कहिलेकाहीँ आफूले केही गर्न सक्दिनँ जस्तो लाग्न सक्छ । तर सानो प्रयास पनि निरर्थक हुँदैन, त्यसको महत्त्व सानो हुँदैन भन्ने कुरा बुझ्नु नै यसबाट बाहिर निस्किने पहिलो कदम हो ।
१० भदौको भोटेकोशी विपत्तिपछि हामीलाई फरक अनुभूति भइरहेको छ । धेरैलाई यो विपद्को दृश्य टाढाबाट मात्र हेरिरहेका छौं भन्ने महसुस भइरहेको छ । हामी भत्किएका घरहरू देख्छौं, आफ्ना प्रियजनको खोजीमा रहेका मानिसहरूको कथा सुन्छौं, उद्धार प्रयासहरू पछ्याउँछौं र हरेक दिन मोबाइलको स्क्रिनमा क्षतिका समाचार पढ्छौं ।
धेरै मानिसका लागि यो अनुभूति शब्दमा व्यक्त गर्न गाह्रो छ । हामीमध्ये धेरैको जीवन भने सामान्य ढंगले नै चलिरहेको छ । हामी खाना खान्छौं, काममा जान्छौं, साथीभाइ भेट्छौं र आफ्नै ओछ्यानमा सुत्छौं, जबकि अरू मानिसहरू त्यस्ता अनुभवबाट गुज्रिरहेका छन्, जसलाई हामीले पूर्ण रूपमा बुझ्न पनि सक्दैनौं ।
यही विरोधाभासले हामीलाई असहज वा कहिलेकाहीँ आफैंलाई दोषी महसुस गराउन सक्छ । किनभने अरू कसैको जीवन पूर्ण रूपमा अस्तव्यस्त भएको बेला हामी भने आफ्नो दैनिक जीवनलाई सामान्य रूपमा अघि बढाइरहेका हुन्छौं ।
त्यसपछि एउटा प्रश्न उठ्छ- मैले के गर्न सक्छु? यो प्रश्न सजिलै अर्को प्रश्नमा बदलिन सक्छ- के मैले पर्याप्त गरिरहेको छु ? यहीँबाट निरुपाय महसुस हुन सक्छ । यस्तो लाग्नु अस्वाभाविक होइन । विपत्तिले प्रभावित मानिसहरूमा मात्र होइन, टाढाबाट घटनालाई हेरिरहेका मानिसहरूमा पनि अनिश्चितता, डर र मानसिक तनाव पैदा गर्छ । हामीले केही कुरा हाम्रो नियन्त्रणबाहिर पनि हुन्छन् भन्ने बुझ्न आवश्यक छ ।
जे भइसक्यो, त्यसलाई हामी फर्काउन सक्दैनौं । तर यो पनि होइन कि हामी केही गर्नै सक्दैनौं । यस्ता संकटका बेला हामी समस्याको विशालता हेर्छौं र त्यसलाई आफूले गर्न सक्ने सहयोगसँग तुलना गर्छौं । त्यसो गर्दा हाम्रो व्यक्तिगत योगदान निकै सानो देखिन थाल्छ र उपयोगी कामसमेत अर्थहीन जस्तो लाग्न सक्छ ।
तर सबै कुरा गर्न नसक्नु र केही पनि गर्न नसक्नु एउटै कुरा होइन ।
हामीले गर्न चाहेको र वास्तवमा गर्न सक्नेबीच सधैं केही दूरी रहन्छ । त्यो दूरी सहयोगबाट पछि हट्ने कारण बन्नु हुँदैन । बरु त्यसले हामीले अझ के सिक्नुपर्छ, के फरक गर्न सकिन्छ र अर्को पटक कसैलाई सहयोग आवश्यक पर्दा कसरी अझ उपयोगी बन्न सकिन्छ भन्ने देखाउन सक्छ । हामीले सबै समस्या समाधान गर्नुपर्छ भन्ने छैन । हामीले आफ्नो पहुँचभित्र के छ भन्ने पहिचान गरेर त्यही गर्नुपर्छ ।
अहिले धेरै मानिस प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष सहयोग गर्न चाहन्छन् । अरू धेरैले घण्टौंसम्म अपडेट खोजिरहेका छन्, हरेक पोस्ट पढिरहेका छन् र भइरहेका सबै घटनाक्रम पछ्याउने प्रयास गरिरहेका छन् । यसका पछाडि हाम्रो उद्देश्य राम्रो नै हुन्छ । हामी आफूलाई उपयोगी बनाउन चाहन्छौं ।
