भदौ १० को घटनाले स्पष्ट पाठ दिएको छ । हिमाली जोखिम बदलिादै छ, त्यसैले हाम्रो विज्ञान, पूर्वसूचना, सञ्चार, राहत र पुनर्निर्माणको अभ्यास पनि बदलिनुपर्छ । हामीले हरेक पहिरो वा बाढी रोक्न नसकौंला, तर क्षति घटाउन सक्छौं । जोखिम बुझ्न, समुदायसाग अभ्यास गर्न, सही सूचना समयमै पुर्याउन, सीमापार सहकार्य बलियो बनाउन र राहत तथा पुनःस्थापनामा अदृश्य मानिसलाई पनि केन्द्रमा राख्न सक्छौं ।
बादल पोखरेल,स्वेता वानियाँ,आकाश आचार्य
१० भदौको बिहान रसुवामा आएको विपद्पछिको संकट बुझ्न र अबको बाटो तय गर्न यसलाई केवल एउटा सामान्य बाढीका रूपमा बुझ्नु पर्याप्त हुँदैन । हिमालको माथिल्लो भागबाट यो विपद्को सिर्जना भएको थियो । हिम र चट्टानको पहिरो, ढुंगा, माटो र भग्नावशेषसहितको गेग्रान बहाव (डेब्री फ्लो) अन्ततः विनाशकारी आकस्मिक बाढीमा बदलिएको थियो । प्रारम्भिक वैज्ञानिक विश्लेषणले माथिल्लो ल्हेन्दे खोला जलाधार क्षेत्रमा ठूलो परिमाणमा हिमचट्टान र माटो एकैपटक भत्किएर तीव्र गतिमा तल झरेको संकेत गर्छ । तल झर्दै जाँदा त्यसले थप ढुंगा, माटो र पानी समेट्दै गयो र अत्यन्त शक्तिशाली बहावमा रूपान्तरण भयो । यसले ठूला ढुंगा, हिम र भग्नावशेष बोकेको थियो । छोटो समयमै नदीको सतह तीव्र रूपमा बढेको पाइयो ।
यसको असर सबै ठाउँमा एउटै प्रकारको थिएन । उत्तरगया गाउँपालिका–२ को सिम्ले क्षेत्रभन्दा माथि नदी उपत्यका साँघुरो छ । यस्तो खोचमा पानी र गेग्रान सीमित ठाउँबाट तीव्र गतिमा बग्दा नदीले गहिरो कटान गर्ने र किनार तथा संरचनामा ठूलो शक्ति केन्द्रित गर्ने सम्भावना बढी हुन्छ । तलतिर उपत्यका फराकिलो हुँदै जाँदा त्यही बहाव फैलिन्छ र ठूलो क्षेत्रमा पानी तथा गेग्रान थुप्रिन्छ । त्यसैले माथिल्लो साँघुरो भागमा गहिरो कटान र तल्लो फराकिलो भागमा व्यापक फैलावट देखिन सक्छ । यसैकारण रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी र तल्लो नदी करिडोरमा क्षतिको स्वरूप फरक देखिएको छ । घर, सडक, पुल, भन्सार र जलविद्युत् संरचनामा ठूलो क्षति पुगेको छ, कतिपय ठाउँमा नदीको धार र भू–दृश्य नै बदलिएको छ । त्यसैले अहिलेको प्रश्न कति घर बगे भन्ने मात्र होइन, अब कुन ठाउँ सुरक्षित छ, मानिस कहाँ फर्कन सक्छन् र पुनर्निर्माण कहाँ र कसरी गर्ने भन्ने पनि बहसको विषय हो ।
