कम

कमलजंग देव ‘कुँवर’

जलवायु परिवर्तनको असरबाट बच्ने विकल्प

Image
आँखैअगाडि कहालीलाग्दो अवस्था हुँदासमेत निरीह भएर बस्नुपर्ने बाध्यता हाम्रै अवैज्ञानिक, अव्यावहारिक, अव्यवस्थित क्रियाकलापका कारण उत्पन्न भएको हो । अब यसको समाधान पनि हामीले नै खोज्नुपर्छ । १० भदौमा रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्‍याएको विनाशमा हामी कहाँ चुक्यौं त्यसको कारण खोज्न ठन्डा दिमागले सोच्ने बेला भएको छ । जनधन, गाउँबस्ती, विद्यालय, भौतिक पूर्वाधार गुमाउनुपर्दाको पीडा कालो बुधबारको रूपमा जीवनकालभरि मनमा चित्रित भइरहनेछ । आँखैअगाडि कहालीलाग्दो अवस्था हुँदासमेत निरीह भएर बस्नुपर्ने बाध्यता हाम्रै अवैज्ञानिक, अव्यावहारिक, अव्यवस्थित क्रियाकलापका कारण उत्पन्न भएको हो । हामीले प्रकृति, भौगर्भिक प्रणाली, देवता, भगवान्लाई दोष लगाउन सकौंला तर यो सबैको मुख्य कारक हामी स्वयं नै हौं । हाम्रा कारणले समस्या उत्पन्न भएको हो भने अब यसको समाधान पनि हामीले नै खोज्नुपर्छ । हामी विश्वकै संवेदनशील भूगोलमा छौं । १५ प्रतिशत हिमाल, ६८ प्रतिशत पहाड, १२ प्रतिशत चुरे तथा भावर रहेको यो देश भूकम्पीय जोखिमको हिसाबले विश्वको ११औं र प्राकृतिक प्रकोपहरूका कारण १६औं स्थानमा छ । प्रकृति नै हाम्रो जीवनको आधार हो । यसकारण जल, जलवायु, जलाधार, जंगल, जनावर, जडिबुटीको संरक्षण हुनुपर्छ । जलवायु परिवर्तनको असर नदीदेखि अन्न उब्जनीसम्म जलवायु परिवर्तनको कारण तापक्रम वृद्धिसँगै तीव्र गतिमा हिउँ पग्लिने, हिमपहिरो, बाढी जाने, नदी कटान, डुबान मात्रै होइन, पानीका स्रोतहरू सुक्दै जानेछन् । यस्तै, अस्वाभाविक रूपमा जलचक्रमा परिवर्तन, जलभण्डार रित्तिनु, अन्नबाली, तरकारी, फलफूलको बीउ उम्रने छैनन् । उम्रेका बिरुवामा पनि वृद्धि नहुने, फूल र फल नलाग्ने हुँदा भोकमरीको अवस्था आउन सक्छ । यसले मानव अस्तित्वमाथि नै संकट उत्पन्न गर्न सक्छ । मानव अस्तित्व रक्षाका लागि वातावरणसम्बन्धी समस्या उजागर गर्नुलाई ठगी र जलवायु परिवर्तन तथा जैविक विविधताबारे चेतना जगाउनु ठगी धन्धा हो भन्ने अमेरिकी राष्ट्रपति, वातावरण संरक्षण वाहियात हो भन्ने नेपाली राजनीतिज्ञ, विकासवादी, इन्जिनियरहरूलाई भोटेकोशीले मच्चाएको तवाहीले गतिलो झापड हानेको छ । नेपालमा भौतिक पूर्वाधार सडक, सिँचाइ नहर, विद्युत् उत्पादन आदि अगाडि बढ्नुपर्छ, त्यसमा दुईमत नै छैन तर सवाल नियतको हो । चीन र भारतका कारण नेपाल उच्च प्रभावित विश्वमा हरित ग्यास उत्सर्जन गर्ने देशहरूमा चीन ३० देखि ३३ प्रतिशत, भारत ७ देखि ८ प्रतिशत, अमेरिका ११.७ प्रतिशत, नेपालको हिस्सा ०.०४ देखि ०.१ प्रतिशत रहेको छ । भारत र चीनको हरित ग्यास उत्सर्जनका कारण सिर्जित जलवायु परिवर्तनको असरले नेपाल अत्यधिक प्रभावित छ । परिणामस्वरूप अस्वाभाविक मौसम, तापक्रममा वृद्धि, हिउँ पग्लिने, हिमताल बन्ने र फुट्ने, हिमपहिरोका कारण तल्लो तटीय क्षेत्रका गाउँबस्ती र भौतिक पूर्वाधारमा क्षति हुँदा ठूलो जनधन नष्ट भएका छन् । यिनै दुई देशको कारण अन्य देशका तुलनामा नेपालको तापक्रम औसत ०.