले आफ्नै नाम बोलाए। अगाडि बढे। एउटा चिट्ठा उठाए। अनि उसले बोलाए, 'वार्नर।' 'सतहत्तर साल भयो मेरो, सतहत्तर,' वार्नर बुढाले भिड चिर्दै भने। 'सतहत्तर चोटी।' 'वाटसन।' अग्लो केटो अनौठो ढंगले भिडबाट अगाडि आयो। कसैले भन्यो, 'नआत्तिएस्, ज्याक।' मिस्टर समरले भने, 'समय लिए हुन्छ, बाबु।' 'जनिनी।' — एकछिन श्वास पनि नसुनिने शून्यता छायो। मिस्टर समरले आफ्नो कागज हावामा लहराउँदै भने, 'ल साथीहरु।' एकछिन कोही पनि हल्लिएनन्। सबै कागजहरू खोलिए। एक्कासि सबै महिलाहरू एकैचोटि बोल्न सुरु गरे, 'को हो?,' 'कोसँग छ?,' 'डन्बारहरुले पाए हो?' 'वाटसन हो?' अनि आवाजहरूले भन्न थाले, 'हटचिन्सन हो। बिल।' 'बिल हटचिन्सनले पायो।' 'जा बाउलाई गएर भन्,' मिसेस डन्बारले आफ्नो जेठो छोरालाई भनिन्। मानिसहरूले हट्चिन्सन परिवारलाई हेर्न वरिपरि आँखा घुमाए। बिल हटचिन्सन आफ्नो हातको कागजमा घोरिएर हेर्दै चुप लागेर उभिएका थिए। एक्कासि टेस्सि हटचिन्सनले मिस्टर समरलाई कराइन्, 'तपाईले वहाँलाई लिन मन लागेको कागज निकाल्न समय दिनुभएन। मैले तपाईलाई हेरिराथे। यो झेल्ली भयो।' 'त्यस्तो नभन न, टेस्सि,' मिसेस डेलाक्रोले कराइन्। मिसेस ग्रेभ्सले भनिन्, 'हामी सबैले बराबर मौका पाएकै थियौँ।' 'चुप लाग्, टेस्सि,' बिल हटचिन्सनले भने। 'ल सबैजना,' मिस्टर समरले भने, 'अहिलेसम्म सबै छिटो नै भयो। अब अझै छिटो गरौँ अनि समयमै सक्काइहालौँ।' उनले आफ्नो सूची हेरे। 'बिल,' उनले भने, 'तिमीले हटचिन्सन कुलकोलागि निकाल्छौ। हटचिन्सनहरुको कुनै अरु परिवार छ?' 'डन र ईभा छन् त,' मिसेस हटचिन्सनले कराइन्। 'तरखै बराबर मौका उनीहरुलाई?''छोरीहरुले उनीहरुको श्रीमानको परिवार तर्फबाट निकाल्छन्, टेस्सि,' मिस्टर समरले सानो स्वरमा भने। 'तिमीलाई र यहाँ सबैलाई थाहा छ त।' 'यो ठिक भएन,' टेस्सिले भनिन्। 'मिल्दैन होला, जो,' बिल हटचिन्सनले अफसोसका साथ भने। 'मेरी छोरीले आफ्नो श्रीमानको परिवारबाट निकाल्छे। त्यो नै ठिक हो। मसँग छोराछोरी बाहेको अरु कोहि परिवार छैनन्।' 'त्यसोभए परिवारकोलागि निकाल्ने पनि तपाई हुनुभयो,' मिस्टर समरले बुझाउँदै भने, 'र कुलकोलागि निकाल्ने पनि तपाई नै हुनुभयो, हैन?' 'हो,' बिल हटचिन्सनले भने। 'कतिजना बच्चाहरु छन्, बिल?' मिस्टर समरले औपचारीकतापुर्वक सोधे। 'तीन,' बिल हटचिन्सनले भने। 