पुनःस्थापनाका क्रममा सरकारी निकाय तथा मानवीय सहायता संस्थाहरू मानव बेचबिखन, बालश्रम, बालविवाह र अन्य प्रकारका शोषणप्रति विशेष सतर्क रहनुपर्छ ।
भोटेकोशीमा हालै आएको आकस्मिक बाढीले ठूलो मानवीय क्षति र व्यापक विनाश निम्त्याएको छ । नेपाल प्रहरीका अनुसार ६ सेप्टेम्बरसम्म मृत्यु हुनेको संख्या १३४१ पुगिसकेको छ, अझै धेरै मानिस बेपत्ता छन् भने अन्य धेरै घाइते भएका छन् । घर तथा जीविकोपार्जनका साधन नष्ट भएका छन् । सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ, जसले अत्यावश्यक सेवाहरू अवरुद्ध गर्नुका साथै प्रभावित समुदायसम्म पुग्न कठिन बनाएको छ ।
आपत्कालीन अवस्थामा बालबालिका सबैभन्दा बढी जोखिममा पर्ने समूहमध्ये एक हुन् । भोटेकोशी बाढीका कारण धेरै बालबालिका विस्थापित भएका छन् र केही आमाबाबु वा हेरचाहकर्ताबाट छुट्टिएका छन् । बालबालिकाका लागि तत्कालको विपद्बाट जोगिनु मात्र पर्याप्त हुँदैन ।आपत्कालीन अवस्थामा बालबालिका सबैभन्दा बढी जोखिममा पर्ने समूहमध्ये एक हुन् । भोटेकोशी बाढीका कारण धेरै बालबालिका विस्थापित भएका छन् र केही आमाबाबु वा हेरचाहकर्ताबाट छुट्टिएका छन् । बालबालिकाका लागि तत्कालको विपद्बाट जोगिनु मात्र पर्याप्त हुँदैन ।आपत्कालीन अवस्थाले उनीहरूलाई चोटपटक, परिवारबाट बिछोड, रोग, कुपोषण, मनोसामाजिक तनाव, शिक्षामा अवरोध, हिंसा, यौन दुर्व्यवहार तथा शोषण, मानव बेचबिखन, बालविवाह र बालश्रमजस्ता एकअर्कासँग जोडिएका अनेकौं जोखिममा पार्न सक्छ । त्यसैले अहिलेको विपद् मानवीय संकट मात्र होइन, बाल संरक्षणको संकट पनि हो । उद्धार, राहत र पुनःस्थापनाका हरेक चरणमा बालबालिकाको सुरक्षा, मर्यादा, कल्याण र अधिकारलाई केन्द्रमा राख्न आवश्यक छ ।
यस्तो विनाशकारी अवस्थामा बालबालिकामाथि विशेष ध्यान दिन आवश्यक हुन्छ किनकि आपत्कालीन अवस्थाबाट उनीहरू प्रायः गम्भीर रूपमा प्रभावित हुन्छन् । विपद्ले बालबालिकाको जीवनका लगभग हरेक पक्षलाई अचानक प्रभावित गर्न सक्छ र यसको असर तत्कालको संकटभन्दा धेरै परसम्म पुग्न सक्छ । यी चुनौतीलाई राम्रोसँग बुझ्न र सम्बोधन गर्न बालबालिकाले सामना गर्ने प्रमुख जोखिमलाई चार समूहमा वर्गीकरण गर्न सकिन्छ ।
१. तत्कालीन शारीरिक तथा पारिवारिक सुरक्षा
चोटपटक र ज्यानको क्षति :बालबालिकाको शरीर तुलनात्मक रूपमा सानो हुने, गतिशीलता सीमित हुने र उनीहरू वयस्कमाथि निर्भर रहने भएकाले बाढी र पहिरोजस्ता तीव्र गतिमा विकसित हुने विपद्मा उनीहरू घाइते हुने वा ज्यान गुमाउने जोखिम बढी हुन्छ ।
परिवारबाट बिछोड तथा विस्थापन :उद्धार तथा सुरक्षित स्थानमा सार्ने क्रममा हुने अस्तव्यस्तताले बालबालिकालाई आमाबाबु वा हेरचाहकर्ताबाट छुट्याउन सक्छ । साथै अस्थायी आश्रयस्थल वा अपरिचित स्थानमा बस्न बाध्य हुन्छन्, जहाँ सुरक्षा, गोपनीयता र अत्यावश्यक सेवाको अभाव हुन सक्छ ।
