यस पटक भने बाढी आउँदै गर्दा र त्यसपछि पनि लामै समयसम्म उद्धार कार्य जारी रहेका कारण सुरक्षाकर्मीको मिहिनेत, साहस र दृढता अझै बढी अनुभूत भएको छ । यसकारण फिल्डमा खटिने सुरक्षाकर्मीहरू अतिरिक्त धन्यवादका पात्र हुन् ।
१० भदौमा भोटेकोशीमा आएको बाढीले नदी आसपासका बस्ती र संरचनालाई तहसनहस बनाउँदै थियो । जताततै विनाशै–विनाश मात्र व्याप्त थियो । त्यसैबीच पनि कतिपय मानिस जीवनको निरन्तरताका लागि संघर्ष गर्दै थिए । कोही भाग्दै थिए, कोही घरको छतबाट हात हल्लाउँदै थिए । उद्धारको याचना चलिरहँदा सुरक्षाकर्मी नै पहिले विपद् प्रभावित क्षेत्र पुगेका थिए । सार्वजनिक भएका भिडियोहरूमा जीवन र मृत्युको दोसाँधमा रहेका कैयौं मानिसको उद्धार गरिएको देखिन्छ । जमिनमा काँध थापेर होस् वा हेलिकोप्टरबाट हात दिएर होस्– धेरैको जीवन सुरक्षित गरिएको थियो । यसरी उद्धारका लागि खटिनेमा सुरक्षाकर्मी नै अग्रस्थानमा थिए । उद्धारका यस्तो दृश्य हरेकजसो विपद्का समयमा देखिन्छ । यस पटक भने बाढी आउँदै गर्दा र त्यसपछि पनि लामै समयसम्म उद्धार कार्य जारी रहेका कारण सुरक्षाकर्मीको मिहिनेत, साहस र दृढता अझै बढी अनुभूत भएको छ । यसकारण फिल्डमा खटिने सुरक्षाकर्मीहरू अतिरिक्त धन्यवादका पात्र हुन् ।
प्रविधि र आवश्यक सामग्रीको अभावमा देखाइने साहस स्वयंका निम्ति जोखिमपूर्ण हुन सक्छ । यसमा सुरक्षा निकाय, खासगरी उद्धारमा खटिने सुरक्षाकर्मीलाई आधारभूत सामग्री र विश्वमा प्रचलित आधुनिक प्रविधि उपलब्ध गराउने काममा भने खासै ध्यान पुग्न सकेको छैन ।बाढीबाट सुरक्षाकर्मीले पनि मृत्यु, सम्पर्कविहीन, विस्थापन खेपेका छन् । तर उनीहरूबाट खोजी र उद्धारको प्राथमिकतामा आम नागरिक परेका छन् । विपद्का बेलामा बढीभन्दा बढी मानिसको जीवितै उद्धार गर्न सक्नु ठूलो सफलता हो, त्यसका लागि राज्यले तय गर्ने नीतिको पनि भूमिका रहन्छ । भोटेकोशी बाढीपछि सुरुवातमा सरकारमा अन्योल रहेको भनेर आलोचना भयो । यद्यपि, सुरक्षाकर्मीहरू भने कठिन भूगोलमा, सीमित स्रोतसाधनका बाबजुद, चाउचाउ र बिस्कुटको भरमा, दिनमा १८ घण्टासम्म खटिए । त्यसैले पनि बाढी आएको दसौं–एघारौं दिनसम्म पनि खुसीका खबर सार्वजनिक भइरहेका छन् । शुक्रबार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जना नेपाली, शनिबार अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिक र नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको उद्धार गरियो । यस्तो खबरले देशभर खुसी र आशाको सञ्चार गरेको छ । यस्ता खबरमा सुरक्षाकर्मीका अतिरिक्त उद्धारमा खटिएका पाइलटदेखि स्वयंको क्षति पन्छाएर उद्धारमा खटिएका हरेक स्थानीयको मिहिनेत मिसिन्छ ।