भौतिक विनाशसँगै सूचना र सञ्चारको गम्भीर संकट पनि देखिएको छ । घटना भएको केही घण्टामै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा तस्बिर, भिडियो र नामावली फैलिन थाले । सेना, प्रहरी, सरकारी निकाय, स्थानीय प्रतिनिधि र सञ्चारमाध्यमले आफ्ना माध्यमबाट सूचना दिए ।तर बेपत्ता आफन्त खोजिरहेको परिवारलाई चाहिएको उत्तर सरल छ– आफ्नो मानिस कहाँ छ ? जीवित छ कि छैन ? उद्धार गरिएको छ कि छैन ? कुन अस्पताल वा शिविरमा खोज्ने ? यिनै प्रश्नको उत्तर पाउन सबैभन्दा कठिन भएको छ । विभिन्न निकायबाट विवरण आइरहेका छन्, तर परिवारले एउटै ठाउँबाट अद्यावधिक र प्रमाणित जानकारी पाउन सक्ने व्यवस्था अझ प्रभावकारी बनाउनुपर्ने देखिएको छ । यसलाई दोष खोज्ने विषयभन्दा पनि भविष्यका लागि सुधार गर्नुपर्ने महत्त्वपूर्ण पाठका रूपमा लिनुपर्छ ।
विपद्का बेला सूचना केवल तथ्य सार्वजनिक गर्ने काम होइन, मानिसले बुझ्ने, विश्वास गर्ने र त्यसका आधारमा निर्णय लिन सक्ने गरी सूचना पुर्याउने प्रक्रिया हो । धेरै सूचना हुनु र सही सूचना सहज रूपमा पाउनु एउटै विषय होइनविपद्का बेला सूचना केवल तथ्य सार्वजनिक गर्ने काम होइन, मानिसले बुझ्ने, विश्वास गर्ने र त्यसका आधारमा निर्णय लिन सक्ने गरी सूचना पुर्याउने प्रक्रिया हो । धेरै सूचना हुनु र सही सूचना सहज रूपमा पाउनु एउटै विषय होइन ।
एआईबाट बनाइएका भिडियो, पुराना दृश्य र अपुष्ट सूचनाले निम्त्याएको अन्योलबारे हामीले यसअघि पनि लेखिसकेका छौं । तर पछिल्ला दिनमा अवस्था फेरिएको छ । सूचना अझै अत्यन्त परिवर्तनशील छ, तथ्यांक र विवरण घण्टैपिच्छे बदलिरहेका छन् र हरेक नयाँ अपडेटसँगै अघिल्लो जानकारी अपूर्ण वा पुरानो बन्न सक्छ । त्यसैले अहिलेको आवश्यकता एउटै आधिकारिक स्रोतबाट नियमित, प्रमाणित र समयमै अद्यावधिक हुने सूचना प्रणाली हो । अहिले आधिकारिक सूचना पनि फेसबुकलगायत सामाजिक सञ्जालमार्फत मात्र प्रसारित भइरहँदा, सामाजिक सञ्जालको पहुँच नभएका वा अक्षरज्ञान नभएका व्यक्तिसम्म महत्त्वपूर्ण सूचना नपुग्ने अवस्था छ ।
स्याटेलाइट तस्बिरले बाढीको फैलावट, पहिरो वा भत्किएका संरचना देखाउन सक्छ । तर जमिनको वास्तविकता त्योभन्दा धेरै जटिल हुन्छ । यस लेखका सहलेखक आकाश आचार्य अहिले रसुवामै छन् । उनी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्ने, घटनाको प्रकृति विश्लेषण गर्ने, आवश्यक तथ्य र जानकारी संकलन गर्ने तथा राहतमा समेत संलग्न छन् । उनको प्रत्यक्ष अनुभवले एउटा महत्त्वपूर्ण पक्ष उजागर गर्छ– नक्सा र तस्बिरले धेरै विषय देखाए पनि जोखिमको वास्तविक स्वरूप बुझ्न जमिनमै पुगेर हेर्नु, स्थानीय मानिससँग कुरा गर्नु र बदलिँदो अवस्थालाई प्रत्यक्ष महसुस गर्नु आवश्यक हुन्छ ।नदी किनारको गेग्रान फेरि बग्न सक्छ, काटिएका भीरबाट अर्को पहिरो आउन सक्छ, खोलाले नयाँ धार लिन सक्छ र सडक वा पुलको जग कमजोर भएको हुन सक्छ । त्यसैले उद्धारका क्रममा 'त्यहाँ कसरी पुग्ने ?' भन्ने प्रश्नसँगै 'त्यहाँ पुग्ने बाटो सुरक्षित छ कि छैन ?' भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
