पोखरा । कास्कीको किम्रुङ खोलाको बहावमा अचानक ठुलो कमी आएको भन्दै सूचना आएपछि मोदी खोलाको तटीय क्षेत्रमा सुरक्षित रहन प्रहरीले माइकिङ गर्यो ।
माइकिङ पछि स्थानीयहरू सुरक्षित ठाउँमा सरिसकेका छन् । तटीय वडाका अध्यक्षहरूका अनुसार, सबैलाई सुरक्षित ठाउँमा लगिसकिएको छ । किम्रुङ थुनिएपछि मोदी खोलामा प्रत्यक्ष असर पर्छ ।
केही समयअघि पनि यही खोलामा ठुलो बाढी आउँदा बिरेठाँटी बजार, स्याउली बजार लगायत क्षेत्रमा क्षति भएको थियो । थप क्षति नहोस् भनेर नै माइकिङ गरिएको कास्की प्रहरीका सूचना अधिकारी बीरेन्द्र पासवानले जानकारी दिए । खोला थुनिएको आशङ्कामा प्रहरीले तटीय क्षेत्रका बासिन्दाहरूलाई सजग रहन आग्रह गरेको उनले सुनाए ।
'स्थानीयहरूले खोलाको बहाव एकदमै कम भएको र थुनिएको हुन सक्ने जानकारी गराउनुभएको छ,' उनले भने, 'हामीले यसबारे बुझ्न प्रहरी टोली परिचालन गरिसकेका छौँ र स्थानीय हाइड्रो परियोजनासँग पनि समन्वय गरिरहेका छौँ ।' रातको समय भएकाले तत्कालै स्थलगत रूपमा विस्तृत विवरण सङ्कलन गर्न कठिनाइ भएपछि प्रहरीले सम्भावित क्षति न्यूनीकरणका लागि तल्लो क्षेत्रमा पूर्वसूचना जारी गरेको उनको भनाई छ ।
'खोला थुनिएको आधिकारिक पुष्टि भइसकेको त छैन, तर बहाव कम भएकाले थुनिएको हुन सक्ने सम्भावना बलियो छ,' पासवानले थपे, 'कुनै दुर्घटना नहोस् भन्ने उद्देश्यले हामीले तल्लो तटीय क्षेत्रका सम्भावित जोखिमयुक्त बस्तीहरूमा जानकारी गराएर सुरक्षित रहन सजग गराएका छौँ ।'
कास्की प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन र स्थानीय नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी परिचालन गरेको जानकारी दिएको छ ।
(0)Comments