'बिल जुनिअर, न्यान्सी र सानो डेभ। अनि टेस्सि र म।' 'ल ठिक छ।' मिस्टर समरले भने। 'ह्यारी, उनीहरुको कागज फिर्ता लियौ?' मिस्टर ग्रेभ्सले टाउको हल्लाउँदै कागजहरू माथि उठाए। 'बाकसमा फिर्ता हाल त्यसोभए,' मिस्टर समरले अर्ह्याए। 'बिलको पनि लेउ र फिर्ता राख।' 'फेरी सुरु गर्नु पर्छ।' मिसेस हटचिन्सनले सक्दो सानो स्वरमा भनिन्। 'मैले भने त ठिक भएन। वहाँलाई छान्न समय नै दिनुभएन। सबै…जनाले देखेका थिए।' मिस्टर ग्रेभ्सले पाँचओटा कागज चुनेर बाकसमा हालिसकेका थिए। बाँकी कागज भुइँमा फाले। मन्द हावाले ती कागजहरूलाई उडायो। 'ल सुन्नुहोस् सबैजना,' मिसेस हटचिन्सनले आफू वरपरका मानिसहरूलाई भन्दै थिइन्। 'तयार छौ, बिल?' मिस्टर समरले सोधे। बिल हटचिन्सनले आफ्नो श्रीमती र छोराछोरीलाई एकपल्ट हेरे र टाउको हल्लाए। 'ख्याल राख्नुहोस्,' मिस्टर समरले भने, 'सबैले नलिउन्जेल कागजलाई पट्ट्याएरै राखौँ। ह्यारी, तिमी सानो डेभलाई मद्दत गर।' मिस्टर ग्रेभ्सले सानो डेभको हात लिए। डेभ नहिच्किचाई मिस्टर ग्रेभ्ससँग बाकससम्म आयो। 'बाकसबाट एउटा कागज लेउ डेभि,' मिस्टर समरले भने। डेभिले आफ्नो हात भित्र हाल्यो र हाँस्यो। 'एउटा कागज मात्र निकाल,' मिस्टर समरले भने। 'ह्यारी, उसको लागि तिमी समाइराख।' मिस्टर ग्रेभ्सले सानो बच्चाको हात लिए र उसको कसिलो मुट्ठीबाट पट्ट्याइएको कागज लिएर समाए। डेभले जिज्ञासु नजरले मिस्टर ग्रेभ्सतिर हेरिरह्यो। 'अब न्यान्सी,' मिस्टर समरले भने। न्यान्सी बाह्रवर्षकी थिइ। ऊ अगाडि जाँदा उसका साथीहरूले लामो श्वास फेरे। फरिया हल्लाउँदै उसले बिस्तारै बाकसबाट कागज निकाली। 'बिल जुनियर,' मिस्टर समरले भने। रातो अनुहार र ठूलो खुट्टा भएको बिल्लीले कागज निकाल्दा झन्डै बाकस झार्यो। 'टेस्सि,' मिस्टर समरले भने। टेस्सि एकछिन हिचकिचाइन् र वरिपरि अवज्ञापूर्वक हेरिन्। आफ्नो ओठ टप्प पारिन् र बाकससम्म पुगिन्। एउटा कागज स्वाट्ट निकालिन् र आफ्नो पछाडिपट्टि समाइरहिन्। 'बिल,' मिस्टर समरले भने। बिल हटचिन्सनले बाकसभित्र हात हाले र छामे। केहीबेरमा अन्तिम कागजको टुक्रासहित हात निकाले। भिड शान्त थियो। एकजना केटीले नसुन्ने आवाजमा भनी, 'न्यान्सी नपरोस्।' आवाजको गुञ्जन भिडको कुनाकुनासम्म पुग्यो। 'पहिलेको जस्तो हुँदै भएन,' वार्नर बुढाले भने। 'मानिसहरू पहिलेको जस्तो छैनन्।' 