तर एउटा बिन्दु यस्तो पनि आउँछ, जहाँ सहयोग गर्ने चाहना आफैं तनावको स्रोत बन्न सक्छ । तपाईंले घण्टौंसम्म जानकारी खोज्न, दुःखद तस्बिर र भिडियो हेर्न समय खर्चिनुहुन्छ, तर दिनको अन्त्यमा थकित र केही पनि गर्न नसकेको अनुभूतिसहित बस्नुपर्छ । समाधान भनेको चासो लिन छोड्नु होइन । समाधान भनेको यस्तो तरिकाले चासो लिनु हो, जसले तपाईंलाई असहाय नबनाओस् ।
अर्को एउटा सजिलै फस्न सकिने जाल पनि छ । मोबाइल फोनले हामीलाई पीडा र दुःखका दृश्यहरू तत्काल देखाइदिन्छ । हामी एउटा भिडियो हेर्छौं, त्यसपछि अर्को, फेरि अर्को । हामी समाचार रिफ्रेस गर्छौं, सामाजिक सञ्जाल हेर्छौं र छिनछिनमा नयाँ अपडेट खोज्छौं । हामी आफैंलाई भन्छौं- 'जानकारीमा रहनु आवश्यक छ ।' र कतिपय अवस्थामा त्यो आवश्यक पनि हुन्छ ।
तर हेर्नु र सहयोग गर्नु एउटै कुरा होइन । दुःखका दृश्यमा निरन्तर डुबिरहनुले प्रभावित मानिसहरूलाई राहत दिँदैन । बरु यसले हामीलाई नै मानसिक रूपमा थकित र अभिभूत बनाउन सक्छ ।
यो केवल धारणा मात्र होइन । विपत्तिसम्बन्धी सञ्चारमाध्यमको सामग्रीमा हुने अत्यधिक सम्पर्कबारे गरिएका अनुसन्धानहरूले देखाएका छन् कि यस्ता सामग्रीको निरन्तर सम्पर्कले प्रत्यक्ष रूपमा विपत्तिमा नपरेका मानिसहरूमा समेत मानसिक तनाव, आघातपछिका लक्षण (पोस्ट-ट्रमाटिक स्ट्रेस) लगायतका समस्या देखिन सक्छन् । त्यसैले सञ्चारमाध्यममार्फत हुने सम्पर्क पनि मानिसहरूको मानसिक प्रतिक्रियाको महत्त्वपूर्ण हिस्सा बन्न सक्छ ।
यसको अर्थ हामीले चासो लिन छोड्नुपर्छ वा समाचार हेर्नै हुँदैन भन्ने होइन । यसको अर्थ हामीले आफैंलाई एउटा सरल प्रश्न सोध्नुपर्छ- म यो जानकारीलाई के गर्नेछु ?
यदि हामीले खोजिरहेको कुरा केही गर्न सकिने, व्यवहारमा उतार्न सकिने जानकारी हो भने, त्यस्तो जानकारी उपयोगी हुन सक्छ । तर, हेर्नुबाट टाढिनु भनेको हामीलाई वास्ता छैन भन्ने हो भन्ने भावनाले एउटै पीडा बारम्बार हेरिरहेका छौँ भने, अब केहीबेर रोकिएर सोच्ने समय हुन सक्छ । तपाईंलाई वास्ता छ भन्ने प्रमाणित गर्न हरेक पीडादायी तस्बिर हेर्नैपर्छ भन्ने छैन । तपाईं ठीक हुनुहुन्छ भने ठीकै हुन पाउनुहुन्छ ।
सायद अहिलेको सबैभन्दा असहज भावना अपराधबोध हो । तपाईं साथीसँग हाँस्दै हुनुहुन्छ र अचानक दोषी महसुस गर्न थाल्नुहुन्छ । तपाईं स्वादिलो खाना खानुहुन्छ, जिम जानुहुन्छ, चलचित्र हेर्नुहुन्छ वा शान्तसँग सुत्नुहुन्छ अनि ती सुविधा नपाइरहेका मानिसहरूको सम्झना आउँछ । तर तपाईंको अपराधबोधले अरू कसैको पीडा कम गर्दैन । आफूलाई दुःखी बनाएर अरू कसैको अवस्था सुधारिँदैन ।