२. स्वास्थ्य तथा भावनारोग, संक्रमण र कुपोषण :बाढीले खानेपानी दूषित गर्न र सरसफाइ तथा खाद्य आपूर्ति प्रणाली अवरुद्ध गर्न सक्छ । यसले बालबालिकामा झाडापखाला, श्वासप्रश्वास तथा छालासम्बन्धी संक्रमण र कुपोषणको जोखिम बढाउँछ । सुरक्षित पानी र पोषणयुक्त खानाको अभाव हुँदा शिशु तथा साना बालबालिका अझ बढी जोखिममा पर्छन् ।
स्वास्थ्य सेवामा अवरोध :स्वास्थ्य संस्थामा क्षति पुग्दा बालबालिका औषधि, खोप, चोटपटकको उपचार तथा अपांगतासम्बन्धी सहयोगबाट वञ्चित हुन सक्छन् । मातृ तथा नवजात शिशु सेवामा अवरोध आउँदा गर्भवती महिला र नवजात शिशुको जोखिम पनि बढ्छ ।
मानसिक स्वास्थ्य तथा भावनात्मक तनाव :विनाश, चोटपटक वा मृत्यु देख्नु तथा घर र प्रियजन गुमाउनुजस्ता घटनाले बालबालिकामा शोक, चिन्ता, डर, निद्रासम्बन्धी समस्या र व्यवहारमा परिवर्तन ल्याउन सक्छ । यस्तो अवस्था प्रायः त्यही समयमा उत्पन्न हुन्छ, जब उनीहरूका आमाबाबु र शिक्षक स्वयं शोक र तनावसँग जुधिरहेका हुन्छन् ।
३. शोषण र हिंसायौन दुर्व्यवहार तथा शोषणको बढ्दो जोखिम :आपत्कालीन अवस्थाले विद्यमान संरक्षण प्रणाली कमजोर बनाउँछ । अत्यधिक भीडभाड भएका आश्रयस्थल, अपर्याप्त प्रकाश, गोपनीयताको अभाव तथा विश्वासिला वयस्कबाट बिछोड हुँदा सबै बालबालिका, विशेष गरी बालिका र परिवारबाट छुट्टिएका बालबालिका, यौन दुर्व्यवहार, शोषण र हिंसाको उच्च जोखिममा पर्छन् ।
मानव बेचबिखनको बढ्दो जोखिम :विस्थापन, परिवारबाट बिछोड, गरिबी र समुदायमा रहेका संरक्षण संयन्त्र कमजोर हुँदा मानव बेचबिखन गर्नेहरूले त्यसको फाइदा उठाउन सक्छन् । संकटमा परेका परिवार वा अभिभावकविहीन तथा अत्यन्त जोखिममा रहेका बालबालिकालाई शिक्षा, रोजगारी वा राम्रो भविष्यको झूटो आश्वासन दिएर शोषण गर्न सकिन्छ ।
बालश्रम तथा शोषण :घर र जीविकोपार्जनका साधन गुमाउँदा उत्पन्न गम्भीर आर्थिक दबाबले परिवारलाई बालबालिकाको पढाइ छुटाएर काममा लगाउन बाध्य बनाउन सक्छ । बालबालिका जोखिमपूर्ण काममा समेत धकेलिन सक्छन्, जसले उनीहरूलाई शोषण र दुर्व्यवहारको जोखिममा पार्नुका साथै पुनः विद्यालय फर्कन कठिन बनाउँछ ।
४. शिक्षा तथा दीर्घकालीन प्रभाव
शिक्षामा अवरोध :विद्यालय क्षतिग्रस्त वा नष्ट हुन सक्छन् अथवा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग हुन सक्छन् । सडक अवरुद्ध हुन सक्छन् र शैक्षिक सामग्री नष्ट हुन सक्छन् । सुरुमा अस्थायी देखिएको अवरोध केही बालबालिकाका लागि लामो समयसम्म विद्यालय बाहिर रहने वा स्थायी रूपमा पढाइ छाड्ने कारण बन्न सक्छ ।
विपद्ले जन्मदर्ता प्रमाणपत्र, विद्यालयका अभिलेख र अपांगता परिचयपत्रजस्ता महत्त्वपूर्ण कागजात नष्ट गर्न सक्छ । यस्ता कागजात नहुँदा बालबालिकालाई विद्यालयमा भर्ना हुनेलगायत समस्या हुन सक्छ ।
दीर्घकालीन गरिबी :विपद्का कारण परिवारले जग्गा, पशुधन, व्यवसाय र आम्दानीका स्रोत गुमाउन सक्छन् । बालबालिकाका लागि यस्तो दीर्घकालीन आर्थिक संकटले अपर्याप्त पोषण, शिक्षामा अवरोध, असुरक्षित बसाइँसराइ तथा शोषणको बढ्दो जोखिम निम्त्याउन सक्छ ।
आपत्कालीन अवस्थामा पनि सुरुदेखि नै बाल संरक्षण
