अं

अंकलाल चलाउने

द्वन्द्वपीडितलाई न्याय कहिले ?

Image
द्वन्द्वपीडितलाई अब अर्को मिति, अर्को समिति, अर्को म्याद र अर्को राजनीतिक सहमति चाहिएको छैन । उनीहरूलाई आफ्नो जीवनमा देखिने परिणाम चाहिएको छ । सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौता भएपछि १० वर्ष लामो सशस्त्र द्वन्द्व औपचारिक रूपमा अन्त्यतर्फ अघि बढ्यो । सम्झौताले पीडितलाई सत्य, न्याय र परिपूरण दिलाउने तथा समाजमा मेलमिलाप कायम गर्ने प्रतिबद्धता जनाएको थियो । तर करिब २ दशक बितिसक्दा पनि ती प्रतिबद्धता पूर्ण कार्यान्वयन भएका छैनन् । त्यसैले आज पनि प्रश्न उही छ, के पीडित परिवारले न्याय पाए त ? उत्तर सकारात्मक छैन । पीडितको आँखामा हेर्दा थाहा हुन्छ, न्याय अझै बाटोमै छ । नेपालको संक्रमणकालीन न्यायलाई लामो समयदेखि आयोग, कानुन, राजनीतिक सहमति, पदाधिकारी नियुक्ति र सत्ता समीकरणको आँखाबाट हेरिँदै आएको छ । तर पीडितका लागि संक्रमणकालीन न्याय कुनै आयोगको कार्यकाल होइन । यो त आफन्तको मृत्यु वा बेपत्ताको सत्य जान्ने अधिकार, दोषीको जवाफदेहिता, राज्यबाट पीडाको स्विकारोक्ति र सम्मान, सुरक्षा तथा आधारभूत अवसरसहित बाँच्न पाउने अधिकार हो । २०५२ देखि २०६२ सम्म चलेको सशस्त्र द्वन्द्वमा हत्या, बेपत्ता, अपहरण, यातना, बलात्कार तथा यौनजन्य हिंसा, विस्थापन, अंगभंग र सम्पत्ति क्षतिजस्ता मानवअधिकार उल्लंघनका अनेकौं गम्भीर घटना भए । पीडितहरूले हजारौंको संख्यामा उजुरी दर्ता गराएका छन् । सत्य निरूपण तथा मेलमिलाप आयोगमा ७९ हजार ३ सय ९० उजुरी दर्ता भएका छन् । त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ३ हजार ३ सय ५८ उजुरी दर्ता भएका छन् । हरेक उजुरीको पछाडि एउटा परिवार, एउटा अधुरो कथा र वर्षौं लामो प्रतीक्षा छ । शान्ति सम्झौतापछि सरकारको नेतृत्व एक दर्जनभन्दा बढी पटक बदलिसकेको छ । आयोग बने, पदाधिकारी आए, कार्यकाल सकियो, पुनः नियुक्तिका प्रक्रिया चले । कानुन बने र संशोधन भए । तर अनुसन्धान, प्रमाण संकलन, दोषीको पहिचान र परिपूरणका आधारभूत काम अझै अपूरा छन् । समय बित्दै जाँदा प्रमाण हराउँदै छन्, साक्षी वृद्ध हुँदै वा बित्दै छन्, स्मृति धमिलो हुँदै छ । कतिपय पीडित नै न्याय कुर्दाकुर्दै संसारबाट बिदा भइसके । त्यसैले ढिलाइ प्रशासनिक कमजोरी मात्र होइन, यसले न्यायको सम्भावनालाई नै कमजोर बनाइरहेको छ । राज्य भन्छ, 'हामी प्रक्रिया अगाडि बढाइरहेका छौं ।' पीडितको प्रश्न सरल छ, 'मेरो मुद्दामा के भयो ?' नेपालले संक्रमणकालीन न्याय पीडित केन्द्रित बनाउने प्रतिबद्धता जनाएको छ र अन्तर्राष्ट्रिय मान्यता पनि यही हो । तर व्यवहारमा पीडितले आफूलाई प्रक्रियाको केन्द्रमा होइन, एउटा पक्षमा मात्र पाएको अनुभूति गरेका छन् । आयोग गठनदेखि पदाधिकारी छनोट, कानुन निर्माण, अनुसन्धान आदिमा पीडितसँग परामर्श नगरिएको गुनासो छ । पीडित, अभियन्ता तथा अनुसन्धानकर्ताहरूले आयोगका पदाधिकारी छनोटमै पीडितमैत्री प्रावधानलाई बेवास्ता गरिएको बताउँछन् । असन्तुष्ट पक्ष अदालत पुगे । केहीले