काठमाडौँ । एक वर्ष अघि आजकै दिन अर्थात् ०८२ भदौ २३ गते बिहान जेनजी पुस्ता सडकमा उत्रिँदा '२४ घण्टाभित्रै सरकार ढल्छ र मुलुकले नयाँ दिशा लिन्छ' भनेर सायद कसैले पनि कल्पना गरेका थिएनन् ।
भदौ २३ गते जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा तत्कालीन सरकारले निर्मम दमन गर्दा कैयौँ युवाले ज्यान गुमाए । स्कुल ड्रेसमा रहेका विद्यार्थीसमेत प्रहरीले चलाएको गोलीको निसाना बनेपछि जनआक्रोश बढ्यो र भदौ २४ गते आन्दोलनले उग्र रूप लियो । परिणामस्वरुप कैयौँ सरकारी कार्यालय तथा निजी सम्पत्ति, राजनीतिक दलका कार्यालय, नेताहरूका घर लगायतमा आगजनी भयो ।
स्थिति नियन्त्रण बाहिर गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर राजीनामा दिए । छोटो समयमै सत्ता ढाल्न सफल सो आन्दोलन विश्व इतिहासमै उदाहरणका रूपमा अङ्कित भएको छ ।
ठिक एक वर्ष अघि भएको जेनजी आन्दोलनकै बलमा तत्कालीन प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन भयो । राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ बहुमतसहित प्रतिनिधि सभामा बलियो उपस्थितिमात्र जनाएन, एकल सरकार गठन गर्ने मौका पायो ।
जेनजी आन्दोलन अघिसम्म काठमाडौँ महानगरपालिकाका तत्कालीन नगर प्रमुख वालेन्द्र (बालेन) शाहप्रति जनताको ठुलो 'क्रेज' देखिएको थियो, जसलाई रातोपाटीले मत सर्वेक्षणमार्फत उजागर गरेको थियो । उनै बालेन शाह अहिले देशको प्रमुख कार्यकारी अर्थात् प्रधानमन्त्रीको भूमिकामा छन् ।
प्रधानमन्त्री भइसकेपछि उनले आलोचना, विरोध नखेपेका होइनन् । रास्वपाले एकल बहुमतको सरकार गठन गरेपछि बाँकी सबै दल विपक्षी कित्तामा छन् । प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको, राष्ट्रपतिले सरकारकै नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिरहँदा प्रधानमन्त्री सदनबाट उठेर हिँडेको, संसदमा सीमाबारे विवादास्पद अभिव्यक्ति दिएको, सुकुमबासी बस्ती खाली गराएको लगायतका विषयलाई विपक्षी दलहरूले ठुलो मुद्दा बनाएर संसदमा विरोध पनि जनाए ।
प्रधानमन्त्री बालेनका यस्ता विभिन्न क्रियाकलाप र गतिविधिमाथि विपक्षी दलहरूले प्रश्न उठाइरहँदा जनताले यसलाई कसरी बुझेका छन्, उनीहरूको धारणा के छ भन्ने विषय मुखरित हुन सकेको छैन ।
त्यसैले जेनजी आन्दोलन, अन्तरिम सरकार गठनमा बालेनको भूमिकामात्र होइन, अहिले सरकारको नेतृत्व गरिरहेको हिसाबले पनि बालेनप्रति मतदाता, खासगरी युवा पुस्ताको सोच र दृष्टिकोण परिवर्तन भएको छ कि छैन भन्ने मापन गर्न रातोपाटीले फेरि एक पटक मत सर्वेक्षण गरेको छ ।
