बलियो भरोसा दिन सक्ने र आत्मबल बढाउन सक्ने व्यक्तिको साथले गर्भावस्था अवस्था तुलनात्मक रूपमा सहजै व्यतीत हुन सक्छ । तर १० भदौको बाढीले कैयौं गर्भवती महिलालाई श्रीमान् र परिवारबाट अलग्याइदिएको छ । एक्लै पारिदिएको छ । परिवार वरपर भए पनि कतिपयले आफ्नो थातथलो गुमाउनुपरेको छ ।
जस्तोसुकै अवस्थामा पनि जन्म र मृत्युको प्रक्रिया चलिरहन्छ । भोटेकोशीको बाढीले निम्त्याएको विपद्मा परी १३ सयभन्दा बढीको निधन भएको पुष्टि भइसकेको छ, झन्डै पाँच हजार अझै सम्पर्कविहीन छन् । यो भयावह अवस्थाका बीच पनि कैयौं गर्भवती निकट समयमै सन्तान जन्माउने प्रक्रियामा छन्, कतिपयले जन्माइसकेका छन् ।
विपद्अघि सुत्केरी भएका र विपद्बाट जोगिएकाहरू अहिले आफू र सन्तानको सुरक्षाका निम्ति संघर्ष गरिरहेका छन् । निकटका व्यक्तिलाई गुमाएका बाढीपीडित गर्भवती तथा सुत्केरी महिलाले भने अतिरिक्त कठिनाइ खेप्नुपरेको छ । जीवनकै विशिष्ट अवस्थामा रहेका तर विपद्ले झनै जटिलता थपिदिएका महिलालाई स्वस्थ र सुरक्षित वातावरण तयार गरिदिनु राज्य, सरोकारवाला संघसंस्था तथा स्थानीय नागरिकको दायित्व हो ।
गर्भवती अवस्था श्रीमान्लगायत निकटका व्यक्ति र उनीहरूको अतिरिक्त रेखदेखमा बिताउनुपर्ने समय हो । यस्तो अवस्थामा जुनसुकै बेलामा शारीरिक समस्या उत्पन्न हुन सक्छ । त्यसबारे खुलेर कुरा गर्न सकिने र तत्कालै चिकित्सकको पहुँचमा पुर्याउन सक्ने व्यक्तिहरूको निकटता चाहिन्छ । अर्कोतर्फ, यो अवस्था शारीरिक विषय मात्रै होइन । महिलाले प्रशस्तै भावनात्मक चरणहरूबाट व्यतीत हुनुपर्छ । उनीहरूको भावनात्मक पक्षलाई बुझिदिने मानिस पनि साथमै चाहिन्छ । बलियो भरोसा दिन सक्ने र आत्मबल बढाउन सक्ने व्यक्तिको साथले गर्भावस्था अवस्था तुलनात्मक रूपमा सहजै व्यतीत हुन सक्छ । तर १० भदौको बाढीले कैयौं गर्भवती महिलालाई श्रीमान् र परिवारबाट अलग्याइदिएको छ । एक्लै पारिदिएको छ । परिवार वरपर भए पनि कतिपयले आफ्नो थातथलो गुमाउनुपरेको छ ।
बच्चा जन्माउने क्रममा वा जन्मिएपछि पनि शारीरिक–मानसिक समस्या देखिन सक्छ । कतिपय सुत्केरी महिलामा 'बेबी ब्लुज' देखि 'पोस्टपार्टम डिप्रेसन' सम्म देखिन सक्छ । विपद् भोगेका गर्भवती र सुत्केरीको मानसिक स्वास्थ्य झनै कमजोर हुन सक्छ ।सुत्केरी महिलाको चुनौती धेरै हुन्छन् । स्वयं र बच्चाको स्वास्थ्य र सुरक्षा गर्नुपर्ने हुन्छ । आमालाई पर्याप्त निद्रा, आराम र पोषणयुक्त खाना चाहिन्छ । आसपासमा निकटका व्यक्ति चाहिन्छ । सहज महसुस गर्न सक्ने वातावरण चाहिन्छ । नुहाउने, लुगा धुने तथा स्तनपान गराउने कामसम्ममा गोपनीयता पनि चाहिन्छ । आमाले हरेक क्षण शारीरिक र मानसिक सुरक्षाको अनुभूति गर्नुपर्छ । त्यसले मात्रै उनलाई मानसिक रूपमा सबल राख्न मद्दत गर्छ । मानसिक र शारीरिक सबलताको लाभ बच्चाले पाउन सक्छ । अर्कोतर्फ, बच्चाले पनि स्वस्थ वातावरण पाउनुपर्छ । आमाको दूध पर्याप्त खान पाउनुपर्छ । संक्रमण नहुने वातावरणको सुनिश्चित हुनुपर्छ । आवश्यकताअनुसार तोकिएका खोप प्राप्त गर्नुपर्छ । अनि मात्रै हुर्काइ र वृद्धि विकास समयानुकूल हुन्छ ।