समानान्तर आयोग गठन गर्ने चेतावनीसमेत दिए । स्पष्ट छ– पीडित केन्द्रमा हुनु भनेको आयोगका हरेक सदस्य पीडित नै हुनुपर्छ भन्ने होइन, निर्णयको पहिलो कसी पीडितको अधिकार, आवश्यकता, सुरक्षा र सम्मान बन्नुपर्छ । तर आयोगमा पदाधिकारी नियुक्तिदेखि कानुन निर्माणसम्ममा राजनीतिक पूर्वाग्रह हट्न सकेन । यससँगै 'पीडित को हो ?' भन्ने प्रश्न पनि जटिल छ । द्वन्द्वबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शारीरिक, मानसिक, भावनात्मक वा आर्थिक क्षति भोगेका व्यक्ति तथा परिवारलाई पीडित मानिन्छ । नेपालको कानुनी व्यवस्थाले सुरक्षा फौज, पूर्वजनमुक्ति सेनाका सदस्य तथा विस्फोटक सामग्रीबाट घाइते व्यक्तिसमेत पीडितको दायरामा ल्याएको छ । पीडित समुदाय आफैं एकरूप छैन । यौन हिंसाबाट बाँचेका महिलाको आवश्यकता बेपत्ता परिवारसँग समान हुँदैन, अंगभंग भएका व्यक्तिको आवश्यकता हत्या भएका परिवारभन्दा फरक हुन्छ । त्यसैले एउटै राहत प्याकेज सबैका लागि न्याय बन्न सक्दैन । द्वन्द्वको घाउ शारीरिक क्षतिमा मात्र सीमित छैन । बेपत्ता परिवारले भोग्ने अनिश्चितता गहिरो मनोसामाजिक घाउ हो । यौन हिंसाबाट बाँचेका महिला, बेपत्ताका पति–पत्नी र पूर्वबाल सैनिकले सामाजिक अपहेलना र मनोवैज्ञानिक बोझ बोकिरहेका छन् । परिवारमा कमाउने सदस्य गुम्नु, सम्पत्ति नष्ट हुनु, विस्थापित हुनु तथा रोजगारी र शिक्षाको अवसर गुम्नुले व्यक्ति र परिवार संकटग्रस्त बनेको छ । डर र असुरक्षाका कारण शिक्षकले जागिर छोडेका उदाहरण छन् । यसले द्वन्द्वले व्यक्ति मात्र होइन, समुदायको सामाजिक क्षमता र संस्थागत जीवनसमेत कमजोर बनाएको देखाउँछ । सत्य स्थापित नहुनु, पीडाको औपचारिक स्विकारोक्ति नहुनु र न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप हुनुले राज्यका संस्थाप्रति अविश्वास जन्माएको छ । काठमाडौंमा 'पीडितकेन्द्रित प्रक्रिया', 'सार्थक सहभागिता', 'अन्तर्राष्ट्रिय मापदण्ड' जस्ता शब्द धेरै सुनिन्छन् । गाउँका पीडितको भाषा भने अर्कै छ, परिवार कसरी चलाउने ? छोराछोरी कसरी पढाउने ? उपचार कसरी गर्ने ? रोजगारी कहाँबाट पाउने ? यसको अर्थ उनीहरूलाई सहभागिता वा संस्थागत सुधार आवश्यक छैन भन्ने होइन । उनीहरूका लागि सैद्धान्तिक भाषाभन्दा सम्मानपूर्वक बाँच्न पाउने प्रश्न अगाडि आउँछ । साँचो पीडितकेन्द्रित प्रक्रिया भनेको राज्यले पीडितको आवश्यकता बुझ्नु हो । पीडितले आर्थिक सहयोग, सामाजिक सुरक्षा, जीविकोपार्जन, रोजगारी, शिक्षा, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, सीपमूलक तालिम र सम्पत्ति फिर्ता मागेका छन् । यी मागलाई केवल 'आर्थिक सहयोग' को सूची भनेर बुझ्नु हुँदैन । कमाउने व्यक्ति गुमाएको परिवारलाई जीविकोपार्जनको आधार दिनु आर्थिक क्षतिको सम्बोधन हो । शिक्षा र रोजगारीले गुमेको सम्भावना पुनर्निर्माण गर्छन् । स्वास्थ्योपचार र मनोसामाजिक परामर्शले शरीर र मनका घाउ निको पार्छन् । गुमेको सम्पत्ति फिर्ता गर्नु पुनःस्थापना हो । राज्यले पीडा स्वीकार गर्नु र औपचारिक माफी माग्नु सन्तुष्टिको