यही ठाउँमा स्थानीय ज्ञान र स्थलगत अवलोकनको महत्त्व बढ्छ । कुन गोरेटो खुला छ, कुन डाँडा सुरक्षित छ र कहाँ पहिरोको पुरानो इतिहास छ भन्ने जानकारी स्याटेलाइटले मात्र दिन सक्दैन । नक्सा, मोडल र रिमोट सेन्सिङ आवश्यक छन्, तर जमिन नहेरी निर्णय पूर्ण हुँदैन । जोखिम बुझ्न जमिनको बनावट, नदीको व्यवहार र समुदायको अनुभवलाई सँगै समेटिनुपर्छ । राहत वितरणदेखि विपद् व्यवस्थापनसम्बन्धी नीति र नियमावली निर्माणसम्म समुदायको आवाज र स्थानीय अनुभवलाई प्राथमिकता दिनुपर्छ ।
राहत वितरणमा पनि यही संवेदनशीलता आवश्यक छ । मुख्य सडक नजिक रहेका वा सञ्चारमाध्यममा देखिएका मानिस मात्र पीडित होइनन् । आदिवासी, दलित समुदाय, दुर्गम बस्तीका परिवार, मजदुर, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति र सम्पर्कबाट टाढा रहेका समुदाय विपद्का बेला धेरै पटक अदृश्य रहन्छन् । त्यसैले राहत वितरण पहुँच, चिनजान वा दृश्यताका आधारमा होइन, वास्तविक आवश्यकता र जोखिमका आधारमा हुनुपर्छ ।
चेतावनी मोबाइल सन्देशमा मात्र सीमित हुनु हुँदैन । साइरन, एफएम रेडियो, स्थानीय प्रहरी, वडा कार्यालय र समुदायका स्वयंसेवकसम्म पुग्नुपर्छ । प्रविधि असफल भए पनि सूचना पुग्ने वैकल्पिक माध्यम रहनुपर्छ र चेतावनी आएपछि के गर्ने भन्ने समुदायले पहिल्यै अभ्यास गरेको हुनुपर्छ ।यस विपद्ले वैज्ञानिक अनुसन्धानको भूमिका र सीमाबारे पनि सोच्न बाध्य बनाएको छ । यस लेखका सहलेखक बादल पोखरेलले रसुवालगायत हिमाली क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि गरेको पहिरोसम्बन्धी अनुसन्धानले एउटा महत्त्वपूर्ण कुरा देखाउँछ– सांख्यिकीय विश्लेषण र जोखिम नक्सांकनमार्फत जोखिम कहाँ बढी छ भनेर पहिचान गर्नु मात्र पर्याप्त हुँदैन । यस्ता अध्ययन अत्यन्त आवश्यक छन्, तर अब अनुसन्धानलाई नक्सा र मोडलभन्दा अगाडि लैजानुपर्छ, जहाँ जमिनको वास्तविक अवस्था, स्थानीय अनुभव र समुदायको आवाज पनि जोखिम बुझ्ने प्रक्रियाको अभिन्न हिस्सा बनून् ।
त्यसैगरी, सहलेखक स्वेता बानियाँको विगत १५ वर्षदेखिको सूचना, सञ्चार र समुदायसम्बन्धी अध्ययन तथा अनुभवले के देखाउँछ भने, जोखिमको समयमा सही सूचना नै जीवन जोगाउने महत्त्वपूर्ण आधार बन्न सक्छ । रसुवा बाढीमा करिब ३० मिनेटअघि मात्र पुगेको चेतावनीले ज्यान जोगाउन पर्याप्त समय नदिएको हामीले देखिसकेका छौं । त्यसैले विपद् भइसकेपछि सरकार आएर सबैको एकैचोटि उद्धार गर्नुपर्ने अवस्थासम्म पुग्नुभन्दा अगाडि नै सरकारले समुदाय, स्थानीय निकाय र नागरिक समाजसँग मिलेर पूर्वतयारी, सूचना प्रवाह र जिम्मेवारीको स्पष्ट व्यवस्था बनाउन जरुरी छ ।