०६ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ । फलस्वरूप तीव्र गतिमा हिउँ पग्लिरहेको छ र यसबाट हिमनदीमा ठूलो प्रभाव परेको छ । मानव अस्तित्व जोगाउने विकल्प विश्व शान्ति र अहिंसा विश्व शान्ति र अहिंसा नै जलवायु परिवर्तनबाट मानव अस्तित्व जोगाउने एउटै मात्र विकल्प विश्वसामु रहेको छ । जलवायु परिवर्तन हुनुमा हाम्रो आहारबिहार पनि एक मुख्य कारण हो । धेरै अन्न उत्पादनका लागि कृषि भूमि बढाउन वन विनाश, सिँचाइका कारण भूमिगत जलभण्डार रित्तिँदै छन् । पशुपालनमा फोहोर व्यवस्थापन, उत्पादन, प्रशोधन, ओसारपसार, बिक्रीवितरणका कारण उत्पन्न प्रदूषणले जलवायुमा परिवर्तन भएको छ । जलवायु परिवर्तनमा २० प्रतिशत भूमिका वन विनाश तथा वन क्षयीकरणबाट भएको छ । यस्तै, औद्योगिक प्रदूषण र जीवाश्म इन्धनको प्रयोगका कारण ७५ प्रतिशत र ५ प्रतिशत हवाई उड्डयनका कारण भइरहेको छ । औसत वार्षिक १३.१ अर्ब मेट्रिक टन हरित ग्यास उत्सर्जन गर्ने चीन र ३.१४ देखि ४.४ अर्ब मेट्रिक टन हरित ग्यास उत्सर्जन गर्ने भारतलाई हामी रोक्न सक्षम छैनौं । तर जलवायु परिवर्तनलाई प्रत्यक्ष असर पार्ने कतिपय चिजवस्तुको प्रयोग नगर्ने र बहिष्कारसम्म गर्ने हिम्मत हामीले गर्नुपर्छ । जलवायु परिवर्तन एवं वातावरणविद्का आफ्ना दैनिक गतिविधिहरू पनि कति जलवायुमैत्री छन्, त्यसको मनन गरेर अरूलाई मात्रै दोष दिएर आफू उम्कन मिल्दैन । विश्वमा जलवायु परिवर्तनमा हामी स्वयं कति जिम्मेवार छौं, आफैंले आफूलाई सोध्नुपर्ने बेला भएको छ । चाणक्य पण्डितले नीतिपद्य १.१५ मा नखीनां च नदीनां च शृङ्गीणां शस्त्रपाणिनाम् विश्वासो नैव कर्तव्यः अर्थात् नङ्ग्रा तथा सिङ हुने प्राणी, नदी र हतियार बोकेका मानिसको कहिल्यै विश्वास गर्नु हुँदैन भनेर मानव जातिलाई सुझाव दिएका छन् । नदी सभ्यताबाट नै मानव जातिको विकास भएको हो तर नदीलाई हेरेर बस्ती बसाउनुपर्छ, मानिसले आफ्नो आवश्यकता हेरेर नदीको किनारामा बस्ती बसाल्नु मूर्खता हो । हाम्रा नागरिकलाई जोगाउने एउटै उपाय हो सुरक्षित आवास । यस्ता बाढी, पहिरो फेरि फेरि पनि आउन सक्छन् तर नदीको भेलबाट जोगिने उपाय आफैंले खोज्नुपर्छ । भारतको दिल्ली राज्यको क्षेत्रफल १,४४८ वर्ग किलोमिटर र जनसंख्या २ करोड ३० लाख छ । नेपालको जनसंख्या २ करोड ९१ लाख रहेको छ । नेपालको १५ प्रतिशत भूभाग हिमाली, ६८ प्रतिशत भूभाग महाभारत तथा पहाड र १३ प्रतिशत भाग चुरे र भित्री मधेशले ओगटेको छ । बाँकी ४ प्रतिशतका हिसाबले नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटरको ४ प्रतिशतले हुन आउने ५,९०१ वर्ग किलोमिटर क्षेत्रफलमा सुरक्षित आवासको व्यवस्था गर्न सकिन्छ । काठमाडौं, पोखरा, सुर्खेत लगायतका उपत्यका र उदयपुर, चितवन, दाङ लगायतका दुनहरूलाई समेत सुरक्षित मानिने हुँदा अरू थप क्षेत्र सुरक्षित बसोबासका लागि उपयुक्त छन् । नेपालको भू–उपयोगिता प्रणालीमा हिमाली क्षेत्र जडिबुटी