एल्गोरिदमको युगमा आत्माको खोज: मानवताको अन्तिम परीक्षा

एल्गोरिदमको युगमा आत्माको खोज: मानवताको अन्तिम परीक्षा
View on original source
زمرہ: سائنس ٹیکنالوجی
شیئر کریں
آرکائیو
پسند کریں
तोमनाथ उप्रेती । मानव सभ्यताको इतिहास चेतना, ज्ञान, संघर्ष र आत्मबोधको क्रमिक विकासको इतिहास हो। इतिहासकारहरूले मानव सभ्यतालाई ढुङ्गे युग, कांस्य युग, फलाम युग, कृषि क्रान्ति, औद्योगिक क्रान्ति, सूचना युग र आजको कृत्रिम बुद्धिमत्ताको युगमा विभाजन गरेका छन्। यद्यपि युगहरूका नाम प्रविधि, उत्पादन प्रणाली वा आर्थिक संरचनाका आधारमा राखिएका भए पनि तिनको अन्तर्यमा मानव चेतनाको विस्तार नै लुकेको छ। मानिसले जब पहिलो पटक ढुङ्गालाई औजार बनायो, त्यो प्रकृतिमाथि चेतनाको पहिलो विजय थियो। आगोको आविष्कारले केवल अन्धकार हटाएन, यसले ज्ञान, सुरक्षा र सामाजिक जीवनको नयाँ अध्याय प्रारम्भ गर्‍यो। कृषिको विकासले मानिसलाई घुमन्ते जीवनबाट स्थायी समाजतर्फ उन्मुख गरायो, जसबाट परिवार, संस्कृति, राज्य र सभ्यताको जन्म भयो। इतिहासको प्रत्येक मोडमा मानवले आफ्नो बाह्य संसारलाई रूपान्तरण गर्दै गयो। मेसोपोटामिया, सिन्धु, नाइल र ह्वाङ्हो नदी सभ्यताले नगर योजना, व्यापार, लेखन प्रणाली र शासन व्यवस्थाको विकास गरे। प्राचीन ग्रीसले तर्क, दर्शन र लोकतन्त्रको आधार तयार गर्‍यो भने भारतले वेद, उपनिषद्, बौद्ध दर्शन र योगमार्फत आत्मचेतना तथा आध्यात्मिक ज्ञानलाई सभ्यताको केन्द्रमा राख्यो। चीनले कन्फ्युसियसको नैतिक दर्शन र ताओवादद्वारा सन्तुलित जीवनको मार्ग प्रस्तुत गर्‍यो। यसरी पूर्व र पश्चिम दुवैले फरक–फरक बाटो समाते पनि अन्ततः मानिसको चेतनालाई परिष्कृत गर्ने प्रयत्न नै गरेका थिए। सभ्यताको वास्तविक उन्नति केवल भौतिक साधनको विकासमा होइन, ज्ञान, विवेक, नैतिकता र आत्मबोधको विस्तारमा निहित थियो। अठारौँ शताब्दीको औद्योगिक क्रान्तिले मानव इतिहासमा अभूतपूर्व परिवर्तन ल्यायो। मेसिनले श्रमको स्वरूप बदल्यो, उत्पादन क्षमता बढायो र आधुनिक अर्थतन्त्रको जग बसाल्यो। त्यसपछि विद्युत्, टेलिफोन, रेडियो, कम्प्युटर, इन्टरनेट र डिजिटल प्रविधिको विकासले विश्वलाई एउटै साझा सूचना–समाजमा रूपान्तरण गरिदियो। एक्काइसौँ शताब्दीमा प्रवेशसँगै कृत्रिम बुद्धिमत्ता, बिग डाटा, रोबोटिक्स, जैविक प्रविधि र क्वान्टम कम्प्युटिङले मानव सभ्यतालाई अर्को युगान्तकारी मोडमा ल्याइपुर्‍याएका छन्। आज एल्गोरिदमले सूचना छनोट गर्छ, कृत्रिम बुद्धिमत्ताले भाषा लेख्छ, रोगको प्रारम्भिक पहिचान गर्छ, वैज्ञानिक