चेतावनी आएपछि मानिस कहाँ जाने, सडक बन्द भए वैकल्पिक बाटो के हो, वृद्धवृद्धा, बालबालिका, अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य सीमान्तकृत समूहलाई कसरी सुरक्षित ठाउँमा पुर्याउने र स्थानीय तहमा उद्धार कसरी सुरु गर्ने भन्ने प्रश्न पनि अनुसन्धानसँग जोडिनुपर्छ । यसका लागि नियमित सामुदायिक अभ्यास आवश्यक छ ।
विपद्सम्बन्धी ज्ञान विद्यालय तहदेखि नै समुदायसम्म समेटिनुपर्छ । बालबालिकाले सुरक्षित स्थान, प्रकोपका संकेत, आपत्कालीन सम्पर्क र परिवारको पूर्वयोजना बुझेर हुर्किन पाउनुपर्छ । समुदायमा निकासी अभ्यास, सुरक्षित भेला हुने स्थानको पहिचान र स्थानीय स्वयंसेवकको तयारीले चेतावनीलाई व्यवहारमा रूपान्तरण गर्न सक्छ ।
पूर्वसूचनालाई कसरी प्रभावकारी बनाउने ?
नेपालमा वर्षा, बाढी र वर्षाजन्य पहिरोका लागि विभिन्न पूर्वसूचना प्रणाली विकास भएका छन् । अब हिमाली जोखिमको शृंखलाबद्ध प्रकृतिलाई पनि तिनमा समेट्नुपर्छ । यसको अर्थ नयाँ प्रणाली शून्यबाट बनाउनु होइन, भइरहेका प्रणालीमार्फत् सूचना प्रवाहलाई अझ गतिशील, पहुँचयोग्य र समावेशी बनाउनुपर्छ ।
हिमनदी र हिमतालको भूउपग्रह निगरानी, जोखिमयुक्त ढलानको गतिविधि, नदीको जलस्तर र असामान्य भूकम्पीय संकेतलाई एउटै साझा प्रणालीमा ल्याउन सकिन्छ । माथिल्लो जलाधारमा असामान्य कम्पन, अचानक नदी अवरोध वा पानीको सतहमा तीव्र परिवर्तन देखिए तल्लो क्षेत्रका स्थानीय तह, सुरक्षा निकाय र समुदायसम्म तुरुन्त सूचना पुग्ने स्पष्ट 'प्रोटोकल' आवश्यक छ ।
चेतावनी मोबाइल सन्देशमा मात्र सीमित हुनु हुँदैन । साइरन, एफएम रेडियो, स्थानीय प्रहरी, वडा कार्यालय र समुदायका स्वयंसेवकसम्म पुग्नुपर्छ । प्रविधि असफल भए पनि सूचना पुग्ने वैकल्पिक माध्यम रहनुपर्छ र चेतावनी आएपछि के गर्ने भन्ने समुदायले पहिल्यै अभ्यास गरेको हुनुपर्छ । अशक्त व्यक्ति, महिला, बालबालिका र सीमान्तकृत समुदायलाई पनि यस्ता अभ्यासमा सक्रिय रूपमा सहभागी गराउन सके मात्र हामीले विपद्सँग जुध्ने सामुदायिक क्षमता बलियो बनाउन सक्छौं ।
यो समस्या नेपालभित्र मात्र सीमित छैन । हिमाली नदी प्रणाली चीनबाट नेपाल हुँदै भारततर्फ बग्छन् । माथिल्लो जलाधारमा भएको घटनाको प्रभाव छोटो समयमा सीमा पार गर्न सक्छ । त्यसैले नेपाल, चीन र भारतबीच नदी बहाव, हिमनदी, हिमताल, पहिरो र असामान्य घटनासम्बन्धी सूचना आदानप्रदान अझ बलियो बनाउनुपर्छ ।