बाढीबाट जोगिए पनि धेरै महिला त्रासमा छन् । निकटका व्यक्ति गुमाउनेहरू मानसिक रूपमा पनि कमजोर बनेका हुन सक्छन् । उसै पनि गर्भवती र सुत्केरी अवस्था मानसिक रूपमा पनि संवेदनशील हुने गर्छ । सामान्य वातावरणमा रहेका गर्भवती महिलामा पनि चिन्ता, तनाव र 'के होला' भन्ने डर हुन्छ । शारीरिक जटिलताले थप चिन्ता ल्याउन सक्छ । अर्कोतर्फ, बच्चा जन्माउने क्रममा वा जन्मिएपछि पनि शारीरिक–मानसिक समस्या देखिन सक्छ । कतिपय सुत्केरी महिलामा 'बेबी ब्लुज' देखि 'पोस्टपार्टम डिप्रेसन' सम्म देखिन सक्छ । विपद् भोगेका गर्भवती र सुत्केरीको मानसिक स्वास्थ्य झनै कमजोर हुन सक्छ । त्यसैले पनि अहिले आश्रयस्थलमा बसेकाहरूको शारीरिक स्वास्थ्यका अतिरिक्त मानसिक स्वास्थ्यलाई ख्याल गरिनुपर्छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित १५ स्थानीय तहमा करिब ४ हजार ४ सय ३० गर्भवती महिला रहेको अनुमान गरेको छ । आगामी एक महिनामा करिब ४ सय ९२ शिशु जन्मिन सक्ने र करिब ७४ महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीएको आकलन छ । उनीहरू सबै स्वस्थ र सुरक्षित वातावरणका हकदार हुन् । तर, भोटेकोशी बाढीको विपद्पछि स्वास्थ्य प्राथमिकतामा पर्न सकेको छैन– स्वयंका निम्ति र सरोकारवाला निकायका निम्ति पनि । काबुबाहिरको बाध्यताले गर्दा यस्तो भएको बुझ्न सकिन्छ । तर यस्तै अवस्था लम्बिनु भनेको बाध्यताभन्दा सरोकारवालाको बेवास्ता हो । अब भने गर्भवती र सुत्केरीलाई यथोचित वातावरण उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिनुपर्छ ।
बाढीपछि आश्रयस्थलमा बस्न बाध्य भएका गर्भवती वा सुत्केरीले अस्वस्थ वातावरणमा बस्नुपरेको छ । विपद्बाट जोगिएर जसोतसो आश्रयस्थलसम्म पुगेका उनीहरूले पोषणयुक्त खाना खान पाएका छैनन् । गर्भवती, सुत्केरी वा बच्चाहरूका निम्ति विशेष खाना छैन । स्वस्थ वातावरण पनि छैन । कतिपय आश्रयस्थलमा रहेका सुत्केरीले दर्जनौं अपरिचित मानिससँग एउटै छानामुनि बस्नुपरेको छ । ती त्यस्ता अपरिचित मानिस हुन्, जसमा स्वयं पीडित, दुःखित, निराश र अन्योलग्रस्त हुने सम्भावना उच्च छ । उनीहरूका कतिपय गतिविधि तथा व्यवहारले गर्भवती, सुत्केरी र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । यसले बाढीपछि पनि उनीहरू जोखिममै रहेको प्रस्ट पार्छ ।
गर्भवती, सुत्केरी वा उनीहरूका बालबालिकाको आवश्यकता अन्यभन्दा फरक हुन्छन् । विशेष र विशिष्ट हुन्छन् । त्यसैले उनीहरूलाई अन्य विस्थापित व्यक्तिभन्दा विशेष व्यवहार र साथ चाहिन्छ । स्वस्थ र सुरक्षित वातावरण पाउनु उनीहरूको अधिकार हो । खासगरी उद्धारपछि आश्रयस्थलमा राखिएपछि यो पक्षलाई ध्यान दिनैपर्छ । उनीहरूलाई गोपनीयता कायम हुने गरी अलग्गै राखिनुपर्छ । त्यहाँ हिंसा नहुने सुनिश्चित गरिनुपर्छ । कतिपय औषधि गर्भावस्था र सुत्केरीपछि पनि निरन्तर खाइरहनुपर्छ । विपद्ले त्यसलाई विच्छेद गरेको हुन सक्छ । आकस्मिक स्वास्थ्य उपचार चाहिन सक्छ । त्यसैले स्वास्थ्योपचारमा सहज पहुँच स्थापित गरिनुपर्छ । उनीहरूलाई आवश्यक पर्ने सेनेटरी प्याड लगायतका आवश्यक सामग्रीलाई पनि आधारभूत आवश्यकताका रूपमा वितरण गरिनुपर्छ । विपद्पछिको अवस्था भएकाले मनोवैज्ञानिक परामर्श सेवाउपलब्ध गराउनुपर्छ ।
सम्पादकीयकान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
(0)Comments