दुःखप्रति उदासीन हुनु र दुःखबारे चिन्तित रहँदै पनि आफ्नो जीवन जिउनुबीच ठूलो फरक छ । तपाईं आफू सुरक्षित भएकोमा कृतज्ञ हुन सक्नुहुन्छ र असुरक्षित अवस्थामा रहेका मानिसहरूको चिन्ता पनि गर्न सक्नुहुन्छ । तपाईं आफ्नो सामान्य क्षणको आनन्द लिन सक्नुहुन्छ र एकै समयमा अरू ठाउँमा भइरहेको दुःखप्रति संवेदनशील पनि रहन सक्नुहुन्छ ।
यसको अर्थ पीडाबाट आँखा चिम्लिनुपर्छ भन्ने होइन ।
सानैबाट सुरु गरौं । यदि तपाईंसँग स्रोत-साधन छ भने विश्वसनीय राहत अभियानमार्फत योगदान दिनुहोस् । यदि तपाईंसँग उपयोगी सीप छ भने वैध र प्रभावकारी स्वयंसेवाको अवसर खोज्नुहोस् । डर फैलाउने सूचना होइन, सहयोग पुग्ने जानकारी साझा गर्नुहोस् । दु:खमा रहेका साथी, परिवारका सदस्य वा सहकर्मीको अवस्था बुझ्नुहोस् । यदि तपाईं आफैं अभिभूत महसुस गरिरहनुभएको छ भने त्यो भावना एक्लै बोक्ने होइन, कसैसँग कुरा गर्नुहोस् । र, कहिलेकाहीँ केही समय केही नगर्नु पनि आवश्यक हुन्छ ।
खानुहोस् । सुत्नुहोस् । काम गर्नुहोस् । पढ्नुहोस् । साथीहरूसँग कुरा गर्नुहोस् । घरबाहिर निस्कनुहोस् । मोबाइलबाट केही समय टाढा बस्नुहोस् । यस्तो बेला यी कामहरू अर्थहीन जस्ता लाग्न सक्छन्, जब केही पनि सामान्य महसुस भइरहेको हुँदैन । तर दैनिक दिनचर्याले हाम्रो मनलाई अडिने स्थिर आधार दिन्छ । व्यावहारिक सहयोग, सामाजिक सम्बन्ध र मानिसहरूलाई पुनः सुरक्षित तथा नियन्त्रणमा रहेको अनुभूति दिलाउने प्रयासहरू जस्तै, हामीले आफैंका लागि पनि त्यही गर्न आवश्यक हुन सक्छ ।
हामीले सबै कुरा ठीक हुनेछ भनेर आफैंलाई जबर्जस्ती विश्वास दिलाउन आवश्यक छैन । किनभने हामीलाई त्यो थाहा छैन । त्यस्तै, हामीले सबै समस्या समाधान गर्न सक्छौं भन्ने नाटक गर्न पनि आवश्यक छैन ।
हामीले केवल एउटा प्रश्न सोध्नुपर्छ- आज मैले गर्न सक्ने के छ ?
सायद त्यो एउटा सानो सहयोग रकम हुन सक्छ । सायद उपयोगी जानकारी बाँड्न सक्नुहुन्छ । सायद दु:खमा रहेका कसैलाई साथ दिनु हुन सक्छ । वा सायद भोलि फेरि सहयोग गर्न सक्ने अवस्थामा रहनका लागि आज आफूलाई सम्हाल्नु हुन सक्छ । यो विपत्ति हामीमध्ये कुनै एक व्यक्तिभन्दा ठूलो छ । हाम्रो जिम्मेवारी सम्पूर्ण भार एक्लैले बोक्नु होइन । हाम्रो जिम्मेवारी आफूले बोक्न सक्ने भार बोक्नु हो ।
कहिलेकाहीँ आफूले केही गर्न सक्दिनँ जस्तो लाग्न सक्छ । तर सानो प्रयास पनि निरर्थक हुँदैन, त्यसको महत्त्व सानो हुँदैन भन्ने कुरा बुझ्नु नै यसबाट बाहिर निस्किने पहिलो कदम हो ।
दिपेशमानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत पेशाकर्मी हुन् । उनी सचेत उपचारमा केन्द्रित परामर्श केन्द्र एफएचईएएलमा संगठनात्मक मनोवैज्ञानिकका रूपमा कार्यरत छन् ।
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
(0)Comments