राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा विवादित धर्मगुरुलाई मञ्चमा अगाडि राखिएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिंहले जेनजी सहिदको मञ्चमा विवादित धर्मगुरुलाई अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राख्नुको अर्थ सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन्।
'विवादित धर्मगुरुहरूलाई जेनजी सहिदको मञ्चमा अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको छ ? संविधान, समावेशिताको धज्जी उडाउने र देशका लागि सही काम गर्नेहरूलाई पाखा लगाउने यो सरकारले के सन्देश दिन खोजेको छ ? आफ्नै निर्णयमा टिक्न नसक्ने अनि विवादै विवादका काम गर्ने सरकारलाई छुट छैन,' उनले फेसबुकमा लेखका छन् ।
मंगलबार जेनजी सहिद दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित स्मृति सभामा धर्मगुरु विजय भण्डारी र श्रीनिवास आचार्य सहभागी थिए । कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने कानुनमन्त्री सोबिता गौतम, मन्त्री महावीर पुन, मन्त्री सुनिल लम्साल, रास्वपा सांसद, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याललगायत सहभागी थिए।
कार्यक्रममा जेनजी सहिदका परिवार तथा आफन्त र जेनजी अगुवाहरूको समेत सहभागिता थियो। विवादित धर्मगुरुको सहभागितालाई लिएर सामाजिक सञ्जालमा समेत बहस भइरहेको छ।
यही विषयमा सिंहले आफ्नै निर्णयमा टिक्न नसक्ने र विवादै विवादका काम गर्ने छुट सरकारलाई नभएको समेत बताएका छन्। उनले सरकारका विवादास्पद निर्णय र गतिविधिको सदन तथा सदनबाहिरबाट निरन्तर विरोध गर्दै आएका छन् ।
(0)Comments