पक्ष हो भने हिंसा पुनः नदोहोरिने सुरक्षा र संस्थागत सुधार भविष्यको प्रत्याभूति हो । त्यसैले राहत र परिपूरण एउटै होइनन् । राज्यले मृतक तथा बेपत्ता व्यक्तिका हकदारलाई आर्थिक सहायता, अंगभंग भएकालाई जीवन निर्वाह भत्ता र अन्य राहत दिएको छ । तर यस्ता सहायता मात्रले न्यायको समग्र दायित्व पूरा गर्दैनन् । पीडितका माग भावनात्मक मात्र छैनन्, तिनमा न्यायको स्पष्ट संरचना लुकेको छ । यो संरचना पुस्तान्तरणसँग पनि जोडिएको छ । त्यसैले शिक्षा, बीउपुँजी र सीपमूलक तालिममा नयाँ पुस्तालाई समेटिनुपर्ने माग उठेको छ । तर युवा पुस्तामा न्याय प्रक्रियाप्रति चासो घट्दै जानु चिन्ताजनक छ । न्याय ढिलो हुँदै जाँदा पीडाको स्मृति बोक्ने पुस्ता नै न्यायको आशाबाट टाढिँदै जान सक्छ । यौन हिंसा संक्रमणकालीन न्यायको सबैभन्दा संवेदनशील पक्षमध्ये एक हो । भदौ २०८१ मा कानुन संशोधनपछि बलात्कार तथा गम्भीर यौनजन्य हिंसाका ३ हजार ९१७ थप उजुरी आयोगमा दर्ता भए, जबकि त्यसअघि ३१४ उजुरी थिए । थप उजुरी संख्या करिब १३ गुणा बढी हुनु वर्षौंको मौनताको अर्थ बुझ्न पर्याप्त छ । 'पीडित तिमी मात्रै होइनौं, हामी धेरै छौं' भन्ने अभियान र 'यो मेरो गल्ती होइन, त्यसैले मैले न्याय पाउनुपर्छ' भन्ने चेतनाले केहीलाई अन्यायविरुद्ध बोल्न हौसला दिएको छ । त्यसैले यौन हिंसाबाट बाँचेका व्यक्तिका लागि न्यायको पहिलो सर्त सुरक्षित वातावरण हो । गोपनीयता, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र सामाजिक सुरक्षाबिना उजुरी दर्ता गराउनु मात्र न्याय होइन । संक्रमणकालीन न्यायबारे प्रारम्भिक विधेयक, अध्यादेश, २०७१ को ऐन र त्यसपछिका संशोधन सबैमा पीडित तथा मानवअधिकार समुदायले प्रश्न उठाउँदै आएका छन् । सर्वोच्च अदालतले समेत केही प्रावधान संविधान, अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र आफ्नै पूर्वआदेशको भावनाविपरीत रहेको भन्दै संशोधन गर्न आदेश दिएको थियो । पछिल्लो व्यवस्थाले गम्भीर मानवअधिकार उल्लंघनमा मेलमिलाप गर्न नपाइने र गम्भीर उल्लंघनका दोषीलाई क्षमादान नहुने व्यवस्था गरेको छ तथा परिपूरणलाई पीडितको अधिकारका रूपमा स्वीकार गरेको छ । तर सजायमा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्थालगायत केही प्रावधानप्रति असहमति कायम छ र त्यसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ । यसले देखाउँछ, कानुन बन्नु अन्तिम विन्दु होइन, कानुनले पीडितको विश्वास जित्नु नै वास्तविक परीक्षा हो । अदालतको फैसला वा सजाय मात्र न्याय होइन । पीडितले आफन्तको मृत्युबारे सत्य थाहा पाएमा या बेपत्ता परिवारले अनिश्चियबाट मुक्ति पाएमा पनि एक तहको न्याय निरूपण हुन्छ । गम्भीर अपराध गर्नेले कानुनअगाडि जवाफदेहिता वहन गरे भने त्यो पनि न्यायको एक हिस्सा हो । पीडितले सार्वजनिक स्विकारोक्ति र औपचारिक माफीसँगै मृतकका नाममा पार्क, सडक, विद्यालय, संग्रहालय, स्मारक वा बगैंचा निर्माणको माग गरेका छन् । यो इतिहास सम्झेर भविष्य सुरक्षित बनाउने प्रयास हो । स्मृति न्यायसँग