'ल सबैजना,' मिस्टर समरले भने। 'कागज खोल्नुहोस्। ह्यारी, डेभ बाबुको खोल्देउ।' मिस्टर ग्रेभ्सले कागज खोलेर आकाशतिर उचाले। भिडका सबैले खाली कागज देखेर लामो श्वास ताने। न्यान्सी र बिल जुनियर दुवैले एकैचोटि आ–आफ्नो खोले र दुवैजना खुसीले गदगद भए। उनीहरूले टाउकोमाथि राखेर भिडलाई कागज देखाए। 'टेस्सि,' मिस्टर समरले भने। सबैथोक केहीबेर शून्य भयो। मिस्टर समरले बिल हटचिन्सनलाई हेरे। बिलले आफ्नो कागज खोले अनि देखाए। कागज खाली थियो। 'टेस्सिले पाइन्,' मिस्टर समरले भने। उनको आवाज दबिएको थियो। 'उनको कागज हामीलाई देखाउ, बिल।' बिल हटचिन्सन आफ्नी श्रीमतीनजिक गएर उसको हातबाट जबरजस्ती कागज लिए। कागजमा कालो दाग थियो। मिस्टर समरले अघिल्लो रात कोइला कम्पनीको अफिसमा गाढा सिसाकलमले बनाएको त्यही कालो दाग। बिल हटचिन्सनले कागज माथि उठाए। भिडमा हल्लाखल्ला सुरु भयो। 'ल ल साथीहरु,' मिस्टर समरले भने। 'छिटो-छिटो सक्काऔँ।' गाउँलेहरूले परम्पराका पाटोहरू बिर्सिए र पुरानो कालो बाकस हराए। तर उनीहरूले ढुंगा प्रयोग गर्न बिर्सिएका थिएनन्। केटाहरूले बनाएको ढुंगाको थुप्रो तयार थियो। भुइँमा ढुंगाका साथसाथै बाकसबाट निकालिएका कागजका टुक्राहरू थिए। मिसेस डेलाक्रोले दुवै हातले मात्र बोक्न सकिने ठूलो ढुंगा उचालिन्। उनले मिसेस डन्बारलाई भनिन्, 'खै, छिटो गर!' मिसेस डन्बारसँग दुवै हातमा साना ढुंगाहरू थिए। श्वासको लागि स्वास्वा गर्दै उनले भनिन्, 'म त्यति छिटो दौडन सक्दिन। तिमी अगाडी गैराख। म पछिपछि आउँछु।' बच्चाहरूसँग पहिल्यैदेखि ढुंगा थियो। कसैले डेभि हटचिन्सनलाई सबैभन्दा साना ढुंगाहरू दियो। टेस्सि हटचिन्सन बीचमा खाली गरिएको ठाउँमा उभिएकी थिइन्। गाउँलेहरू नजिक आउन थालेपछि उनले हतासमा हात अगाडि सारिन्। 'यो अन्याय भयो,' उनले भनिन्। एउटा ढुंगा उनको टाउकोको एक छेउमा बजारियो। वार्नर बुढोले भन्दै थियो, 'आउ आउ सबैजना, आउ आउ।' भिडको सबैभन्दा अगाडि स्टिभ आडम थिए। नजिकै मिसेस ग्रेभ्स थिइन्। 'यो अन्याय भयो। यो ठिक भएन।' मिसेस हटचिन्सन कराइन्। सबैजना उनीमाथि जाइलागे।

(0)评论

 

关于 Cookie 的说明

Newshunt 使用必要的 Cookie 来保持您的登录状态,并记住您的语言和国家设置,以确保网站按预期运行。在您的许可下,我们还希望使用分析类 Cookie,以了解用户如何使用 Newshunt 并不断加以改进。

同意仅影响数据分析功能,欲了解更多信息,请查看我们的 隐私政策 or 条款与条件.