र पशुपालनका लागि, पहाडलाई जडिबुटी, पशुपालन, फलफूल खेतीका लागि, चुरेलाई जडिबुटी र अति संरक्षित क्षेत्रका रूपमा छुट्याउने हो भने मात्रै नेपालमा धनजनको क्षतिको जोखिमलाई न्यून गर्न सकिन्छ । भोटेकोशी बाढीमा भूगर्भविद् र इन्जिनियरले अनुमान गरेकोभन्दा धेरैमाथि नदीको सतह पुगेको छ । विगतमा भोगेको सेती नदी बाढी, सोलुखुम्बु थामेको अवस्था, गत सालको भोटेकोशीको रौद्र रूपले पनि हाम्रा गाउँबस्ती सुरक्षित गर्ने भावी योजना तयार पार्न मार्गनिर्देश गर्छ । भीर–पहरा, नदी किनारा, चुरे, बाघ, गैंडा, हात्ती लाग्ने स्थलभन्दा धेरै टाढा सुविधासम्पन्न बस्तीको विकास गर्नुपर्छ । एकीकृत बस्तीमा अस्पताल, खेलमैदान, भूकम्प प्रतिरोधात्मक भवन, बाढी, पहिरो, कटान, डुबानबाट सुरक्षित सस्तो, भरपर्दा आवास निर्माण गर्न सकिन्छ । हाम्रा पूर्वजहरूले एकीकृत बस्तीको ढाँचामा बस्ती बसालेका थिए । नेपालमा अब जलवायु परिवर्तनको आहतबाट नागरिकलाई राहत दिन त्यही अवधारणालाई पुनःस्थापित गर्ने हिम्मत र आँट गर्नुपर्छ । नेपालका एक किलोमिटरभन्दा बढी लम्बाइ भएका ६,००० नदीहरूमध्ये सबैभन्दा बढी यात्रुको मृत्यु र सवारीसाधनको नोक्सानी त्रिशूली नदीमा भइरहेको छ । यसमा नदीको केही दोष छैन, आफ्नो सुरक्षाका लागि अग्ला र सुरक्षित पर्खाल लगाउने नेता कर्मचारीले नागरिकको सुरक्षाका लागि नदीतर्फको सडक किनारामा सवारीसाधन नखस्ने बलियो संरचना बनाएनन् । वर्षमा १० किलोमिटरको दरले निर्माण गरेको भए पनि १३ वर्षमा जुगेडीदेखि गल्छीसम्मको १ सय २९ किलोमिटर सडक किनारामा मजबुत पर्खाल निर्माण गर्न सकिन्थ्यो । त्यसैले भोटेकोशी र त्रिशूली नदीलाई 'नेपालको दुःख' भन्ने उपनाम दिएर मात्रै उन्मुक्ति पाउँदैनौं । दुःखको कारण नदी होइन, हाम्रा नीति र मानवीय व्यवहारहरू हुन् । जलवायु परिवर्तनमा प्रत्यक्ष भूमिका खेल्ने हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि यसको नियन्त्रणमा नेपालको भूमिका प्रभावकारी हुन सक्ला/नसक्ला । तर हामीले जस्तोसुकै विषम परिस्थितिमा पनि जोगिने उपायहरूको अवलम्बन गर्नुको विकल्प छैन । नेपालका अधिकांश राजनीतिज्ञ, योजनाविद्, वातावरणविद्हरू विदेशी दाता राष्ट्रहरूसँग अनुनयविनय गरेर कहाँबाट अनुदान र सहयोग पाइन्छ भन्नेमा मात्रै ध्यान केन्द्रित गरिरहेका छन् । तर जलवायु परिवर्तनका कारण हामीलाई पुगेको अपूरणीय क्षतिबापत वातावरणीय सेवा भुक्तानी लिने व्यवस्था गर्नुपर्छ । यसरी जनधनको क्षतिको पूर्ति लिनुभन्दा क्षति हुनै नदिने उपायमा हामीले लगानी गर्नु उचित हुन्छ । कमलजंगकुँवर गैंडालाई चार वर्ष पुस्तकका लेखक एवं चितवन राष्ट्रिय निकुञ्ज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका पूर्व चिफ वार्डेन हुन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
जलवायु परिवर्तनको असरबाट बच्ने विकल्प
View on original source
Share
Archive
Like

(0)Comments

 

Related Opinion

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.