बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए । घरमा टेलिभिजन चलाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा आकाश गम्भीर घाइते भएका थिए ।
उपचारका लागि उनलाई प्रादेशिक अस्पताल कलैया लगिएकामा चिकित्सकले ईसीजी परीक्षण गर्दा अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको जनाएका प्रवक्ता घलेले जानकारी दिए ।
प्रहरी प्रवक्ता घलेका अनुसार करेन्टबाट बालकलाई छुटाउने क्रममा उनकी हजुरआमा ७० वर्षीया ऐतबरिया देवी, दिदी १२ वर्षीया निलम, छिमेकी ४० वर्षीया फूलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा गम्भीर घाइते भएका छन् ।
उनीहरूमध्ये ऐतबरिया, फूलकुमारी र अनिताको कोल्हवीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको छ भने निलमको कोल्हवीस्थित सीटी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
(0)تبصرے