जोडिएन भने इतिहास मौन हुन्छ, इतिहास मौन भयो भने हिंसा दोहोरिन सक्छ । अर्कोतर्फ संक्रमणकालीन न्याय काठमाडौंकेन्द्रित छ । कानुन संशोधन, पदाधिकारी नियुक्ति, आयोगका निर्णय र राजनीतिक सहमति राजधानीमै केन्द्रित छन् तर न्याय पर्खिरहेका धेरै मानिस गाउँमा छन् । विभिन्न तहका सरकारले कुन पीडितलाई के सहायता दिए भन्ने एकीकृत तथ्यांक पर्याप्त नहुँदा सहायता दोहोरिने, कतै नपुग्ने र जिम्मेवारी अस्पष्ट हुने समस्या छ । स्थानीय तहले पीडित परिवारको पहिचान र आवश्यकता अभिलेख राख्न सक्छ । प्रदेशले स्वास्थ्य, शिक्षा, सीप र रोजगारीका कार्यक्रम सञ्चालन गर्न सक्छ । संघले परिपूरण, अभियोजन, सामाजिक सुरक्षा, पीडित तथा साक्षी संरक्षण र राष्ट्रिय मापदण्डको जिम्मेवारी लिन सक्छ । संक्रमणकालीन न्याय आयोगको एउटा सिफारिसको प्रतीक्षा गरेर मात्र बस्ने विषय होइन, यो राज्यका तीनै तहको साझा दायित्व बन्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ । तर पीडितलार्ई आश्वासन मात्रै होइन, परिणाम चाहिएको छ । त्यसका लागि सक्षम र पारदर्शी आयोग, पीडितसँग अर्थपूर्ण परामर्श, अनुसन्धानको समयबद्ध कार्ययोजना, सामाजिक–आर्थिक अवस्थाअनुसार परिपूरण, गम्भीर अपराधमा विश्वसनीय अभियोजन, यौन हिंसाका पीडितको विशेष संरक्षण, पीडित तथा साक्षीको सुरक्षा र तीनै तहका सरकारबीच समन्वय चाहिन्छ । पीडितका प्राथमिकता एकै छैनन् । कसैका लागि सत्य पहिलो हो, कसैका लागि दोषीलाई सजाय । कसैलाई हराएको आफन्तको अवस्था थाहा पाउनु छ, कसैलाई उपचार वा रोजगारी चाहिएको छ । कसैका लागि छोराछोरीको शिक्षा प्राथमिकता हो भने कसैका लागि आफ्नो पीडाको सार्वजनिक स्विकारोक्ति । त्यसैले 'पीडितको आवाज' लाई एउटै मागमा सीमित गर्नु पीडितकेन्द्रित दृष्टिकोण होइन । दुई दशक बितिसकेकाले द्वन्द्वपीडितलाई अब अर्को मिति, अर्को समिति, अर्को म्याद र अर्को राजनीतिक सहमति चाहिएको छैन । उनीहरूलाई आफ्नो जीवनमा देखिने परिणाम चाहिएको छ । संक्रमणकालीन न्यायलाई अब 'शान्ति प्रक्रियाको अन्तिम अध्याय' भनेर मात्र हेर्न मिल्दैन । यो ती परिवारप्रति राज्यको बाँकी दायित्व पूरा गर्ने प्रक्रिया हो, जसले युद्धको मूल्य सबैभन्दा धेरै तिरे । कसैको हातमा बन्दुक थियो, कसैले सन्दुकमा पीडाको प्रमाण जोगाएर राखे, कसैले कलमले वर्षौंदेखि आफ्नो कथा लेखिरहे । कसैले न्यायको ढोका ढकढक्याइरह्यो । पीडितलाई न्यायको प्रतीक्षामा राखेर राज्यले विगतको हिंसा बिर्सन मिल्दैन, न्यायको ढिलाइबाट अर्को पीडा थपिन्छ । त्यसैले ढिलो न्याय कहिलेकाहीँ न्याय नहुनुभन्दा धेरै फरक हुँदैन । अंकलालचलाउने डेमोक्रेसी रिसोर्स सेन्टर नेपालका अनुसन्धाता हुन् । उनका अनुसन्धानहरु मार्टिन चाैतारीका जर्नलहरुमा पनि प्रकाशित छन् । उनी कर्णालीका स्थानीय हुन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
द्वन्द्वपीडितलाई न्याय कहिले ?
View on original source
Share
Archive
Like

(0)Comments

 

Related Opinion

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.