बालबालिकाका लागि तत्कालको खतरा टरेसँगै आपत्कालीन अवस्था समाप्त हुँदैन । यसको प्रभावले उनीहरूको जीवनलाई महिनौं, वर्षौं वा जीवनभर प्रभावित गर्न सक्छ ।आधारभूत आवश्यकता पूरा भएपछि मात्र बाल संरक्षण सुरु गर्ने सोच उचित हुँदैन । यसलाई सुरुदेखि नै विपद् पूर्वतयारी, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका सबै चरणमा समाहित गर्नुपर्छ । आश्रय, खाना, सुरक्षित खानेपानी र स्वास्थ्य सेवासँगै परिवारबाट छुट्टिएका बालबालिकाको छिटो र सुरक्षित रूपमा परिवार खोजी तथा पुनर्मिलन गराउनु आवश्यक छ ।
आपत्कालीन अवस्थाले सबैलाई समान रूपमा असर गर्दैन । उमेर, विकासको अवस्था, वयस्कमाथिको निर्भरता तथा खतरा पहिचान गर्न, आफूलाई जोगाउन वा अत्यावश्यक सेवामा पहुँच पुर्याउन सक्ने सीमित क्षमताका कारण बालबालिका विशेष जोखिममा हुन्छन् । बाढीले केही मिनेटमै बालबालिकाको जीवन जोखिममा पार्न सक्छ तर घर नष्ट हुँदा त्यसले विस्थापन, परिवारबाट बिछोड, शिक्षामा अवरोध, मनोसामाजिक तनाव, पारिवारिक आम्दानीमा ह्रास, शोषण र दीर्घकालीन गरिबीजस्ता एकपछि अर्को जोखिम सिर्जना गर्न सक्छ ।
नेपालको तत्काल प्राथमिकता जीवन बचाउनु र अत्यावश्यक सहायता उपलब्ध गराउनु हो । तर बालबालिकाका लागि स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको निरन्तरता तथा सुरक्षित रूपमा सिक्ने र खेल्ने अवसर पनि आवश्यक हुन्छ । यसले उनीहरूको दिनचर्या, स्थिरता र सुरक्षाको अनुभूति पुनःस्थापित गर्न मद्दत गर्छ । पुनःस्थापनाका क्रममा सरकारी निकाय तथा मानवीय सहायता संस्थाहरू मानव बेचबिखन, बालश्रम, बालविवाह र अन्य प्रकारका शोषणप्रति विशेष सतर्क रहनुपर्छ ।
बालबालिकालाई केवल सहायता प्राप्त गर्ने निष्क्रिय पात्रका रूपमा हेरिनु हुँदैन । उनीहरूले आफ्ना सरोकार र आवश्यकता सुरक्षित तथा उमेरअनुकूल तरिकाले व्यक्त गर्न र आफ्नो पुनःस्थापनासँग सम्बन्धित निर्णयमा सहभागी हुन पाउने अवसर प्राप्त गर्नुपर्छ ।
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले तत्काल राहतभन्दा पर गएर बलियो पूर्वतयारी, विपद् सहनशील पूर्वाधार र बालबालिकाका विशेष जोखिमलाई स्पष्ट रूपमा सम्बोधन गर्ने पूर्वसूचना प्रणालीमा लगानी गर्नु अत्यावश्यक छ । त्यसैले बाल संरक्षणलाई विपद् पूर्वतयारी, प्रतिकार्य र पुनःस्थापनाको अभिन्न अंग बनाइनुपर्छ ।
बालबालिकाका लागि तत्कालको खतरा टरेसँगै आपत्कालीन अवस्था समाप्त हुँदैन । यसको प्रभावले उनीहरूको जीवनलाई महिनौं, वर्षौं वा जीवनभर प्रभावित गर्न सक्छ । बालबालिकाको जीवन बचाउनु पहिलो जिम्मेवारी हो, पुनःस्थापनाको सम्पूर्ण प्रक्रियामा उनीहरूको सुरक्षा, कल्याण, मर्यादा र भविष्य सुनिश्चित गर्नु त्यसपछि निरन्तर पूरा गर्नुपर्ने उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी हो ।
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
कान्तिपुर पब्लिकेशन्स् लि.सेन्ट्रल बिजनेस पार्क, थापाथलीकाठमाडौं, नेपाल
(0)Comments