अनुसन्धानमा सहयोग पुर्‍याउँछ, चित्र र संगीत सिर्जना गर्छ, उद्योग सञ्चालन गर्छ र मानव निर्णय प्रक्रियामा समेत प्रभाव पार्न थालेको छ। इतिहासमा पहिलो पटक मानिसले केवल औजार बनाएको छैन; उसले आफ्नै बौद्धिक क्षमताको अनुकरण गर्ने प्रणाली निर्माण गरेको छ। यही कारण वर्तमानलाई धेरै विद्वानहरूले एल्गोरिद्मिक सभ्यता अथवा कृत्रिम बुद्धिमत्ताको युगका रूपमा व्याख्या गर्न थालेका छन्। (तोमनाथ उप्रेती) तर इतिहासले अर्को गम्भीर सत्य पनि सिकाउँछ। कुनै पनि सभ्यता प्रविधिको उचाइले दीर्घकालीन हुँदैन। रोमन साम्राज्य, माया सभ्यता वा अन्य शक्तिशाली राज्यहरूको पतनले देखाएको छ कि जब नैतिकता कमजोर हुन्छ, चरित्र क्षीण हुन्छ र चेतना स्वार्थको बन्दी बन्छ, तब भौतिक उपलब्धिहरूले पनि सभ्यतालाई बचाउन सक्दैनन्। त्यसैले आज कृत्रिम बुद्धिमत्ताको युगमा मानवजातिसामु सबैभन्दा ठूलो प्रश्न नयाँ प्रविधिको निर्माण होइन, त्यसलाई सञ्चालन गर्ने चेतनाको गुणस्तर हो। इतिहास अब केवल मेसिनको विकासले होइन, मानव चेतना र कृत्रिम बुद्धिमत्ताबीच स्थापित हुने नैतिक सम्बन्धले लेखिने निर्णायक मोडमा उभिएको छ। तर यही असाधारण उपलब्धिको बीचमा एउटा गम्भीर प्रश्न सम्पूर्ण मानव सभ्यतासामु उभिएको छ—यदि मेसिनले सोच्न, सिक्न र निर्णय गर्न थाल्यो भने मानवको विशिष्टता के रहनेछ? अझ गहिरो प्रश्न त यो हो—बुद्धिको अभूतपूर्व विकाससँगै के मानव चेतना पनि त्यत्तिकै परिष्कृत भइरहेको छ, वा हामी प्रविधिको शिखर चुम्दै गर्दा आफ्नै आत्माको आवाजबाट टाढिँदै गएका छौँ? आज हाम्रो हातमा संसारको सम्पूर्ण ज्ञान समेटिएको स्मार्टफोन छ, तर मनमा शान्ति घट्दै गएको छ। सूचना विस्फोट भएको छ, तर विवेकको अभाव महसुस हुन थालेको छ। सामाजिक सञ्जालले मानिसलाई विश्वभर जोडेको छ, तर एक्लोपन, मानसिक तनाव, सामाजिक ध्रुवीकरण र आत्मिक रिक्तता पनि अभूतपूर्व रूपमा बढेका छन्। कृत्रिम बुद्धिमत्ताले उत्पादकता बढाइरहेको छ, तर मानवीय संवेदना, करुणा, सहिष्णुता, नैतिकता र आत्मबोधको प्रश्न झन् जटिल बन्दै गएको छ। यस्तो अवस्थामा मानव सभ्यता केवल प्रविधिको होइन, चेतनाको पनि निर्णायक मोडमा उभिएको छ। इतिहासले देखाउँछ कि कुनै पनि सभ्यताको वास्तविक महानता केवल उसले बनाएका औजार, भवन वा प्रविधिबाट मापन हुँदैन। सभ्यता त्यतिबेला महान् बन्छ, जब शक्ति र नैतिकता, बुद्धि र विवेक, विज्ञान र मानवीय मूल्यबीच सन्तुलन कायम हुन्छ। यही कारणले प्राचीन उपनिषद्हरूले 'आत्मानं विद्धि' अर्थात् 'आफ्नो आत्मालाई चिन' भन्ने सन्देश