सम

सम्पादकीय

उद्धारमा खटिएकाहरूको मनोबल बढाऊ

Image
यस पटक भने बाढी आउँदै गर्दा र त्यसपछि पनि लामै समयसम्म उद्धार कार्य जारी रहेका कारण सुरक्षाकर्मीको मिहिनेत, साहस र दृढता अझै बढी अनुभूत भएको छ । यसकारण फिल्डमा खटिने सुरक्षाकर्मीहरू अतिरिक्त धन्यवादका पात्र हुन् । १० भदौमा भोटेकोशीमा आएको बाढीले नदी आसपासका बस्ती र संरचनालाई तहसनहस बनाउँदै थियो । जताततै विनाशै–विनाश मात्र व्याप्त थियो । त्यसैबीच पनि कतिपय मानिस जीवनको निरन्तरताका लागि संघर्ष गर्दै थिए । कोही भाग्दै थिए, कोही घरको छतबाट हात हल्लाउँदै थिए । उद्धारको याचना चलिरहँदा सुरक्षाकर्मी नै पहिले विपद् प्रभावित क्षेत्र पुगेका थिए । सार्वजनिक भएका भिडियोहरूमा जीवन र मृत्युको दोसाँधमा रहेका कैयौं मानिसको उद्धार गरिएको देखिन्छ । जमिनमा काँध थापेर होस् वा हेलिकोप्टरबाट हात दिएर होस्– धेरैको जीवन सुरक्षित गरिएको थियो । यसरी उद्धारका लागि खटिनेमा सुरक्षाकर्मी नै अग्रस्थानमा थिए । उद्धारका यस्तो दृश्य हरेकजसो विपद्का समयमा देखिन्छ । यस पटक भने बाढी आउँदै गर्दा र त्यसपछि पनि लामै समयसम्म उद्धार कार्य जारी रहेका कारण सुरक्षाकर्मीको मिहिनेत, साहस र दृढता अझै बढी अनुभूत भएको छ । यसकारण फिल्डमा खटिने सुरक्षाकर्मीहरू अतिरिक्त धन्यवादका पात्र हुन् । प्रविधि र आवश्यक सामग्रीको अभावमा देखाइने साहस स्वयंका निम्ति जोखिमपूर्ण हुन सक्छ । यसमा सुरक्षा निकाय, खासगरी उद्धारमा खटिने सुरक्षाकर्मीलाई आधारभूत सामग्री र विश्वमा प्रचलित आधुनिक प्रविधि उपलब्ध गराउने काममा भने खासै ध्यान पुग्न सकेको छैन ।बाढीबाट सुरक्षाकर्मीले पनि मृत्यु, सम्पर्कविहीन, विस्थापन खेपेका छन् । तर उनीहरूबाट खोजी र उद्धारको प्राथमिकतामा आम नागरिक परेका छन् । विपद्का बेलामा बढीभन्दा बढी मानिसको जीवितै उद्धार गर्न सक्नु ठूलो सफलता हो, त्यसका लागि राज्यले तय गर्ने नीतिको पनि भूमिका रहन्छ । भोटेकोशी बाढीपछि सुरुवातमा सरकारमा अन्योल रहेको भनेर आलोचना भयो । यद्यपि, सुरक्षाकर्मीहरू भने कठिन भूगोलमा, सीमित स्रोतसाधनका बाबजुद, चाउचाउ र बिस्कुटको भरमा, दिनमा १८ घण्टासम्म खटिए । त्यसैले पनि बाढी आएको दसौं–एघारौं दिनसम्म पनि खुसीका खबर सार्वजनिक भइरहेका छन् । शुक्रबार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जना नेपाली, शनिबार अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिक र नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको उद्धार गरियो । यस्तो खबरले देशभर खुसी र आशाको सञ्चार गरेको छ । यस्ता खबरमा सुरक्षाकर्मीका अतिरिक्त उद्धारमा खटिएका पाइलटदेखि स्वयंको क्षति पन्छाएर उद्धारमा खटिएका हरेक स्थानीयको मिहिनेत मिसिन्छ । भूकम्प, बाढी, पहिरो वा अन्य किसिमका प्राकृतिक र मानवीय विपत्तिको जोखिममा नेपाल छ । हरेक वर्ष ठूला विपद् निम्तिने गरेको छ । त्यसो त विपद् जहाँ जुनसुकै बेला आउन सक्छ । हामीकहाँ भौगोलिक संवेदनशीलता र विपद् आकलन गरेर बस्ती बसाउने र संरचना निर्माण गर्ने पद्धति छैन । जसकारण हरेकजसो विपद्मा ठूलो मानवीय र भौतिक क्षति हुने गरेको छ । यतिबेला सबैभन्दा पहिले सुरक्षा निकायलाई नै सम्झिने गरिन्छ । विपद्मा परेका नागरिकलाई उद्धार गर्नु उनीहरूको दायित्व पनि हो । तर उनीहरू दायित्व पूरा गर्ने मात्रै होइन, दृढतापूर्वक खटिएका छन् । भोटेकोशीको बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारले त उनीहरूको अथक मिहिनेतलाई पुष्टि गरेको छ । साथै, जटिल उद्धारका कामसमेत नेपालीले गर्न सक्छन् भन्ने मानक स्थापित भएको छ । यद्यपि, थप अनुभव र प्रविधियुक्त जनशक्तिको सहयोग लिन सकिएको भए तुलनात्मक रूपमा चाँडो र बढी मानिसलाई सकुशल उद्धार गर्न सकिन्थ्यो भन्ने सम्भावनालाई नकार्न सकिँदैन । विपद्का बेलामा सुरक्षाकर्मीले प्रस्तुत गरेको दृढताको कुनै तुलना छैन । तर, उद्धारको काममा आधुनिक प्रविधिको पनि उच्च महत्त्व छ । प्रविधि र आवश्यक सामग्रीको अभावमा देखाइने साहस स्वयंका निम्ति जोखिमपूर्ण हुन सक्छ । यसमा सुरक्षा निकाय, खासगरी उद्धारमा खटिने सुरक्षाकर्मीलाई आधारभूत सामग्री र विश्वमा प्रचलित आधुनिक प्रविधि उपलब्ध गराउने काममा भने खासै ध्यान पुग्न सकेको छैन । भोटेकोशी बाढीपछि उद्धारपूर्व अनुगमन गर्ने थर्मल क्यामेरा, आवाजका आधारमा जीवित व्यक्ति पत्ता लगाउने उपकरण, डोरी, बडी ब्यागदेखि अत्याधुनिक हेलिकोप्टरसम्मको अभाव महसुस भयो । यद्यपि, सुरक्षाकर्मीहरूले जोखिम मोलेरै भए पनि खोज र उद्धारमा खटिए । विगतमा पनि कठिन उद्धारका बेलामा आवश्यक सामग्री र प्रविधिको अभावका विषयमा चर्चा हुने र लगत्तै सेलाउने गरेको थियो । यस पटक पनि अभाव महसुस भएको छ, तर यो विषय यत्तिकै सेलाउनु हुँदैन । विपद्को जोखिमपूर्ण क्षेत्र भएकाले पनि सुरक्षा निकायलाई साधनस्रोत र प्रविधियुक्त बनाउनेतर्फ राज्य संवेदनशील बन्नुपर्छ । भोटेकोशीको बाढीपछिका दिनहरूमा सुरक्षा निकायले मिहिनेतपूर्वक काम गरेका छन् । त्यसले प्रशस्तै सकारात्मक नतिजा दिएको छ । बाढी ठूलो र विनाशकारी भएकाले क्षति पनि ठूलै भएकोमा दुई मत छैन । तर, त्यसैबीच पनि उद्धारमा खटिएकाहरूले धेरैको ज्यान जोगाउन सफल भए । शनिबार दिउँसोसम्म १३ हजारभन्दा बढीको उद्धार भएको छ । यसमा मुख्यतः फिल्डमा खटिएका सुरक्षाकर्मी, पाइलट तथा स्थानीय उद्धारकर्मी नागरिकको ठूलो भूमिका छ । सुरक्षाकर्मीले भोलि अन्य क्षेत्रमा पनि उद्धारका लागि खटिनुपर्छ, जोखिमपूर्ण अवस्थामा रहेकाहरूको ज्यान जोगाउन प्रयत्न गर्नुपर्छ । सीमित स्रोतसाधनमै पनि उनीहरूले प्रशस्तै सफलता प्राप्त गरेका छन् भने विश्वभर अभ्यासमा आएका उच्चस्तरीय प्रविधि उपलब्ध गराउन सक्यौं र आधुनिक तालिम दिलाउन सक्यौं भने पक्कै पनि आगामी दिनमा धेरैभन्दा धेरेको ज्यान जोगिन सक्छ । हामी जोखिमपूर्ण भूगोलमा बसोबास गर्छौं भने त्यसको क्षति कम गर्न लगानी गर्नु नै बुद्धिमानी हुनेछ । सम्पादकीयकान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
उद्धारमा खटिएकाहरूको मनोबल बढाऊ
View on original source
Share
Archive
Like

(0)Comments

 

Related Opinion

A note on cookies

Newshunt uses essential cookies to keep you signed in and to remember your language and country, so the site works the way you expect. With your permission, we'd also like to use analytics cookies to understand how people use Newshunt and improve it over time.

Accepting only affects analytics. To learn more, view our Privacy Policy or Terms & Conditions.