त्यसो त, रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसबाट मुलुकले बेहोर्नु परेको ठुलो जनधनको क्षतिका कारण मत सर्वेक्षणको दायरालाई हामीले आफ्नो योजना अनुसार बृहत् बनाउन सकेनौँ । देश नै शोकमा परेको समयमा मत सर्वेक्षणलाई प्राथमिकता दिनु उचित पनि हुँदैनथ्यो । यद्यपि, जेनजी आन्दोलनको एक वर्षको अवधि, कुनै बेला लोकप्रियताको शिखरमा रहेका व्यक्ति नै अहिले प्रधानमन्त्री रहेको अवस्थामा सरकारका काम–कारबाहीप्रति जनताको दृष्टिकोण बुझ्न पनि जरुरी नै थियो ।
हालै मुलुकले झेलेको प्राकृतिक विपद्, त्यसबाट उत्पन्न परिस्थितिका बिच ग्यास अभाव, मूल्यवृद्धि लगायतका समस्या जनताको दैनिक जीवनमा ठडिएका चुनौती हुन् । त्यसैले पनि हामीले यो विषम् परिस्थितिका बाबजुद नमुनाकै रूपमा भए पनि ५–७ सय जनाको बिचमा सर्वेक्षण गर्ने निधो गरेर छोटो तयारीमै किन नहोस्, जनताको धारणा मुखरित गर्ने प्रयास गरेका छौँ ।
सात वटै प्रदेशबाट गरी कुल ६५८ जनाबिच गरिएको सर्वेक्षणले अझै पनि बालेनप्रति नै जनताको भरोसा रहेको प्रस्ट पार्छ । जेनजी आन्दोलनको एक वर्ष अवधिमा भएका परिवर्तन र उपलब्धिप्रति पनि अधिकांश जनता पूर्ण सन्तुष्ट रहेको सर्वेक्षण नतिजाले देखाएको छ ।
जेनजी आन्दोलनपछिको एक वर्ष अवधिमा भएका परिवर्तनप्रति १८ प्रतिशत नागरिकमात्र असन्तुष्ट रहेको पाइएको छ ।सर्वेक्षणमा हामीले 'जेनजी आन्दोलनको एक वर्षमा देखिएको परिवर्तनप्रति कति सन्तुष्ट हुनुहुन्छ ?' भनेर प्रश्न गरेका थियौँ । उत्तरका लागि तीन विकल्प दिइएको थियो– एकदम सन्तुष्ट छु, सामान्य सन्तुष्ट छु र विल्कुल सन्तुष्ट छैन ।
जबाफमा १८.१ प्रतिशतले मात्र विल्कुल सन्तुष्ट छैन भन्ने विकल्प रोजेका थिए । ४२.४ प्रतिशतले एकदम सन्तुष्ट छु भन्ने जबाफ दिएका छन् भने ३९.५ प्रतिशतले सामान्य सन्तुष्ट रहेको जनाए ।
बालेन नेतृत्वको सरकारको प्रारम्भिक पाँच महिनाको कार्यशैलीलाई ४४.२ प्रतिशत मतदाताले 'धेरै राम्रो' भनेर मत प्रकट गरेका छन् । ३९.५ प्रतिशतले 'औसत छ' भनेर जबाफ दिँदा 'राम्रो छैन' भन्ने १६.३ प्रतिशतमात्र छन् ।अझ महत्त्वपूर्ण त यो छ कि, ५८.५ प्रतिशत जनतामा बालेन सरकारले सुशासन, परिवर्तनको प्रत्याभूति तथा विकासप्रतिको जनआकाङ्क्षा पूरा गर्न सक्नेमा पूर्ण विश्वास प्रकट गरेका छन् । यी जनआकाङ्क्षा पूरा हुनेमा पटक्कै विश्वास छैन भन्ने १५ प्रतिशतमात्र छन् भने 'भन्न सक्दिनँ' भनेर जबाफ दिने २६.५ प्रतिशत छन् ।काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा बालेनले गरेको कामको तुलनामा प्रधानमन्त्रीका रूपमा उनले गरेका काम रुचाउने पनि बढी देखिएका छन् ।
'काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा बालेनले गरेका काम राम्रा कि प्रधानमन्त्रीका रूपमा बालेनले गरेका काम राम्रा लागिरहेका छन् ?' भन्ने प्रश्न गर्दा ४७.३ प्रतिशतले प्रधानमन्त्रीका रूपमा गरेका काम राम्रा भनेर जबाफ दिएका छन् । ३३.४ प्रतिशतले भने मेयरका रूपमा बालेनले गरेका काम राम्रा भनेका छन् । यस्तै १९.३ प्रतिशतले दुवै भूमिकामा बालेनले गरेका काम राम्रा नलागेको भनेर जबाफ दिएका छन् ।
'बालेन नेतृत्वको सरकारलाई यीमध्ये तपाईं के सुझाव दिन चाहनुहुन्छ ?' भनेर हामीले सर्वेक्षणमा तीन वटा विकल्प दिएका थियौँ । जसमध्ये 'राम्रो काम गरिरहेको छ, यसलाई निरन्तरता दिइयोस्' भन्ने सुझाव दिने ६२.५ प्रतिशत छन् । 'राम्रो काम भएन, आगामी दिनमा सुधार गरोस्' भन्ने पक्षमा २६.७ प्रतिशतले मत जाहेर गरेका छन् भने 'जुन सरकार आए पनि उस्तै हो, हाम्रो कुरा कसले सुन्छ र ?' भन्ने विकल्प रोज्ने १०.८ प्रतिशत छन् ।
सर्वेक्षणमा सहभागीमध्ये ५७.३ प्रतिशतले प्रधानमन्त्रीका रूपमा बालेनको विकल्प खोज्न जरुरी नरहेको मत जाहेर गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीका रूपमा बालेनको विकल्प खोज्न जरुरी छ कि छैन ?' भनेको सोधिएको प्रश्नमा २५.५ प्रतिशतले मात्र बालेनको विकल्प खोज्नुपर्ने धारणा राखेका छन् । १७.२ प्रतिशतले भने बालेनको विकल्प खोजे पनि, नखोजे पपिन केही फरक नपर्ने मत प्रकट गरेका छन् ।
जेनजी आन्दोलनपछिको एक वर्ष अवधिमा विभिन्न दलका गतिविधिलाई आधार मानेर हामीले उनीहरूको लोकप्रियता मापन गर्ने प्रयास गरेका छौँ । खासगरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा दलको नाम नै उल्लेख गरेर हामीले सर्वेक्षणमा प्रश्न गरेका थियौँ– जेनजी आन्दोलनपछिको एक वर्ष अवधि मूल्याङ्कन गर्नुपर्दा तपाईंलाई यो बिचमा यीमध्ये कुन राष्ट्रिय पार्टीको धारणा र गतिविधि मन परेको छ ?
सर्वेक्षणमा सहभागीमध्ये ६६.६ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टी नै रोजेका छन् । यो मत दुई तिहाइको हाराहारी हो । रोचक त यो छ कि रास्वपाले गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभाको कुल सिटमध्ये ६६ प्रतिशतकै हाराहारीमा उपस्थिति जनाएको छ ।
नेपाली कांग्रेसको धारणा र गतिविधि मन पराउने १२.९ प्रतिशत पाइयो भने नेकपा एमालेको धारणा र गतिविधि ११.९ प्रतिशतलाई मन परेको देखियो ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीको धारणा र गतिविधि मन पराउने केवल ४.४ प्रतिशत पाइएको छ । प्रतिनिधि सभामा ७ सिटका साथ पाँचौँ दल बनेको श्रम संस्कृति पार्टीलाई भने रातोपाटीले गरेको मत सर्वेक्षणमा जनताले छैठौँ स्थानमा धकेलेको पाइएको छ । प्रतिनिधि सभामा ५ सिटका साथ छैटौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रुचाउने २.४ प्रतिशत छन् भने श्रम संस्कृति पार्टीलाई १.८ प्रतिशतले मात्र रुचाएको पाइयो ।
(0)Comments