दिए। बुद्धले बाहिरी संसार जित्नुभन्दा पहिले आफ्नै मनलाई जित्नुपर्ने शिक्षा दिए। सुकरातले आफूलाई चिन भन्ने दर्शनलाई ज्ञानको सर्वोच्च स्वरूप माने। स्वामी विवेकानन्दल 'शिक्षा भनेको मानिसभित्र निहित पूर्णताको अभिव्यक्ति हो भन्दै बाह्य ज्ञानभन्दा आन्तरिक चेतनाको विकासलाई प्राथमिकता दिए। यी सबै शिक्षाले एउटा साझा सत्य उद्घाटन गर्छन्—मानिसको सबैभन्दा ठूलो विजय बाह्य संसारमाथिको होइन, आफ्नै चेतनामाथिको विजय हो। आजको एल्गोरिदमले मानिसको व्यवहार अनुमान गर्न सक्छ, रुचि पहिचान गर्न सक्छ, किनमेलदेखि मतदानसम्मका निर्णयलाई प्रभावित गर्न सक्छ। तर यसले करुणा अनुभव गर्न सक्दैन, क्षमा गर्न सक्दैन, नैतिक द्विविधामा अन्तःकरणको आवाज सुन्न सक्दैन। मेसिनसँग गणना गर्ने क्षमता हुन्छ, तर अन्तरात्मा हुँदैन। उसले तथ्य विश्लेषण गर्न सक्छ, तर सत्यको नैतिक अर्थ अनुभव गर्न सक्दैन। यही अन्तर नै मानिस र मेसिनबीचको मूल भिन्नता हो। यसैले एक्काइसौँ शताब्दीको सबैभन्दा ठूलो प्रश्न 'कृत्रिम बुद्धिमत्ता कति शक्तिशाली बन्छ?' भन्ने होइन; 'मानव चेतना कति परिष्कृत बन्छ?' भन्ने हो। यदि प्रविधिको विकाससँगै नैतिकता, आत्मबोध, उत्तरदायित्व र करुणाको विकास हुन सकेन भने मानव सभ्यता आफ्नै सिर्जनाको बन्दी बन्न सक्छ। तर यदि कृत्रिम बुद्धिमत्ताको शक्तिलाई मानवीय चेतना, नैतिक विवेक र आध्यात्मिक परिपक्वताले निर्देशित गर्न सक्यो भने यही प्रविधि मानव इतिहासको सबैभन्दा ठूलो कल्याणकारी शक्ति पनि बन्न सक्छ। त्यसैले एल्गोरिदमको युगमा मानवताको वास्तविक परीक्षा मेसिनसँग प्रतिस्पर्धा गर्नु होइन आफ्नै आत्मासँग पुनः जोडिनु हो। भविष्यको प्रश्न कृत्रिम बुद्धिमत्ताले के गर्न सक्छ भन्नेभन्दा पनि मानिसले आफ्नो चेतनालाई कुन उचाइमा पुर्‍याउन सक्छ भन्नेमा निर्भर रहनेछ। किनकि प्रविधिले सभ्यता निर्माण गर्न सक्छ, तर त्यस सभ्यतालाई मानवतामय बनाउने शक्ति केवल जागृत चेतनासँग हुन्छ। ( उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

(0)تبصرے

 

کوکیز کے بارے میں ایک نوٹ

نیوزہنٹ آپ کو سائن ان رکھنے اور آپ کی زبان اور ملک یاد رکھنے کے لیے ضروری کوکیز استعمال کرتا ہے، تاکہ سائٹ آپ کی توقع کے مطابق کام کرے۔ آپ کی اجازت سے، ہم یہ سمجھنے کے لیے تجزیاتی کوکیز بھی استعمال کرنا چاہتے ہیں کہ لوگ نیوزہنٹ کو کیسے استعمال کرتے ہیں اور وقت کے ساتھ اسے بہتر بنانا چاہتے ہیں۔

قبول کرنا صرف تجزیات کو متاثر کرتا ہے۔ مزید جاننے کے لیے دیکھیں پرائیویسی پالیسی or شرائط و ضوابط.