भूकम्प, बाढी, पहिरो वा अन्य किसिमका प्राकृतिक र मानवीय विपत्तिको जोखिममा नेपाल छ । हरेक वर्ष ठूला विपद् निम्तिने गरेको छ । त्यसो त विपद् जहाँ जुनसुकै बेला आउन सक्छ । हामीकहाँ भौगोलिक संवेदनशीलता र विपद् आकलन गरेर बस्ती बसाउने र संरचना निर्माण गर्ने पद्धति छैन । जसकारण हरेकजसो विपद्मा ठूलो मानवीय र भौतिक क्षति हुने गरेको छ । यतिबेला सबैभन्दा पहिले सुरक्षा निकायलाई नै सम्झिने गरिन्छ । विपद्मा परेका नागरिकलाई उद्धार गर्नु उनीहरूको दायित्व पनि हो । तर उनीहरू दायित्व पूरा गर्ने मात्रै होइन, दृढतापूर्वक खटिएका छन् । भोटेकोशीको बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारले त उनीहरूको अथक मिहिनेतलाई पुष्टि गरेको छ । साथै, जटिल उद्धारका कामसमेत नेपालीले गर्न सक्छन् भन्ने मानक स्थापित भएको छ । यद्यपि, थप अनुभव र प्रविधियुक्त जनशक्तिको सहयोग लिन सकिएको भए तुलनात्मक रूपमा चाँडो र बढी मानिसलाई सकुशल उद्धार गर्न सकिन्थ्यो भन्ने सम्भावनालाई नकार्न सकिँदैन ।
विपद्का बेलामा सुरक्षाकर्मीले प्रस्तुत गरेको दृढताको कुनै तुलना छैन । तर, उद्धारको काममा आधुनिक प्रविधिको पनि उच्च महत्त्व छ । प्रविधि र आवश्यक सामग्रीको अभावमा देखाइने साहस स्वयंका निम्ति जोखिमपूर्ण हुन सक्छ । यसमा सुरक्षा निकाय, खासगरी उद्धारमा खटिने सुरक्षाकर्मीलाई आधारभूत सामग्री र विश्वमा प्रचलित आधुनिक प्रविधि उपलब्ध गराउने काममा भने खासै ध्यान पुग्न सकेको छैन । भोटेकोशी बाढीपछि उद्धारपूर्व अनुगमन गर्ने थर्मल क्यामेरा, आवाजका आधारमा जीवित व्यक्ति पत्ता लगाउने उपकरण, डोरी, बडी ब्यागदेखि अत्याधुनिक हेलिकोप्टरसम्मको अभाव महसुस भयो । यद्यपि, सुरक्षाकर्मीहरूले जोखिम मोलेरै भए पनि खोज र उद्धारमा खटिए । विगतमा पनि कठिन उद्धारका बेलामा आवश्यक सामग्री र प्रविधिको अभावका विषयमा चर्चा हुने र लगत्तै सेलाउने गरेको थियो । यस पटक पनि अभाव महसुस भएको छ, तर यो विषय यत्तिकै सेलाउनु हुँदैन । विपद्को जोखिमपूर्ण क्षेत्र भएकाले पनि सुरक्षा निकायलाई साधनस्रोत र प्रविधियुक्त बनाउनेतर्फ राज्य संवेदनशील बन्नुपर्छ ।
भोटेकोशीको बाढीपछिका दिनहरूमा सुरक्षा निकायले मिहिनेतपूर्वक काम गरेका छन् । त्यसले प्रशस्तै सकारात्मक नतिजा दिएको छ । बाढी ठूलो र विनाशकारी भएकाले क्षति पनि ठूलै भएकोमा दुई मत छैन । तर, त्यसैबीच पनि उद्धारमा खटिएकाहरूले धेरैको ज्यान जोगाउन सफल भए । शनिबार दिउँसोसम्म १३ हजारभन्दा बढीको उद्धार भएको छ । यसमा मुख्यतः फिल्डमा खटिएका सुरक्षाकर्मी, पाइलट तथा स्थानीय उद्धारकर्मी नागरिकको ठूलो भूमिका छ । सुरक्षाकर्मीले भोलि अन्य क्षेत्रमा पनि उद्धारका लागि खटिनुपर्छ, जोखिमपूर्ण अवस्थामा रहेकाहरूको ज्यान जोगाउन प्रयत्न गर्नुपर्छ । सीमित स्रोतसाधनमै पनि उनीहरूले प्रशस्तै सफलता प्राप्त गरेका छन् भने विश्वभर अभ्यासमा आएका उच्चस्तरीय प्रविधि उपलब्ध गराउन सक्यौं र आधुनिक तालिम दिलाउन सक्यौं भने पक्कै पनि आगामी दिनमा धेरैभन्दा धेरेको ज्यान जोगिन सक्छ । हामी जोखिमपूर्ण भूगोलमा बसोबास गर्छौं भने त्यसको क्षति कम गर्न लगानी गर्नु नै बुद्धिमानी हुनेछ ।
सम्पादकीयकान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
(0)Comments