सीमावर्ती नदीमा वास्तविक समयको सूचना साझेदारी, संयुक्त जोखिम नक्सांकन र आकस्मिक घटनाका लागि स्पष्ट सम्पर्क बिन्दु आवश्यक छन् । नदीले राजनीतिक सीमा चिन्दैन, जोखिम र सूचना पनि सीमाभित्र बन्द हुन सक्दैन ।
पुनर्निर्माण मात्र होइन, पुनःस्थापना
भदौ १० को घटनाले स्पष्ट पाठ दिएको छ । हिमाली जोखिम बदलिँदै छ, त्यसैले हाम्रो विज्ञान, पूर्वसूचना, सञ्चार, राहत र पुनर्निर्माणको अभ्यास पनि बदलिनुपर्छ ।अबको अर्को ठूलो प्रश्न पुनर्निर्माण हो । पुरानै ठाउँमा पुरानै घर बनाउनु मात्र समाधान होइन । नयाँ नदी मार्ग, अस्थिर ढलान, भविष्यको बाढी जोखिम र पहुँचको अवस्था हेरेर कुन ठाउँमा पुनःबसोबास सुरक्षित हुन्छ भन्ने निर्णय गर्नुपर्छ । यस प्रक्रियामा प्रदेश सरकारले स्थानीय समुदायसँग नजिकबाट समन्वय र सहकार्य गर्दै उनीहरूको अनुभव, आवश्यकता र प्राथमिकतालाई निर्णय प्रक्रियामा समेट्नुपर्छ ।
तर मानिसलाई 'यो ठाउँ असुरक्षित छ, यहाँ नबस्नुस्' भन्नु मात्र पर्याप्त हुँदैन । पुनःस्थापना गर्दा सुरक्षित घरसँगै जीविकोपार्जनको विकल्प, रोजगारी, बजार, विद्यालय, स्वास्थ्य सेवा र यातायातको पहुँच पनि दिनुपर्छ ।
आफ्नो खेत, काम र सामाजिक सम्बन्ध छोडेर नयाँ ठाउँमा स्थापित गर्नु राम्रो होइन । नयाँ ठाउँमा जानुपर्ने परिवारका लागि आर्थिक भविष्य सुनिश्चित नगरी गरिएको पुनर्वास दिगो हुँदैन ।
भदौ १० को घटनाले स्पष्ट पाठ दिएको छ । हिमाली जोखिम बदलिँदै छ, त्यसैले हाम्रो विज्ञान, पूर्वसूचना, सञ्चार, राहत र पुनर्निर्माणको अभ्यास पनि बदलिनुपर्छ । हामीले हरेक पहिरो वा बाढी रोक्न नसकौंला, तर क्षति घटाउन सक्छौं । जोखिम बुझ्न, समुदायसँग अभ्यास गर्न, सही सूचना समयमै पुर्याउन, सीमापार सहकार्य बलियो बनाउन र राहत तथा पुनःस्थापनामा अदृश्य मानिसलाई पनि केन्द्रमा राख्न सक्छौं ।
अबको बाटो जोखिमको अध्ययनमा मात्र सीमित हुने होइन । सिक्ने, अभ्यास गर्ने, समुदायलाई तयार बनाउने, सञ्चार सुधार्ने र अर्को विपद् आउँदा कसैलाई पनि सूचना, उद्धार, राहत वा पुनःस्थापनाबाट बाहिर नपार्ने व्यवस्था निर्माण गर्ने हो ।
बादलपोखरेल अस्ट्रेलियाको सिड्नीस्थित 'समक्लाइमेट' मा 'हेड अफ डेटा साइन्स एन्ड रिसर्च' का रूपमा कार्यरत छिन् ।
स्वेताबानियाँ अमेरिकाको 'भर्जिनिया टेक' की एसोसिएट प्रोफेसर हुन् ।
आकाशआचार्य रसुवाका स्थानीय 'इन्जिनियरिङ जियोलोजिस्ट' हुन्।
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
कान्तिपुर पब्लिकेशन्स् लि.सेन्ट्रल बिजनेस पार्क, थापाथलीकाठमाडौं, नेपाल
(0)Comments